१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हेलिकोप्टर पर्वतीय उडानमा रोक

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ। क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ।

दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए। ‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ।’ पहाडी इलाका भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास नभएको उनले बताए।

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

‘हेलिकोप्टर कम्पनीले एभिएसन र आइकाउको नियम पालना गर्नुपर्छ,’ ती महानिर्देशकले भने, ‘नियमनकारी निकायले हतासमा निर्देशन दिने निर्णय गलत छ।’ क्यानले सुरक्षा मापदण्ड कार्यान्वयनमा ल्याउने, अनुगमन गर्ने काम गर्नुपर्ने उनले बताए।

दुर्घटनाको कारण देखाउँदै पर्वतीय उडानमा रोक लगाउनु वैज्ञानिक र व्यावहारिक नभएको फिस्टेल एयरका अध्यक्ष एवं क्याप्टेन विकास राणाले बताए। ‘सिभिल एभिएसनको नियम मान्न हेलिकोप्टर सञ्चालक तयार छौं,’ थापाले भने, ‘दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ।’ दुर्घटना छानबिन गरेर कारण पत्ता लगाउनुपर्नेमा उडानमै रोक लगाउने निर्णय गलत भएको उनले बताए।

‘हेलिकोप्टर उडानमा रोक लगाउनु समाधान होइन,’ उनले भने, ‘निजी क्षेत्रका लगानीकर्तालाई हतोत्साही गर्नेगरी रोक लगाइयो।’ क्यानले सरोकारवालासँग छलफल गरेर दुर्घटना न्यूनीकरणका उपाय पत्ता लगाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिएको सरोकारवालाको भनाइ छ। ‘दुर्घटना भएपछि कम्पनीको छवि बिग्रिन्छ, त्यसमा हामी सचेत छौं,’ राणाले भने, ‘समाधानको उपाय खोज्नुको साटो उडान नै रोक्ने निर्णय ठिक भएन।’

दुर्घटनाको कारण देखाउँदै पर्वतीय उडानमा रोक लगाउनु वैज्ञानिक र व्यावहारिक नभएको फिस्टेल एयरका अध्यक्ष एवं क्याप्टेन विकास राणाले बताए।

क्यानको यो निर्णयले लगानीकर्ताको करोडौं रूपैयाँ लगानी जोखिममा पर्ने हेलिकोप्टर सञ्चालकहरू बताउँछन्। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लगानी गरेकाले यसको असर पर्यटन व्यवसायमा पर्ने उनीहरूको दाबी छ। विदेशीहरू माउन्टेन फ्लाइटमा आउने भएकाले उडानमा रोक लगाउन नहुने उनीहरूको तर्क छ।

हेलिकोप्टर दुर्घटनामा पर्न थालेपछि मनसुन अवधिभरका लागि पर्वतीय उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘खोज, राहत तथा उद्धारका उडानमा कुनै अवरोध होइन। अहिलेका लागि पर्वतीय, सिलिङ र पुष्पवृष्टिका उडानमा मात्र रोक लगाइएको हो,’ उनले भने, ‘यो बेला मौसम छिटोछिटो परिवर्तन हुने भएकाले माउन्टेन फ्लाइट गर्दा सचेत हुनुपर्ने भएकाले कडाइ गरिएको हो।’

हेलिकोप्टर दुर्घटनामा पर्न थालेपछि मनसुन अवधिभर पर्वतीय उडानमा रोक लगाइएको हो। खोज, राहत तथा उद्धारका उडान हुन्छन्। पर्वतीय, सिलि« र पुष्पवृद्धि उडानमा रोक हो।

ज्ञानेन्द्र भुल, प्रवक्ता, क्यान

मनसुनका बेला मौसममा छिटोछिटो परिवर्तन हुँदा जोखिम हुने भएकाले सचेत हुनुपरेको उनले बताए। यो बेला पर्यटनमा अफसिजन भएकाले पनि पर्वतीय उडानमा रोक लगाउँदा खासै मर्का नपर्ने उनको तर्क छ। यो निर्णयले पर्यटन क्षेत्रमा ठुलै असर परेमा अर्काे तरिकाले सोच्न सकिने पनि उनले बताए।

तीनदिन अघिमात्र पर्वतीय उडानमा रहेको हेलिकोप्टर दुर्घटनामा परेर एक चालक र पाँच विदेशी पर्यटकको ज्यान गएको थियो। पर्वतीय उडान सकेर फर्किने क्रममा मंगलबार मनाङ एयरको ९ एन एएमभी हेलिकोप्टर दुर्घटना परेको थियो।

सोलुखुम्बुबाट काठमाडौं फर्किने क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो। योसहित सन् २०२३ को अहिलेसम्म नेपालमा चारवटा हेलिकोप्टर दुर्घटनामा परिसकेका छन्। अप्रिलयता चारवटा हेलिकोप्टर दुर्घटनामा परिसकेका छन्। क्यानका सूचना अधिकारी भुलका अनुसार हेलिकोप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरण बिन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने गरी कडाइ गरेको छ। यो निर्णय पनि नेपालजस्तो मुलुकका लागि अवैज्ञानिक भएको हेलिकोप्टर चालकहरूको दाबी छ।

हेलिकोप्टर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित यो नियम लागु गरिएको क्यानको दाबी छ। प्रस्थान वा अवतरण बिन्दुमध्ये एउटामा विमानस्थल हुनैपर्ने बाध्यकारी व्यवस्थाले उडान सुरक्षित हुने अपेक्षा रहेको उनले बताए। ‘विमानस्थल रहँदा त्यहाँ टावर हुने र त्यसले उडान हुने रुटको मौसम थाहा पाउने भएकाले पनि सुरक्षित र सहज हुने अनुमान हो। कम्तीमा मौसमबारे जानकारी पाइने हुँदा प्रस्थान वा अवतरणमध्ये एउटा बिन्दुमा विमानस्थल बनाउन भनेका हौं,’ उनले भने, ‘गत अप्रिलदेखि अहिलेसम्म चारवटा हेलिकोप्टर दुर्घटना भइसके। यस्तोबेला चालकलाई नै जिम्मेवार बनाउन खोजिएको हो।’

दुर्घटनाको कारण देखाउँदै पर्वतीय उडानमा रोक लगाउनु अव्यावहारिक हो। दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ।

विकास राणा,अध्यक्ष, फिस्टेल एयर

हेलिकोप्टरमा रहेका प्रविधिको उपयोग गर्नका लागि पनि यस्तो प्रावधान राखिएको उनले बताए। ‘हेलिकोप्टरमा भएका उपकरणको उपयोग होस् भन्ने उद्देश्यले यस्तो प्रावधान लागु गरिएको हो,’ उनले भने।

नेपालको हवाई आकाशमा हुने हेलिकप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले प्राधिकरणले नियम लागु गरेको उनले सुनाए। उनका अनुसार हेलिकोप्टर तथा स्टल (छोटो धावनमार्ग हुने विमानस्थल) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रूपमा सुपरीवेक्षण तथा नियमन गर्न एक कमिटी गठन गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ। हवाईविज्ञ भेषराज सुवेदीको संयोजकत्वमा यो कमिटी गठन गरिएको छ।

प्रकाशित: २९ असार २०८० ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App