४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

यौन व्यवसायमा लगाउनेलाई १७ वर्ष कैद

होटल सञ्चालकले काम गराउन राखिएकी महिलालाई यौन व्यवसायमा प्रयोग गरेको कसूरमा दैलेख जिल्ला अदालतले १७ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट यौन व्यवसायमा प्रयोग गर्ने होटल सञ्चालक महिलालाई १७ वर्ष कैद फैसला भएको हो।

२७ वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ भानाकोट घरभई हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलामा होटल व्यवसाय गर्दै आएकी ३० वर्षीया शोभा रोकामगरलाई १७ वर्ष कैद सजाय सुनाइएको दैलेख अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानले जानकारी दिए।

होटलमा सरसफाई र खाना पकाउने कामका लागि भनी राखिएकी ती महिलालाई होटल सञ्चालक शोभाले कात्तिक ४ गते नौ जनासंग यौन सम्वन्ध राख्न लगाएको भनी पीडित महिलाले दिएको जाहेरीको आरोपमा प्रहरीले ०७८ कात्तिक १२ गते पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७८ मङ्सिर ७ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो।

अभियोग सम्वन्धमा थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार जिल्ला कारागारमा राखिएको थियो। झापा जिल्ला घर भएकी ती महिलालाई त्यो होटलमा काम गर्न राखेर यौन व्यवसायमा प्रयोग गराएको भन्ने प्रहरी अनुसन्धान र अदालती तहकीकातबाट खुलेको अदालतका सूचना अधिकारी नासु न्यौपानेले बताए। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा १५ खण्ड (ख) अनुसार १० वर्ष कैद, ५० हजार जरिवाना र दफा १७ बमोजिम पीडितलाई २५ हजार रुपैंयाँ क्षतिपूर्ति तिराउने फैसलामा उल्लेख छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार बेश्याबृति गराएको कसूरमा १० वर्ष र अर्को ठाउँबाट ल्याई बेश्याबृतिमा प्रयोग गराएको थप सात वर्ष समेत १७ वर्ष कैद गरेको अदालतका सूचना अधिकारी न्यौपानले बताए। पीडितले न्याय पाएको जानकारी पाउदा आफूलाई खुशी लागेको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताइन्।  

प्रकाशित: १४ असार २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App