२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिंघिया खोलामा महिलाको शव फेला

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमाका रुपमा रहेको सिंघिया खोला अन्तर्गत विराटनगरतर्फ एक महिलाको शव फेला परेको छ।

विराटनगर–८ स्थित सिंघिया खोलामा घोप्टो अवस्था मंगलबार बिहान साढे ११ बजेतिर महिलाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

सुनसरीको गढी गाउँपालिका–३ छिटाहाकी ३५ वर्षीया ठूलीदेवी चौधरीको शव सिंघिया खोलामा घोप्टो परेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

सुनसरी घर भएकी ठूलीदेवी सोमबार नन्द श्यामकुमारी चौधरीको घर कटहरी–२ आदर्श टोलमा पाहुना आएकी थिइन्। 

नन्दको घरमा राति १२ बजेसम्म गफ गरेर सबै जना सुतेको बताउँदै, डिएसपी दाहालले भने, ‘सुतेको केही समयपछि उठेर हेर्दा भाउजू सुतेको ठाउँमा नदेखेपछि नन्दले घरपरिवारलाई खबर गरेको र भाउजू आफ्नो घरसमेत पुगेकी थिइनन्। ठूलीदेवीको सबै जनाले खोजी गर्दै जाँदा खोलामा डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाई घटनाको जानकारी आएको हो।’ नन्दको घर नजिकै सिंघिया खोला रहेको छ।

डिएसपी दाहालले परिवारलाई उद्रित गर्दै शरीर काँप्ने स्वास्थ्य समस्या लामो समयदेखि ठूलीदेवीलाई रहेको र झारफुकका लागि मोरङको बुढीगंगा गाउँपालिकाको बाँसबारीस्थित माताकोमा लिएर आएका थिए। गाउँका मान्छेले बिगारेका कारण यस्तो भएको झारफुकका क्रममा माताले भनेकी रहिछन्।

झारफुक गर्ने माताले गाउँकै मान्छेले बिगारेको भनेपछि उनी निक्कै तनावमा रहेको परिवारले प्रहरीलाई बताए। ठूलीदेवी झारफुकपछि नन्दको घर आएकी थिइन्।

घटनाको विस्तृत अनुसन्धान थालेको बताउँदै, डिएसपी दाहालले भने, ‘घटनाको सबै तवरबाट अनुसन्धान थालिसकेका छौं। पोष्टमार्टमका लागि कोशी अस्पतालमा शव लगिएको र रिपोर्ट आएपछि थप कुरा बाहिर आउने छ।’

प्रकाशित: १२ असार २०८० ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App