८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ।

मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी सकिएको बताए। यस वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ। उनले श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए।

उनले विगतका वर्ष श्रावणी मेलाबाट करिब रु ५० लाख बचत हुने गरेको भन्दै यस वर्ष भारतीय पर्यटक बढेकाले रु एक करोड २५ लाखसम्म बचत हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए।

पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि रु एक हजार एक सयको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ। व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिए।

उनले साउन २ गतेदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिए।

साथै साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नुहुनेछ। विसं २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो। सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आइएको छ।

मेला अवधिमा स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ। सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारुपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए।

डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन थालेकाले नगरपालिकाले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। मेलाका लागि नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुर तथा विभिन्न सङ्घसंस्था एवं स्थानीयको सहभागिता हुनेछ। सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मूलद्वार भोलि उद्घाटन गरिनेछ।

प्रकाशित: ३१ असार २०८० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App