३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही नगरपालिका-६ कुचाई टोल बस्ने २३ वर्षीय मोहम्मद नसिव रहेका छन्।

धनुषा प्रहरीका अनुसार डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी नसिवलाई मंगलबार पक्राउ गरिएको हो।

उनी मन्दिरको मूर्ति चोरी गरी विगत पाँच महिनादेखि लुकिछुपी बसिरहेको अवस्थामा पक्राउ परेका धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

गत फागुन १४ गते जानकी मेडिकल कलेजस्थितको राजदेवी मन्दिरका समान नसिवसहित पाँच जनाले चोरी गरेका थिए। यसअघि प्रहरीले मुख्य योजनाकार विदेह नगरपालिका-४ का ३० वर्षीय सरिफ मुसलमानसहित पाँच जनालाई पक्राउ गरिसकेको छ।

सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह साह, क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतो यस अघि पक्राउ परिसकेका छन्।

उनीहरू चोरी गरेको समान लिएर भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका-३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेका थिए।

प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली, मूर्ति सहितको चाँदीको पीढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप एक केजी, चाँदीको थाली पाँच सय ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया दश अना, सुनको सिक्री चार अना, नाकको टप एक अना, कानको बाली ६ अना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेको छन्।

साथै मोबाइल १३ थान, नगद एघार हजार पाँच सय, टुक्रा पारिएको चाँदी दुई केजी, चरेसको थाल सात थान, हथौडा एक थान, दविया तीन थान लगायतको समानहरू उनीहरूको साथबाट बरामद भएको थियो।

प्रकाशित: २ श्रावण २०८० १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App