१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढी पहिरोमा परेका ३ जनाको शव भेटियो, ३० जना बेपत्ता

कोशी प्रदेशको पहाडी क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाले आएको बाढी पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। आइतबार साँझसम्म ३० जना बेपत्ता भएका छन्। 

शनिबार रातिदेखि परेको वर्षाले पाँचथर, ताप्लेजुङ र संखुवासभा जिल्लामा बढी क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए।

बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति धेरै भएको छ। बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको बताउँदै, एसपी कँडेलले भने, ‘प्राकृतिक प्रकोपबाट प्रदेशको ३ जिल्ला बढी प्रभावित भएको छ। बाढी पहिरोमा परेर मानिसको मृत्यु, मानिस र पशुचौपाय बगाएर बेपत्ता, सडक र पुल बगाउँदा धेरै स्थानमा आवतजावत बन्द भएको छ।’ 

प्राकृतिक विपत् भएका स्थानमा उद्धार र थप मानवीय क्षति हुन नदिनका लागि काम भइरहेको छ। अन्य जोखिम देखिएको स्थानका स्थानीयहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र मानव तथा पशुहरुलाई सुरक्षित स्थानमा लैजान प्रहरीले सहयोग गर्दै आएको छ। निरन्तर वर्षात भइरहेका कारण उद्धारमा केही समस्या भइरहेको एसी कँडेले बताए।

पाँचथरको फालेलुङ गाउँपालिका– ४ का प्रदीप साउदेनकी छोरी ८ वर्षीय जुनाको उपचारका क्रममा मृत्यु भएको छ। उनी फालेलुङ–३ मामा घर गएको अवस्थामा घर बगाउँदा घाइते भएकी थिइन्। बाढी पहिरोमा परेर ४ पुरुष र १ महिला गरी ५ जना बेपत्ता छन् भने १ जना घाइते भएका छन्।

त्यस्तै बाढी पहिरोका कारण २४ घर विस्थापित भएका छन्। विस्थापित भएकाहरु छिमेकी र उनीहरुकै आफन्तको घरमा बसेका छन्। ६ वटा पक्की पुल, ५ वटा झोलुङ्गे पुल, बेलिब्रिज र फलामको ट्रष्टको १–१ वटा पुलमा क्षति पुग्दा आवगमन बन्द भएको छ।

हेवा–१ जलविद्युत् आयोजनामा क्षति पुग्नुका साथ त्यहाँ कार्यरत बेपत्ता भएका हुन्। बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलाको पुल बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मा पहिरोले घर बगाउँदा एकै घरका ३ जना बेपत्ता भएका छन्। सोही ठाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ। विभिन्न ७ स्थानको पुल बगाउँदा सडक अवरुद्ध भएको छ।

संखुवासभामा बेपत्ता भएका मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १९ जना पुरुष र ३ महिला गरी २२ जना अझै बेपत्ता छन्। पाँचखपन नगरपालिका–५ का २६ वर्षीय सन्तोष राईको शव फेला परेको छ।

उनलाई हेवा खोलाले बगाएको थियो। अप्पर हेवा खोला हाइड्रोपावर र सुपर हेवा हाइड्रोमा क्षति पुगेको छ। पिलुवा र हेवा खोलामा आएको बढीले पुलमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३ असार २०८० १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App