१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान

पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार जहाजमा ७० जना यात्रु थिए। यतीको ९एन एएनजी कलसाइनको एटीआर–७२को उडान नम्बर ६७८ जहाज बिहान ११ बजेर ५० मिनेटमा उड्ने तयारी गरिरहेको थियो। यात्रु धमाधम जहाज चढिरहेका थिए। त्यही बेला जहाजमा मुसा पसेको देखिएपछि चढिसकेका सबै यात्रुलाई ओरालेर अहिले मुसा खोज्ने काम भइरहेको रेग्मीले बताईन।

‘जहाजको पांग्रातिर मुसा देखियो। भित्र पस्यो वा बाहिर गयो भन्ने यकिन भएन  त्यसैले जहाजभित्रै मुसा पसेको अनुमानमा जहाज रोकिएको छ,’ रेग्मीले भनिन, ‘अहिले यतीका प्राविधिक आएर धमाधम मुसा खोज्ने काम भएको छ।’ यतीको अर्को जहाज आएर यात्रुलाई काठमाडौं लैजाने तयारी भएको छ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले धावनमार्गबाट दौड्दै आएको मुसा जहाजको टायर वरिपरि देखिएपछि रोकिएको बताए। उनका अनुसार यात्रु जहाज चढिरहेको बेलामा मुसा देखिएको थियो । ‘मुसा टायर वरिपरि घुमेमा देखियो, तर, बाहिर गएको देखिएन, त्यही भएर भित्र पसेको अनुमान हो। अहिले खोजी भइरहेको छ,’ प्रवक्ता बर्ताैलाले भने, ‘धावनमार्गको नजिकैको घाँसे मैदानबाट दौड्दै आएको मुसा जहाजमा छिरेको अनुमान छ।’

यात्रुको झोलाबाट नभई धावनमार्गबाट आएको मुसा नै अत्तालिएर जहाजको टायरमा चढेको हुनसक्ने उनले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले मुसा, कहिले चरा, स्याल, कुकुरले हैरान पारेको छ।  उडान र अवतरण ज्यादै नै जोखिमपूर्ण बनाएको छ,’ उनले भने, ‘विमानस्थलको धावनमार्गबाट आएको मुसा जहाजमा छिरेको आशंका छ, तर, मारमा यती एयरलाइन्स परेको छ।’ 

क्याटरिङ सप्लाई नभएकोले विमानस्थलको धावनमार्गबाटै मुसा दौड्दै आएको हुनसक्ने उनले बताए। श्रोतका अनुसार जहाजमा यात्रु चढिरहेका बेला मुसा देखिएको थियो। घाँसे मैदानबाट करिब २० मिटर पर जहाज रोकिएको थियो। त्यही घाँसे मैदानबाट मुसा आएको हुनसक्ने श्रोतले बतायो। 

प्रकाशित: १५ श्रावण २०८० ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App