१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोको जोखिममा रहेका ६४ परिवारलाई स्थानान्तरण गर्ने तयारी

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई एकीकृत बस्तीमा सुरक्षित स्थानान्तरणको अवधारणा ल्याएको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले निर्माण पूरा नभएको स्थानीय रंगशालामा अस्थायी एकीकृत बस्ती केन्द्र बनाउने भएको छ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ३ साँघुस्थित निमार्णाधिन मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत बस्ती केन्द्र बनाउने गरी अभियान सुरु भएको जानकारी दिए। गाउँपालिकाले बुधबारबाट सो स्थानमा अस्थायी एकीकृत बस्ती निर्माणको प्रारम्भिक कार्य समेत थालेको छ।

‘अस्थायी एकीकृत बस्ती निर्माणको प्रारम्भिक कार्य सुरु भएको छ’ गाउँपालिका अध्यक्ष वनेमले भने। 

उनले साउन ७ गतेबाट एकीकृत बस्ती निर्माणको कार्य प्रारम्भ हुने जानकारी दिए। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्दनका अनुसार कार्यपालिकाको निर्णय बमोजिम मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ पहिरो पीडित परिवारका लागि अस्थायी एकीकृत बस्ती निर्माणको कार्य प्रारम्भ भएको हो।

तत्कालका लागि स्थानीय रुपमा पाइने बाँस सहितका कच्चा पदार्थको प्रयोग गरी अस्थायी टहरा निर्माण गरिने र त्यसपछि एकीकृत बस्तीका लागि दीर्घकालीन स्थानान्तरणको अवधारणा अनुसार एकीकृत बस्तीका लागि जग्गा र स्थायी संरचना निर्माण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गरिने मैवाखोला गाउँपालिकाले जनाएको छ।

गत असार २ गते देखि ४ गते सम्म परेको अविरल वर्षा पछि आएको पहिरोका कारण मैवाखोला गाउँपालिका वडा नं ४ को ओदकमा रहेको पूरै बस्ती उच्च जोखिममा परेको छ।

मनसुन सक्रिय समय अझै बाँकी रहेको र कुनैपनि बेला थप जोखिम बढ्न सक्ने भएका कारण ओदक बस्तीलाई तत्काललाई अस्थायी र पछि स्थायी एकीकृत बस्ती स्थानान्तरण मार्फत सुरक्षित गर्ने गाउँपालिकाको योजना अनुसार अल्पकालीन र दीर्घकालीन एकीकृत बस्ती स्थानान्तरण अभियान सुरु भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८० १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App