१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा पहिचान गर्दै मध्यपुर थिमि नगरपालिका

मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडेमा रहेको सार्वजनिक कमलपोखरी।

सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी व्यक्तिले कव्जा गर्ने क्रम बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान अभियान थालेको छ।

वडामा रहेका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी गैरकानुनी संरचना हटाउने अभियान नगरपालिकाले थालेको हो।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको बैठकबाट निर्णय गरी अभियान सुरु गरेको जनाए। वडा वडामा रहेका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी गैर कानुनी संरचना हटाउने छौं, उनले भने, ती ठाउँंहरुमा वृक्षारोपण गरी वृक्षारोपण  अभियान पनि चलाउने छौं।

नगरपालिकाको बुधबार बसेको १३ औ नगरसभाबाट यस्तो अभियान सञ्चालन गर्ने निर्णय नगरपालिकाले गरेको हो। 

मध्यपुर थिमि नगरपालिकामा १० वटा वडाहरु रहेका छन्। पूर्वमा भक्तपुर, पश्चिममा काठमाडौं, उतरमा भक्तपुरकै चाँंगुनारायण र दक्षिणमा पनि भक्तपुरकै सूर्यविनायक गरी चार नगरपालिकाकोबीचमा रहेको यो नगरपालिकामा धेरै पर्ती र सार्वजनिक जग्गा अतिक्रमणमा रहेको अनुमान छ। यही कारण अभियान थालेको नगरपालिकाले जनाएको छ।

यसअघि केही वर्ष अगाडि पनि जिल्लामै सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरुसहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका जग्गाहरुको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका चार स्थानमा करिव १ सय ६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएको थियो।

कौशलटार सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरिएको तथ्य सार्वजनिक भएको थियो। हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा पूर्व भूमिसुधार मन्त्री जगन्नाथ आचार्यको पालामा व्यक्तिको नाममा लगिएको बताइन्छ। मन्त्री भएको समयमा आचार्यले आफ्नो श्रीमती विमली उपाध्यायको नाममा ५४ रोपनी दर्ता गरिएको तथ्य सार्वजनिक भएको थियो।

उपाध्यायको नामबाट हाल विभिन्न व्यक्तिको नाममा जग्गा दर्ता गराई सकिएको जनाइएको छ। त्यस्तै २०२१ सालमा मनोहरा नदीको नाममा रहेको ५४ रोपनी जग्गा पनि अतिक्रमण गरी व्यक्तिको नाममा लगिएको पाइएको थियो। उक्त जग्गा श्यामजंग सिजापति, राजेन्द्रकुमार सिजापति, सुवर्णकुमार सिजापति, प्रेमजंग सिजापति, तेजनरसिं द्वारे, पुरुषेत्तमप्रसाद पौडेललगायतको नाममा दर्ता भएको पाइएको थियो।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाकै नीलवारहीमा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा २०४२ –४३ सालमा कान्छा सुवालको नाममा दर्ता भएको पाइएको थियो। सानोठिमी बन कार्यालय अगाडिको ९ रोपनी पर्ति जग्गा पनि शक्तिको आडमा ब्यक्तिको नाममा दर्ता कायम भएको तथ्य फेला परेको थियो। त्यस्तै मध्यपुर थिमिकै कमलपोखरीको १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भएको पाइएको थियो। सयौं रोपनी सार्वजनिक जग्गा हाल पनि दर्ता गर्न विभिन्न नक्कली कागज खडा गर्दै मालपोत र नापी तथा भूमिसुधारमा चलखेल गर्दै दर्ताका लागि अगाडि बढेकोसम्म खुल्न आएको थियो।

प्रकाशित: १८ श्रावण २०८० ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App