५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अपाङ्गता बालबालिका नव आगन्तुकसँग माया साटेर रमाउँदै

 भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्। उनी बहिरा अपाङ्गता भएकाले गर्दा उनीसँग कपीमा लेखेर संवादको बाटो खोल्ने एक मात्र विकल्प थियो। संवाददातामा साङ्केतिक भाषाको कमी गर्दा कपीमा लेखेर संवाद गर्नेबाहेक अन्य विकल्प थिएन।

उनीसँग कपीमा लेखेर संवाद अघि बढाएसँगै त्यहाँ भएका अन्य बालबालिकाले पनि पालैपालो कपी दिए।सबैलाई नाम, ठेगाना, कक्षा, उमेरबारे सोधी खोजी गर्दा सबैले फटाफट कपीमा लेखेर दिए। उनीहरु सबै जना पढ्ने उत्सुक देखिन्थे। मेहतालाई कपीमा पढ्न कतिको मन लाग्छ ? भनेर सोध्दा धेरै लाग्ने गरेको जवाफ पकाइन्।

राम–सीता माध्यमिक विद्यालयमा बहिरा अपाङ्गता भएका बालबालिकाका निम्ति स्रोत कक्षा शिक्षक तुलसी श्रेष्ठ विद्यार्थीलाई गृहकार्य दिएर केही समय बाहिर गएको मौका पारेर बालबालिकासँग केही बेर संवाद गरियो। लगतै स्रोत शिक्षक श्रेष्ठ आएपछि बालबालिकाहरूलाई पढाउन थाले। बालबालिकाहरूले शिक्षक श्रेष्ठले भने अनुसारको कार्य गर्दै पढ्न थाले।

प्राथमिक विद्यालयको दर बन्दीमा कार्यरत श्रेष्ठ बहिरा अपाङ्गता भएका बालबालिकाको सेवामा २०५४ सालदेखि समर्पित छन्। सरकारले बहिरा अपाङ्गता भएका बालबालिकालाई मासिक दिने रकमले मात्र नपुग्ने हुँदा विभिन्न संस्थाले सहयोग गर्दै आएको छ। उनका अनुसार राम सीता माध्यमिक विद्यालयकै स्रोत कक्षा सञ्चालनका लागि ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले भवन निर्माण देखि अन्य थुप्रै आवश्यक भौतिक तथा शैक्षिक र सिकाई सामग्रीहरू सहयोग गर्दै आएको छ। 

राम सीता माध्यमिक विद्यालयको स्रोत कक्षामा चार जना बालक र ११ जना बालिकालाई आवासीय रुपमा बसोबास गरेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। विद्यालयको स्रोत कक्षामा आवासीय रुपमा ग्रेडविहीन कक्षाको रुपमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई सहभागी गराउने गरिएको छ।  

बर्जुमा रहेको राम सीता माध्यमिक विद्यालयमा रहेका बहिरा अपाङ्गताजस्तै राम धुनी वडा नं. ३ मा सञ्चालित जनता माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता केन्द्रमा कोही नव आगन्तुक पुग्ने बित्तिकै मोरङका प्रिन्स लिम्बु माया गर्न झुम्छिन्। अनि उनले नव आगन्तुकलाई पनि माया गर्न सङ्केत गर्छन्। उनी अटिस्टिक हुन्।

जनता माध्यमिक विद्यालयको स्रोत कक्षामा शारीरिक अपाङ्गता भएका, श्रवण र दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा प्रदान गरी अन्य विद्यार्थीहरुसंग पठनपाठनको व्यवस्था मिलाइएका छ। यस विद्यालयमा आवासीय रुपमा ल्याएर राखेपछि आफ्ना छोरामा अपेक्षा गरेभन्दा बढी परिवर्तन आएको वराहक्षेत्र वडा नं. ८ की राधादेवी चौधरीले बताइन्।

जनता माध्यमिक विद्यालयमा कोशी प्रदेशका विभिन्न जिल्ला र मधेस प्रदेशका पनि केही स्थानका बौद्धिक अपाङ्गता बालबालिका रहेका छन्। बौद्धिक अपाङ्गता भएका बालबालिकालाई कक्षा ५ सम्म ग्रेडविहीन र त्यसभन्दा माथि अन्य विद्यार्थीसँग एकीकृत गरेर पठनपाठनको व्यवस्था गरिएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिक लाल मेहताले बताए। उनले सरकारी सहयोग भने पर्याप्त नभएको बताए। ‘अपाङ्गता भएका बालबालिकाका निम्ति सरकारी बजेटले मात्र धान्न गाह्रो छ, विभिन्न सहयोगी संस्थासँग हात फैलाउनैपर्छ,’ उनले भने।

बर्जुमा सञ्चालित राम सीता माध्यमिक विद्यालय र राम धुनीमा सञ्चालित जनता माध्यमिक विद्यालयको स्रोत कक्षा मार्फत सञ्चालित अपाङ्गता भएका बालबालिका निम्ति सीप विकास र व्यवहार परिमार्जन गरेर असल नागरिक उत्पादन गर्न सहयोग गर्दै आएको आरएसडिसी कार्यक्रम संयोजक शिखा किरणले बताइन्। 

प्रकाशित: १५ असार २०८० १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App