१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरको हनुमन्ते आसपासबासीको चिन्ता : भोलिको सूर्योदय हेर्न पाउने हो कि होइन ?

तस्बिरहरू छन्।

प्रत्येक वर्ष बाढी पहिरोकै कारणले ज्यान गुमाउन बाध्य हुँदै आएका भक्तपुरबासीमा सोमबार राति देखिको निरन्तरको अविरल वर्षापछि त्रास छाएको छ।विशेष गरी हनुमन्ते खोला आसपासबासीमा भोलिको सूर्योदय हेर्न पाउने हो कि होइन भन्ने चिन्ता छाएको हो।हनुमन्ते खोला आसापासको हनुमानचा, लिवाली, हनुमानघाट, भेलुखेल, राममन्दिर, सल्लाघारी, सृजनानगर, राधेराधे लगायतका हनुमन्ते आसपासबासी विशेष गरेर सतर्क रहेका हुन्।प्रत्येक वर्षको वर्षामा हनुमन्ते आसपासका सयौँ घर डुबानमा पर्ने मात्रै नभई ज्यानसमेत गुमाउनु परेको देखेका  उनीहरु यही नियति भोग्नु पर्ला भनी त्रासमा बस्न बाध्य भएका हुन्। 

प्रत्येक वर्ष हनुमन्ते खोलामा आउने बाढीले अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि क्षेत्र डुबानमा पर्ने गर्दै आएको छ।हनुमन्ते खोलामा आएको बाढीको खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धान खेती आदि डुबानमा पर्दै आएका छन्।विगत वर्षहरूमा जस्तो डुबानमा पर्न नथाले पनि निरन्तरको वर्षाले यस्तै हुने निश्चित भएकोले स्थानीयहरू त्रासमा रहेका हुन्।अविरल वर्षाले गतवर्षहरुमा जस्तै हनुमन्ते खोला आसपासका ठाउँंठाउँंका क्षेत्रहरू यस वर्ष पनि मंगलबार डुबानमा परेको थियो।खोलामा आएको बाढीले बाराहीस्थान डुबानमा परी आवतजावत नै बन्द भएको थियो।

हनुमन्ते खोला नजिकैको हनुमानघाटस्थित श्री बाल सेवक निम्न माध्यमिक विद्यालय, बाहारीस्थानस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुबानमा परेका थिए।डुबानले भीमसेनस्थानस्थित हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति महिला तथा बालबालिका अस्पताल र सल्लाघारीस्थित डा इमामुरा मेमोरियल अस्पताल पनि डुबानमा परेको थियो।डुबानबाट अस्पतालको अत्यावश्यक सेवा दिने विभागहरू प्रभावित भइरहेकोले सेवा दिन नसक्ने अवस्था सृजना भएको सिद्धि स्मृति महिला तथा बालबालिका अस्पतालले एउटा सार्वजनिक सूचना जारी गरेको छ।बाढीकै कारण मंगलबार भक्तपुरको थुसाचाको हनुमन्ते खोला र चाँगुनारायणमा छुटाछुटै रुपमा दुई जना बालकहरूलाई बगाएको र पौडेर ती दुवै बालकहरूलाई जोगाउन सफल भएको थियो।   

चार जनाको उद्धार 

भक्तपुरको राममन्दिर मन्दिरमा बाढीमा फसेका चार जनालाई प्रहरीले मंगलबार उद्धार गरेको छ।सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण बाढीमा फसेका उनीहरूलाई उद्धार गरिएको हो।भक्तपुर नगरपालिका वडा नं.४ स्थित हनुमन्ते खोलाको छेउमा रहेको राम मन्दिरमा पानी पसी डुबानमा परी फसेका उनीहरूलाई उद्धार गरिएको हो।उद्धार गरिएका उनीहरु ११ वर्षदेखि ८२ वर्षसम्मका छन्।मन्दिरमा बस्ने उनीहरूलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।भक्तपुर नगरपालिका वडा नं. ४ रामन्दिर बस्ने वर्ष ८२ को भोजराज खरेल (महाराज हरिदाष), वर्ष ५५ दुर्गा गरुङ, वर्ष ११ मेघना गुरुङ र वर्ष ६० की सीता राईलाई उद्धार गरिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए ।

घर भत्कियो

भक्तपुरको चाँगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार एउटा घर भत्केको छ।दोलखा भि.न.पा.वडा ५ माटी घर भई हाल.सोही स्थान बस्ने वर्ष ३५ को बिदुर के.सी.को आफ्नो जग्गामा ईटा सिमेन्टले बनाएको टिनले छाएको चार कोठे अस्थायी घर भत्केको हो।घरको पछाडिपट्टीको ढिस्को बगेर आई घरको वाल भत्की पूर्ण रुपमा घर पुरिएको प्रहरीले जनाएको छ।घटनाबाट मानवीय क्षति भने हुन नपाएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

नगर प्रमुखद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नपा वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही पुल, वडा नं. ४ स्थित राममन्दिरको शान्ति निकेतन मावि र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरूमा मंगलबार स्थलगत निरीक्षण गरेका छन्।विगत केही दिनदेखि परिरहेको वर्षा र सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरू डुबानमा परेका थिए।डुबानले खोला छेउको धान बालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरूसमेत डुबानमा परेका थिए ।

 

प्रकाशित: २३ श्रावण २०८० १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App