१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

ललितपुर–प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङ (अाइअाेइ) मा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

प्रहरीका अनुसार सोही कलेजबाट सिभिल ईन्जिनियरिङ पास गरेका शर्माले नयाँ भर्ना हुन आउने बिद्यार्थीलाई प्रवेश परिक्षा पास गराईदिने भन्दै जनही तीन लाख उठाएका थिए। परिसरका प्रवक्ता एसपी ईश्वर कार्कीले कलेजकै एकजना प्राध्यापकको नाम लिएर शर्माले नवप्रवेशीलाई लामो समयदेखि ठग्दै आएको बताए।

उनका अनुसार मंगलबार ठगिएका एकजना बिद्यार्थी र प्राध्यापकको सहयोगमा शर्मा पक्राउ परेका हुन। ‘सोही कलेजमा पढेका र पुल्चोकमै बसोबास गर्दै आएका शर्माले प्रवेश परिक्षा पास गराईदिने भन्दै ती प्राध्यापक समेतलाई बारम्बार फोन गरेपछि शंका लागेर पीडित प्रहरीसम्म आएका हुन्,’ एसपी कार्कीले भने। उनका अनुसार कलेजमा भर्नाका लागि आउने बिद्यार्थीलाई आफ्नो पहुँच प्राध्यापकसँग भएको देखाएर शर्मा लामो समयदेखि ठगीमा सक्रिय रहेको अनुसन्धानमा खुलेको छ।

शर्माविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित: ५ श्रावण २०७४ १०:५५ बिहीबार

पुल्चोक इन्जिनियरिङको इन्ट्रान्स पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी असुल्ने पक्राउ