७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जहाँ पुगे पनि डेरामा जातीय विभेद

कैलालीकी ३० वर्षीया दीपा नेपाली जहाँ पुगिन् जातीय विभेद झेल्नुपर्यो; जुन विभेद उनको आत्मसम्मानमा चोट बनेर उभिन्छन्।

चार वर्षअघि उनी स्नातक तहको पढाइ सकेर काठमाडौ छिरिन्। कानुन विषयमा उच्च शिक्षा हाँसिल गरेर सरकारी सेवामा प्रवेश गर्ने उनको सपना थियो। २०७६ साल मंसिरमा काठमाडौंको तारकेश्वरमा श्रीकृष्ण बिडारीले जातीय कारण देखाई आफ्नो घर छाड्न दबाब दिए। बिडारी सरकारी सेवामा थिए। सरकारी कर्मचारीले गरेको विभेद उनका लागि असह्य पीडा बन्यो। नेपालीले विभेद गर्ने बिडारीसहित चार जनाविरुद्ध जाहेरी दिइन्। मुद्दा जिल्ला अदालत, उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतमा पुगेको छ। जातीय विभेदविरुद्धको न्यायिक प्रक्रियामै चार वर्ष बितेको छ।

उनले शुक्रबार एक कार्यक्रममा बोल्दै भनिन्, ‘राजधानीमा सरकारी वकिल बन्ने सपना बोकेर आएकी हुँ, विश्वविद्यालयका पुस्तक बोक्ने झोलामा अदालतको मिसिल बोकेर चार वर्ष बित्यो’,उनले भनिन्। कैलालीदेखि काठमाडौंसम्म जातकै नाममा भएका अपमान र विभेदका कारण न्याय नमिलेसम्म लडिरहने अठोट मनमा पलाएको उनले सुनाइन्।

मुलुकमा चलेको युद्धका कारण नेपालीको परिवार २०६० सालमा अछामबाट विस्थापित भएर कैलाली झरेको थियो। कैलालीमा बुबाआमा सिलाइ कर्म गर्थे। त्यसवापत सीमित धान दिन्थे। त्यो आम्दानीले परिवारको खर्च पुग्दैन्थ्यो। स्कुल पढ्दा पोसाक र कापीकलम किन्ने पैसा नभएपछि दीपाले ज्यालादारी काम गरिन्। यस क्रममा उनले खोटोको भारी बोकिन्। गिटी कुटिन्। संघर्ष गर्दै एसएलसी उत्तीर्ण गरिन्।

घरनजिकैको स्कुमा १२ कक्षामा अध्ययन गर्दै थिइन्। गाउँको सामुदायिक विद्यालयमा शिक्षिका मागियो। दलित शिक्षिका राख्न दलित आन्दोलनले दबाब दियो। त्यही क्रममा दीपाको कुरा आयो। गाउँलेले ‘दमाई शिक्षकलाई कसरी नमस्कार गर्ने?’,यस्तो अपमानजनक कुरा सुनिन्। दलित समुदायको दबाबका कारण उनले शिक्षिकाको जागिर पाइन्। तर विद्यालय सञ्चालक समितिका सदस्यहरूबाटै विभेद भयो। गैरदलित शिक्षिकालाई तलब दिए तर उनलाई समयमा तलब दिइएन।

यो विभेद सहन नसकेर उनले उच्च शिक्षा पढ्ने सपना बुनिन् र २०७६ सालमा काठमाडौ छिरिन्। जहाँ डेरा खोज्न गए पनि जात सोध्थे। र फिर्ता पठाउँथे। सुरुमा कोठा पाएको चाहबिलमा जात सोधेपछि घरबेटीले सीधै इन्कार गरे।

चाहबिलको डेरा अस्वीकार भएपछि काठमाडौंको तारकेश्वरस्थित बिडारीको घरमा पुगिन्। कुरा मिलेकाले बैना छाडिन्। बसेको तीन दिनपछि घरबेटीले जात थाहा पाएछन्, कोठा छाड्न दबाब दिए। परीक्षा आइरहेको थियो। अर्को डेरा खोजिहाल्ने समय पनि थिएन। पटकपटक दबाबपछि २०७६ फागुनमा दीपाले विडारीविरुद्ध जाहेरी दिइन्। जिल्ला अदालतमा बिडारीको जातीय विभेदविरुद्ध मुद्दा दायर भयो।

त्यसपछि उनी कीर्तिपुर पुगिन्। त्यहाँ डेरा त पाइन्। मिडियामा आएको समाचारले दीपाको थर थाहा भयो। दीपालाई ‘जातको प्रश्न’कार्यक्रममा अन्तवार्ता दिइन्। त्यो देखेपछि घरबेटीले कोठा छाड्न भने। त्यसपछि कोठा सरेर शंखमूल पुगिन्। त्यहाँ पनि कोठा छाड्न दबाब दिए। त्यसपछि शंखमूलमै अर्को कोठामा सरिन्। रूपा सुनारसँगै जोडिएर आएको समाचारले अर्का घरबेटीले पनि कोठा छाड्न दबाब दिए। त्यसपछि उनी कीर्तिपुर डेरा सरिन्। अहिले महर्जनको घरमा बसेकी छन्। आठौं डेरामा डेढ वर्षदेखि बस्दै आएकी छन्।

राजधानीमा पटक–पटक डेरा सर्नुपरेकाले नियमित पढाइमा बाधा परेको र भाइबहिनीमा मानसिक असर परेको दीपाले सुनाइन्। उनले भनिन्, ‘फेरि डेरा सर्नुपर्ने हो कि भन्ने डर भाइबहिनीमा परेको छ।’

चार वर्षदेखि चलेको मुद्दाले किनारा पाएको छैन। जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन दुवैले मागदाबी नपुगेको भन्दै मुद्दा फैसला गरे। आवश्यक प्रमाण भएर पनि न्यायिक क्षेत्रकै बेवास्ताले आफ्नो मुद्दाको सही फैसला नभएको उनको गुनासो छ। गत जेठमा सर्वोच्च अदालतले गत वैशाखमा किन हेरिएन? कारण खुलाउ आदेश जारी गरेको छ। सर्वोच्चको आदेशसँगै दीपामा न्याय पाउने आशा पलाएको छ।

लामो समयदेखि अदालत धाउनुपर्दाको क्षण स्मरण गर्दै दीपाले जातीय विभेदकै कारण अदालत र न्यायिक निकायमा पुगेको बताइन्। ‘झोलामा जातीय विभेदका मिसिल बोकेरै समय बिते। भावी पुस्ताले आत्मसम्मानपूर्वक बाँच्न पाऊन् भनेर लडाइँमा होमिएकी हुँ। अबको पुस्ताले यस्तो विभेद झेल्न नपरोस्’,उनले भनिन्।

प्रकाशित: ६ श्रावण २०८० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App