१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुलुकको अन्न भण्डारमा ५९% मात्र रोपाइँ

फाइल तस्बीर

मुलुकको अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष धान रोपाइँ निकै न्यून भएको छ। समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो। कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १२ गतेसम्म ५८ प्रतिशत मात्र रोपाइँ भएको छ। पोहोर साउन १२ गतेसम्म मधेश प्रदेशमा ८९ प्रतिशत रोपाइँ भएको थियो। अन्न भण्डारण मानिने तराईमा कम रोपाइँ भएपछि यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ। यो वर्ष मुलुकभर पोहोर भन्दा १३ प्रतिशत कम रोपाइँ भएको छ। गत शुक्रबारसम्म मुलुकभर ७७ प्रतिशत मात्र रोपाइँ भएको छ। पोहोर सोही अवधिमा ९० प्रतिशत रोपाइँ भएको सरकारी तथ्यांकले देखाउँछ।

मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कृषि सूचना केन्द्रका अनुसार यो वर्ष कोसी प्रदेशमा ८४ प्रतिशत, बागमतीमा ७२, गण्डकीमा ८२, लुम्बिनीमा ८१, कर्णालीमा ८५ र सुदुरपश्चिममा ९९ प्रतिशत रोपाइँ भएको छ। कर्णाली प्रदेशका गोरुमा लम्पी स्किन रोग लागेका कारण भनेजति रोपाइँ हुन नसकेको मन्त्रालयको दाबी छ। गत वर्ष मुलुकभर १० लाख ५३ हजार ४ सय ४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। तराईमा सिँचाइको अभाव हुन धान रोपाइँ कम भएको हो। कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ। यो वर्ष कमला सिँचाइमा पनि कम पानी आएको छ। महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत मधेस प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्था नहुँदा समस्या छ। आकासे पानी नपर्नु र सिँचाइको व्यवस्था पनि नहुनाले समस्या भएको छ। सुनकोसी नदीको पानीलाई सुरुङबाट कमला नदीको भिमान, रानीबास क्षेत्रको चदाहा दोभानमा खसाएर सिन्धुलीलगायत सिरहा, धनुषा, महोतरीलगायत मधेसका जिल्लामा सिँचाइ सुविधा पु¥याउन सरकारले सुनकोसी–कमला डाइभर्सन निर्माणको अवधारणा ल्याएको भए पनि पूर्णता पाएको छैन।

विस्तारै मनसुन सक्रिय भए पनि पोहोरको तुलनामा यो वर्ष रोपाइँ हुन लक्षण देखिएको छैन। यद्यपि मध्य तराईमा साउन मसान्तसम्म रोपाइँ हुने कृषिका अधिकारी बताउँछन्। खेतीयोग्य जमिनमा समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्छ। उत्पादन घटेपछि आयात वृद्धि हुन्छ। उन्नत जातको धानको बिउ, रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्ने मेसिनको अभावमा पनि उत्पादनमा कमी आउँछ।

मुलुकमा आवश्यकताअनुसार धान उत्पादन नहुँदा विदेशबाट आयात भइरहेको छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो मसिनो चामल प्रयोग गर्दै आएका छन्। त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भर भइसक्दासमेत उत्पादन बढाउने क्षेत्रमा सरकारले ठोस काम गर्न सकिरहेको छैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशी मुलुकमा प्रतिहेक्टरमा ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रतिहेक्टरमा ४ मेट्रिक टन पनि उत्पादन हुँदैन।  

प्रकाशित: १६ श्रावण २०८० ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App