धनगढीको हसनपुर क्षेत्र कुनै बेला धान खेतीका लागि उर्वर मानिन्थ्यो। बर्खामा जाली गाउँ र जाइँ गाउँको पानी भिरालो जमिन हुँदै हसनपुर क्षेत्रमा बग्थ्यो। यो बर्खे झरीले खेल्ला खेत (होचो जमिन) मा सिँचाइ गराएर धान खेतीका लागि अब्बल मात्र बनाएन, खेतले पानी सोसेर प्राकृतिक सन्तुलन राख्नसमेत मद्दत गर्यो।
बितेका दुई दशकमा यहाँ भएको तीव्र सहरीकरणका कारण धानका बाला झुल्ने ठाउँमा पक्की घर ठडिएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाबाट यहाँ बसाइँ सर्नेका कारण भएको बस्ती विस्तारले खेतीयोग्य जमिन गुम्नुका साथै धनगढी बर्सेनि हुने डुबानको चपेटामा परेको छ। धान फल्ने खल्ला खेतमा घर बनाउनाले पानी खेतमा जम्नु वा जमिनमा सोसिनुको साटो घरभित्र पस्ने र डुबान हुने गरेको छ।
धनगढीको हसनपुर क्षेत्र कुनै बेला धान खेतीका लागि उर्वर मानिन्थ्यो। बर्खामा जाली गाउँ र जाइँ गाउँको पानी भिरालो जमिन हुँदै हसनपुर क्षेत्रमा बग्थ्यो।
‘पहिले खेत प्लटिङ गरेर बेचिनुअघि अग्ला जमिनमा घर बनाउँथे भने होचो जमिनमा धान खेती गरिन्थ्यो,’ सामाजिक अगुवा श्याम महरा भन्छन्, ‘अग्लो जमिनबाट बग्दै गएको पानी होचो जमिनमा जम्मा हुन्थ्यो, त्यहाँ गरिएको धान बालीलाई राम्रो हुन्थ्यो र खेतमा जम्ने पानी खेतमै सोस्ने र बाँकी पानी पुराना कुलो नहर हुँदै बग्थ्यो।’
धनगढीमा देखिएको यो परिवर्तनलाई यहाँका पुराना वासिन्दा सशस्त्र द्वन्द्वसँग जोड्छन्। २०६० सालपछि जसै सुदूरपश्चिमका पहाडी जिल्लाबाट सुविधा र अवसरको खोजीमा मानिस तराई झर्न थाले, धनगढीजस्ता उदाउँदा सहर उनीहरूको रोजाइमा परे। तर, न सरकारी निकाय, न जनप्रतिनिधि न त बसाइँ सर्नेले नै यस घटनाले पार्ने दीर्घकालीन असरका बारेमा हेक्का राखेका थिए। प्लटिङ भएका जमिनमा ढलजस्ता पानी निकासको व्यवस्था नभएका कारण बर्खाको पानी जम्मा भई डुबान हुने महरा बताउँछन्। ‘पहिले धान खेती गरिने गहिरो खेतमा घर बने,’ उनी भन्छन्, ‘त्यहाँको पानी बाहिर जाने मार्ग नबनाउँदा बस्ती डुब्दै आएका छन्।’ पुराना मात्र नभई नयाँ बस्ती बसेका हसनपुर बोरिङ टोल, शिवनगर टोलसमेत डुबानमा परेका छन्।
महराको तर्कसँग नापी कार्यालयका प्रमुख सुदर्शन धामी सहमत छन्। ‘धनगढी बजार आसपासका पुराना घडेरी सकिए। नयाँ घडेरीका लागि स्थानीयले धान उब्जनी हुने खल्ला खेतलाई प्लटिङ गरे। यो नै धनगढी डुबानको मुख्य कारण हो’, उनी भन्छन्।
बसाइँसराइको चाप
शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरको खोजीमा धनगढीमा बसाइँसराइ गरी आउनेको संख्या केही दशकयता बढेको तथ्यांक छ। २०५८ सालमा धनगढीको जनसंख्या ६७ हजार ४ सय ४७ थियो भने ६० को दशकमा त्यो संख्या दोब्बरले बढेर १ लाख ४७ हजार ७ सय ४१ पुग्यो। बसाइँसराइले सहरमाथिको चापको आधा पाटो मात्र देखाउँछ।
अर्को पाटो हो, आप्रवाससँगै हुने वासस्थान निर्माण। सँगै मौलाउँछ, घडेरी अर्थात् प्लटिङ व्यवसाय। धनगढी बजारमा घडेरीको मूल्य प्रति कट्ठा ६० लाखदेखि १ करोडसम्म छ।
शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरको खोजीमा धनगढीमा बसाइँसराइ गरी आउनेको संख्या केही दशकयता बढेको तथ्यांक छ।
हरिया खेतलाई घडेरी बनाइएको छ, जहाँ घर बनाउनेको संख्या बढ्दो छ। आर्थिक वर्ष ०७६/७७ मा धनगढीमा ५ सय ११ घर थपिए भने आव ०७७/०७८ मा त्यो संख्या बढेर १४ सय ६१ पुग्यो। ०७८/०७९ मा सबैभन्दा बढी २ हजार ५५ घरपरिवार धनगढी बसाइँ सरे। गत आवमा १ हजार ३ सय १९ घर बसाइँ सरेका छन्। आव २०७६/७७ देखि २०७९/८० सम्म १६ हजार ७२ जना बसाइँ सरेर धनगढी आएको तथ्यांक छ।
बर्सेनि डुबान
अव्यवस्थित सहरीकरण र विनायोजना जथाभावी घर निर्माणका कारण धनगढीले हरेक बर्खामा डुबान समस्या बेहोर्नुपरेको धनगढी उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारी बताउँछन्। उनी भन्छन्, ‘पहाडबाट आएकाहरूले जमिनको अवस्था नबुझेरै धनगढीमा जग्गा किनेर घर बनाउनाले पनि डुबान समस्या आएको हो।’
गत आवदेखि नै उपमहानगरको बैठकले धनगढीका सबै वडा गैरकृषि घोषणा गरिसकेको छ। त्यसअघि भूमि वर्गीकरण गरिएको थिएन।
धनगढी उपमहानगरपालिका भइसक्दा पनि यहाँ व्यवस्थित ढल निकास छैन। विगतमा सडक बनाउँदा नालीको व्यवस्था गरिएन जसले गर्दा बर्खाको पानी बग्न नपाई जम्मा भएर जलमग्न हुन्छ। परिणाम के भने, थोरै पानी पर्दा पनि धनगढीमा डुबान हुन्छ। एक घण्टामा ६० मिलिमिटर पानी पर्दा बस्ती नै डुबेको छ।
धनगढीका १९ वडाका ७१ टोल बाढी र डुबानको चपेटामा परेका छन्। धनगढीको विपद् व्यवस्थापन कार्ययोजनाअनुसार विगत ३९ वर्षदेखि धनगढी डुबानको चपेटामा पर्दै आएको छ। कतिसम्म भने डुबानबाट मुक्ति पाउन धनगढी उपमहानगरले डोजरसमेत प्रयोग गर्यो। गत बर्खामा बडहरा र विद्युत् टोलमा डुबानको पानी कटाउन डोजर प्रयोग गरिएको थियो ।
उक्त कार्ययोजनाअनुसार उपमहानगरमा विगत ३९ वर्षदेखि धनजनको क्षति हुने गरी पटक–पटक गरेर ५० भन्दा बढी सानाठुला बाढी गएका छन्। मोहना नदी, घुराहा, घुरही नदी, सुकुटी, कैलाली नाला, रातोपुल नाला, बेहडी–ज्योति स्कुल नालामा आएको बाढीले यहाँका गाउँबस्ती डुबानमा परेका छन्। २०४० सालदेखिको तथ्यांकअनुसार धनगढीमा बाढीका कारण १४ जनाको ज्यान गएको छ। २०४२ सालमा वडा नं १४ मा रहेको शिवताललगायत टोलमा आएको बाढीमा परी १२ जनाको ज्यान गएको थियो।
अव्यवस्थित सहरीकरण र विनायोजना जथाभावी घर निर्माणका कारण धनगढीले हरेक बर्खामा डुबान समस्या बेहोर्नुपरेको धनगढी उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारी बताउँछन्।
एक वर्षपछि वडा नं ४ को कैलाली नालामा आएको बाढीले १ जना, २०७४ सालमा वडा नं १६ को घसिटा टोलमा आएको बाढीले १ जनाको मृत्यु भयो। २०४० सालयता धनगढीमा ५ हजार २ सय ५९ घर डुबानमा परे भने १ सय १६ घर र गोठमा क्षति भयो। बाढी र डुबानका कारण ७ सय ९३ घरधुरी विस्थापित भएको विपद् कार्ययोजनामा उल्लेख छ।
उपमहानगरका अनुसार बाढीले यहाँको एक हजार ६५ बिघा खेतीयोग्य जमिन कटान गरेको छ। धनगढीका ७१ टोल डुबान र बाढीले प्रभावित छन्। धनगढी उपमहानगरको २६१.७४ वर्ग किलोमिटर क्षेत्रफलमध्ये बाढी, डुबान र कटानबाट करिब १ सय वर्ग किलोमिटर प्रभावित हुन्छ।
सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरले डुबान र कटान क्षेत्रलाई एकातिर बचाउन सकेको छैन भने अर्कातिर क्षति कम गर्ने योजना कार्यान्वयन भएको छैन। ‘धनगढी उपमहानगरले विगत ३९ वर्षदेखि डुबान र कटान हुने स्थानको पहिचान गरे पनि त्यसलाई बचाउन दीर्घकालीन योजना ल्याउन सकिएको छैन,’ सामाजिक अभियन्ता ज्योति भट्ट भन्छन्। उनका अनुसार स्थानीय सरकारले डुबानको विस्तृत अध्ययन नै नगरी सडकका नाली अग्ला बनाउने गर्दा डुबान भएको हो।
अतिक्रमणमा परे ताल र नाला
उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोला र नाला अतिक्रमणका कारण डुबान समस्या चर्किएको हो। दुई दशकयता यी खोलानाला अतिक्रमण गरेर घर र जमिनमा पर्खाल लगाइएका छन्। जसले गर्दा खोलाको पानी थुनिएर बस्ती डुबानमा पर्ने गरेको छ। धनगढी उपमहानगरका डिभिजनल इन्जिनियर दीजराज भट्ट प्राकृतिक रूपमा पानी बग्ने ठाउँमा घर र सडक निर्माण हुँदा पानीको बहाब रोकिएर धनगढी डुबानमा पर्ने गरेको बताउँछन्। उनले अल्पकालीन रूपमा खोलानालामा भवन बनाउने र मिच्ने गर्नाले डुबान समस्या बल्झँदै गएको बताए। ‘नाला मिचिएर मात्र हैन, ढलमा फोहर जम्नाले पनि समस्या चर्केको छ।’
धनगढीमा अहिलेसम्म पनि व्यवस्थित ढल निकास छैन। इन्जिनियर भट्ट भन्छन्, ‘अब भने व्यवस्थित सडक निर्माणका साथै ढल निकासका लागि केही कार्यक्रम स्वीकृत भएर टेन्डर आह्वान गरिएको छ।’
कोरोनाको समयअघि नै सुरु हुनुपर्नेमा महामारी र बिजुलीका पोल सार्न विद्युत् प्राधिकरणका कारण ढिलाइ भएको उपमहानगरले बतायो।
उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोला र नाला अतिक्रमणका कारण डुबान समस्या चर्किएको हो। दुई दशकयता यी खोलानाला अतिक्रमण गरेर घर र जमिनमा पर्खाल लगाइएका छन्।
धनगढीमा सबैभन्दा बढी वडा नम्बर १३, ३, ४ र २ मा डुबान हुन्छ। ६ लेन सडकमा बनेका कल्भर्टमा दायाँबायाँ बसेका बस्तीबाट पानी निकास नहुँदा डुबान हुने उनले बताए। भन्छन्, ‘होचो जमिनमा माटो भरान गरेर अग्लो बनाइ घर बनाउनु र घरवरपर पर्खाल लगाउँदा प्राकृतिक रूपमा पानी बग्न पाउँदैन, जसले गर्दा विशालनगरलगायतका टोलमा १०/१५ दिनसम्म डुबानको पानी जम्मा हुने गरेको छ।’ आव २०८०/८१ मा साँघुरा सडकलाई व्यवस्थित गर्दै नाला निर्माण गरिने उनले बताए।
तीन दशकसम्म खोला रहेको रातो पुलको अहिले नामोनिसान छैन। ठूलो नाला रहेको रातोपुल नाला अतिक्रमणको चपेटामा परेको हो। जसले गर्दा रातोपुल, सन्तोषीटोल, बैयाबेहडी, उत्तरबेहडी र रातोपुल क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय हरि रेग्मी बताउँछन्। ‘पहिले ठूलो नाला थियो,’ उनी भन्छन्, ‘हरेक वर्ष साँघुरिँदै अहिले नाला नै नामेट भइसक्यो।’
यसैगरी धनगढीकै कैलाली पुल टोलमा ७५ प्रतिशत नाला अतिक्रमण भएर आधा बढी भागमा घर ठडिएका छन्। जसले गर्दा तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयनजिकै भएर बग्ने नाला पनि वर्षौंदेखि अतिक्रमणमा परेको छ।
धनगढीकै सेतोपुल नाला अतिक्रमण हुँदा शिवनगर, क्याम्पसरोड, गाउँधनगढी, नवदुर्गाटोल डुबानमा पर्ने गरेको छ। केही वर्ष अघिसम्म पनि डुबान नहुने यी ठाउँमा हाल घरभित्रै पानी पस्ने स्थानीय बताउँछन्। त्यसको मुख्य कारण चौडा रहेको नाला अतिक्रमण भएर खुम्चिनु हो। अढाइ दशक पहिला खोलानाला रहेको जमिन अतिक्रमण गरेर नगर विकास समितिका पदाधिकारी, राजनीतिक दलका केही नेता, नापी र मालपोतका कर्मचारीको संलग्नतामा व्यक्तिका नाममा लालपुर्जा बनाइएपछि यो समस्या झन् विकराल भयो।
तीन दशकसम्म खोला रहेको रातो पुलको अहिले नामोनिसान छैन। ठूलो नाला रहेको रातोपुल नाला अतिक्रमणको चपेटामा परेको हो। जसले गर्दा रातोपुल, सन्तोषीटोल, बैयाबेहडी, उत्तरबेहडी र रातोपुल क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय हरि रेग्मी बताउँछन्।
पहिले धनगढीको बंगरा कटान र बैयाबेहडी मात्रै डुबान हुने गरेकोमा त्यो समस्या हसनपुर र शिवनगरमा पनि छ। सिरानमा रहेको नजरियास्थित घेग्रही ताल, बड्का जस्ता तालले यी दुई स्थान डुबानमा पर्नबाट बचाएका थिए। माथिको पानी तालमा जम्मा हुन्थ्यो भने तलतिर थोरै मात्रामा पानी बग्थ्यो। तर, ती ताल अतिक्रमण गरी खेती लगाउनुका साथै घरसमेत ठड्याइएका छन्। त्यसैले माथिबाट आउने पानी हसनपुर र शिवनगरमा थुप्रिएर डुबान हुन थालेको स्थानीय बताउँछन् ।धनगढी उपमहानगरपालिका–६ को नजरियामा रहेको घेग्रही तालसमेत अतिक्रमणको सिकार भएको छ। त्यो ताललाई स्थानीयले धानखेतमा परिणत गरेका छन्।
प्रकाशित: ८ श्रावण २०८० ०२:१६ सोमबार