२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पीडितको व्यथा: खाइदिएको पैसा दिन्छन् कि दिँदैनन् ?

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी बनेर अमेरिका जाने लोभमा घोराहीकी रमिता घिमिरे (नाम परिवर्तन) को ४५ लाख रुपैयाँ डुब्यो। नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ‘लालच’ देखाएको गिरोहको फन्दामा परेकी रमितालाई अहिले पारिवारिक दबाबले पिरोलिरहेको छ।

उनी भन्छिन् ‘४५ लाख रकम डुबेपछि परिवारका सदस्यहरुबाट दिनहुँ खप्की खाइरहनु परेको छ।’

कांग्रेसका बालकृष्ण खाँड, एमालेका टोपबहादुर रायमाझी जस्ता हेभिवेट नेता सहित गिरोहमा संलग्न भएकाहरु यो प्रकरणमा समातिए। उनिहरु माथि कारबाही प्रक्रिया चलिरहेको पनि छ। तर ४५ लाख रकम डुबाएकी रमिता भने आफूले न्याय पाउने वा नपाउने भन्नेमा अन्यौलता छिन्।

उनको प्रश्न छ, उनिहरु त समातिए , तर खाइदिएको हाम्रो पैसा दिन्छन् कि दिँदैनन् ?

उनका लागि न्याय मिल्ने भनेकै अमेरिका जाने भनेर गिरोहले झ्वाम पारिदिएको रकम फिर्ता नै हो। 

‘मलाई न्याय मिले हुन्थ्यो, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगहरुले खाइदिएको रकम फिर्ता भए हुन्थ्यो,’ उनले भनिन् ‘रकम फिर्ता नहुँदा घरबार नै खतम हुने अवस्था बनेको छ, खै के गर्छन् हाम्रो डुबेको पैसा दिन्छन् कि दिँदैनन्।’

उसैसरि अमेरिका जाने लोभमा परेर २० लाख रुपैयाँ डुबाएका तुलसीपुरका राजन केसी (नाम परिवर्तन) लाई पनि फसेको गिरोहमा संलग्नहरुलाई कारबाही भन्दा पनि रकम फिर्ताकै चिन्ता बढी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई हुने कानुनी कारबाहीले मात्रै उनलाई न्याय मिल्दैन। उनका लागि पनि न्याय भनेकै रकम फिर्ता हो।

‘हामीहरुलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौँ रकम ठगी गर्नेहरुलाई कारबाही पनि हुनुपर्छ, होओस्,’ उनले भने ‘तर हामीहरुलाई न्याय मिल्छ कि मिल्दैन भन्ने चिन्ता हामीलाई छ, हामीहरुबाट ठगी गरेको रकम सरकारले दिलाउन सके हुन्थ्यो।’

रमिता र राजन जस्तै दाङमा ठगीमा परेका ६० भन्दा बढी ‘नक्कली भुटानी शरणार्थी’ हरुलाई पक्राउ परेकाहरुबाट रकम फिर्ताको आशा जागेको छ। उनिहरु पक्राउ परेकाहरुलाई कानुनी कारबाही मात्रै चाहँदैनन्। आफूहरुबाट असुल गरेको रकम फिर्ता उनिहरुको पहिलो चिन्ता हो। तर भुटानी शरणार्थी बनेर अमेरिका जान हौसिएका उनिहरुको रकम फिर्ताका लागि भने सहज देखिन्न। कारण उनिहरुले अमेरिका जान भन्दै रकम बुझाएको कुनै प्रमाण उनिहरुसंग छैन। एक प्रहरी अधिकारीका अनुसार अहिले सम्म बिना प्रमाण अर्थात् रकम दिएको मौखिक भनाई कै आधारमा कसैले पनि फसेको रकम फिर्ता पाउने अवस्था बनेको छैन।

फलतः भुटानी शरणार्थी प्रकरणमा पनि अदालतले प्रमाणलाई आधार बनाउने अवस्था आउन सक्ने ती अधिकारी बताउँछन्।

‘रकम लेनदेन वा ठगीको विषयमा रकम दिएको कुनै पनि प्रमाण विना कसैले पनि न्याय पाएको कानुनी उदाहरण छैनन्,’ ती प्रहरी अधिकारीले भने ‘तर भुटानी शरणार्थी प्रकरणको मुद्दालाई अदालतले कसरी व्याख्या गर्छ भन्ने कुरा नै हो।’

ती अधिकारीका अनुसार अदालतले अहिले राष्ट्रिय विषय बनेको यो प्रकरणमा सबैले न्याय पाउनु पर्छ भनेर पीडित भनिएकाहरु सबैलाई न्याय मिल्ने गरी फैसला गरेको खण्डमा बिना प्रमाण रकम बुझाएकाहरूले पनि रकम फिर्ता पाउन सक्ने हुन सक्छ।

तर अदालतले रकम बुझाएको प्रमाणका आधारमा मात्रै न्यायिक निर्णय गरेको खण्डमा विना प्रमाण रकम बुझाएकाहरुको रकम फिर्ता हुन नसक्ने उनको भनाई छ।

‘अहिले राष्ट्रिय विषय बनेको यो प्रकरणमा पब्लिक सेन्टिमेन्टलाई हेरेर यो विषयमा सबैलाई न्याय दिनु पर्छ भन्ने न्यायिक निर्णय भएको खण्डमा विना प्रमाण रकम बुझाएकाहरूले पनि रकम पाउन सक्लान्,’ ती प्रहरी अधिकारीले भने ‘तर रकम बुझाएको प्रमाणका आधारमा गरिँदै आएको अहिले सम्मको कानुनी निर्णयले त विना प्रमाण रकम बुझाएकाहरुलाई म ठगिएको छु भनेर भन्दैमा रकम फिर्ता हुने अवस्था बन्ने हुन्न।’

सबै पीडितहरुले आफूहरु ठगिएको भनेर दिएको उजुरीका आधारमा प्रहरीले माग दाबी त अदालत समक्ष गर्छ नै। तर अदालतले गर्ने न्यायिक निर्णयले सबै पीडितहरुले न्याय पाउने वा नपाउने भन्नेमा निर्भर रहने उनको भनाई छ।

यता अमेरिका पुर्‍याउने भन्दै दाङकै गजेन्द्र बुढाथोकी मार्फत ठगीमा परेका दाङका पीडितहरुलाई भने भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहहरुले रकम बुझाएको कुनै प्रमाण पेश गर्ने ठाउँ दिएनन्।

 ‘उनिहरुले नगद रकममा मात्रै काम हुने भन्दै बैंक चेक समेत लिन मानेका थिएनन्। मैले तीन पटक गरेर ४५ लाख रुपैयाँ बुझाएकी हुँ,’ रमिताले भनिन् ‘तर सबै रकम नगद मात्रै बुझाएँ, उनिहरुले बैंकको चेक लिँदैनौ भनेर नगद मात्रै लिने भनेका थिए, मैले त्यही अनुसार नगद रकम मात्रै बुझाएँ।’

यो गिरोहले सुरुमा काठमाडौँमा रकम बुझेका थिए। त्यसपछि चितवनमा प्रशिक्षण कार्यक्रमका लागि भन्दै बोलाएर दोस्रो पटक रकम असुलेका थिए भने मेडिकल जाँचका लागि भन्दै विराटनगरमा बोलाएर यो गिरोहले तेस्रो पटक रकम असुलेका थिए। तर यो गिरोहले जहाँ पनि नगद रकम मात्रै लिएको थियो।

‘चेक दिँदा हुँदैन नगदै चाहिन्छ भनेर नगदै रकम बुझेका थिए,’ तुलसीपुरका अर्का पीडित रमेश गिरी (नाम परिवर्तन) ले भने ‘रकम बुझेको प्रमाणै नहोओस् भनेर यसो गरेका पो रहेछन्।’

उनलाई पनि आफ्नो डुबेको रकम फिर्ता हुने नहुनेमा शंका छ। भलै आफूहरुसंग मोटो रकम असुल गरेको गिरोह पक्राउ पर्नुले भने रकम फिर्ता हुने आशा जगाइदिएको भने छ।

‘उनिहरुले खाइदिएको हाम्रो पैसा दिन्छन् कि दिँदैनन्?’ उनले प्रश्न गरे ‘रकम नदिए त हामीलाई के न्याय मिलेको भन्नु ?’

प्रकाशित: २ श्रावण २०८० १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App