१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अर्घाखाँची र गुल्मीका १२ हजार गाईभैंसीमा ‘लम्पी स्किन’

गुल्मीको रेसुङ्गा नगरपालिका ३, बोक्सेका दामोदर पन्थीले पाल्दै आएका गाई लम्पी स्किन रोगको संक्रमणले बचाउन मुस्किल भइरहेको छ। धेरै दुध दिने चारओटा गाई उनले बचाउन सकेनन्। रोग देखिना साथ उपचार गर्दापनि बचाउन सम्भव नभएको उनले बताए। ‘सुरुवातमै उपचार पनि गरेको हो, उनले भने,‘बजारमा औषधी भनेको बेला नपाईने समस्या देखियो, उपचार गर्दागर्दै चारओटा गाई मरे।’

अर्घाखाँचीको सन्धिखर्क १०, बेलटारीका पशुपालक कृषक खिम प्रसाद पाण्डेका पाँच ओटा गाई लम्पी रोगले नै मरे। उपचार गराउँदा गराउँदै दुधालु गाई मर्दा उनलाई असह्य पिडा भयो। उनी बँचेका संक्रमित गाईभैंसी जोगाउने तर्फ लागे। औषधी बजारमा उपलब्ध नहुँदा बुटवल, नारायणगढ सम्म पुगेर औषधी ल्याएर पशुचौपाया बचाउन सफल भए। ६ वटा गाई र पाँच ओटा भैंसी अहिले उनको गोठमा छन्। तर, संक्रमण सबैप्रायः पशुमा फैलिएको छ।

अर्घाखाँची र गुल्मीका करिब १२ हजार गाईभैंसी लम्पी स्किन रोगले थला परेका छन्। अर्घाखाँचीका ६ हजार ८ सय ८० र गुल्मीका ५ हजार २० गाईभैंसीमा लम्पी स्किन रोग लागेको पुष्टी भएको छ। यसका कारण किसानले लाखौंको क्षति बेहोर्नुपरेको छ।

रोगको संक्रमणले दुई जिल्लामा २७८ गाईगोरु मरेका छन्। बुधबार दिउँसोसम्म अर्घाखाँचीमा १ सय २७ गाईगोरु मरेका छन्। गुल्मीमा १ सय ५१ गाईगोरु मरेका छन्। रोगको संक्रमण भैंसीमा देखिएपनि अहिलेसम्म लम्पी स्किनले भैंसीहरु भने मरेका छैनन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले संक्रमणले भैंसीहरु नमरेको बताए। ‘अहिलेसम्म १२७ गाईगोरु मरेपनि भैंसी मरेका छैनन्, उनले भने,‘संक्रमण भैंसीमा देखिएको छ तर संक्रमणकै कारण भैंसी मरेका छैनन्।’ उनका अनुसार पाणिनी गाउँपालिकामा सबैभन्दा धेरै ३४ वटा पशु मरेका छन्। यस्तै शितगंगा नगरपालिकामा ३० वटा, भुमिकास्थान नगरपालिकामा २८ वटा, सन्धिखर्क नगरपालिकामा १८ वटा, मालारानी गाउँपालिकामा १२ ओटा र छत्रदेव गाउँपालिकामा ५ ओटा पशुचौपाया मरेका छन्।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ। शितगंगा भित्र करिब ३ हजार गाईवस्तु संक्रमित भएका छन्। रोगबाट हालसम्म ६ हजार ८८० गाईभैँसी प्रभावित भएको भेटेरिनरी अस्पताल अर्घाखाँचीको तथ्याङ्कले देखाएको छ। यद्यपि सङ्क्रमित चौपायाको सङ्ख्या अझ बढी हुन सक्ने कार्यालयले जनाएको छ।

गुल्मीका १२ स्थानीय तहका पाँच हजार भन्दा धेरै गाईभैंसी लम्पी स्किन रोगको शिकार भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख भरत काफ्लेका अनुसार बुधबारसम्ममा जिल्लाभर १ सय ५१ गाईगोरु मरेका छन्।

५ हजार २० गाईभैंसीमा संक्रमण देखिएकामा १ सय ५१ गाईगोरु मरेका उनले बताए। गुल्मीमा झन्डै ३ प्रतिशत मृत्युदर देखिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका, रुरु क्षेत्र गाउँपालिकामा यसको प्रभाव बढी देखिएको छ।

दुध उत्पादनमा ६० प्रतिशतले कमी

लम्पी स्किल रोगको विशेषता नै गाईभैंसीको दुध उत्पादनमा ह्रास ल्याउनु देखिएको छ। गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा रहेको बम्घा दुध उत्पादन सहकारी संस्थाले एक महिना अँघीसम्म दैनिक ८ सय लिटर दुध जम्मा गरेर विक्रि वितरण गर्दै आएको थियो। तर अहिले दुधको मात्रा ह्वात्तै घटेको छ। आजभोली दैनिक ३ सयदेखी ४ सय लिटरसम्म मात्र जम्मा हुन्छ। जसले गर्दा माग धान्न गाह्रो भएको छ।

अर्घाखाँचीका पशुपालक कृषक खिम प्रसाद पाण्डेले दैनिक १७० देखी १८० लिटरसम्म दुध बेच्थे । अहिले उनले दैनिक ६० देखी ७० लिटरसम्म मात्र दुध बेच्छन्। पाँच ओटा गाई लम्पी स्किनकै कारण मरेपछी उनको दुध उत्पादनमा कमी आएको हो। बँचेका गाईभैंसीमा संक्रमण फैलिदाँ दुध उत्पादनमा ह्रास आएको उनको भनाइ छ।  

अर्घाखाँची दुग्ध व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष दुर्गा भुसालका अनुसार अहिले जिल्लाका डेरीहरुमा दुधको आंशिक अभाव रहेको बताए। ‘दुधको माग अनुसार परिपुर्ती गर्न धौ–धौ भएको छ,उनले भने,‘बिहानको बिहानै सकिने र बेलुकाको बेलुका नै सकिने अवस्था छ, प्रसस्त छैन।’

लम्पी स्किनको प्रकोप अघी १९ सयदेखी २१ सय लिटर दुध बजारमा आउने गरेकामा आजभोली ११ सयदेखी १३ सय लिटर मात्र बजारमा आपुर्ती गर्न सकिएको उनले बताए। लम्पी स्किन मात्र यसको कारण नभएर यो दुध कम हुने सिजन समेत भएको उनको भनाइ छ।

भैंसी भन्दा गाईगोरुमा संक्रमण बढी  

अर्घाखाँची र गुल्मीको तथ्याङ्क हेर्ने हो भने संक्रमण दर भैंसीमा भन्दा गाईगोरुमा बढी पाईएको छ । भैंसीको मृत्युदर झन् शुन्य जस्तै छ। दुई जिल्लाका संक्रमित करिब १२ हजार पशुचौपाया मध्ये भैंसी न्युन मात्रामा छन्। गाईगोरुको तुलनामा भैंसीको करिब १ प्रतिशत मात्र संक्रमणदर देखिन्छ।

केही स्थानका भैंसीमा संक्रमण देखिएपनि उनिहरुको अवस्था चिन्ताजनक नरहेको पशु प्राविधिकहरुको भनाइ छ। केही महिना यता संक्रमणको रूपमा फैलिएको लम्पी स्किनका कारण एउटा पनि भैंसी मरेको छैन। संक्रमणका कारण गाईपालक कृषकहरूले मात्र पशुधन गुमाएका छन्।

यो रोगको कुनै प्रभावकारी औषधी नभएको, चिकित्सकले भनेका औषधी सर्वत्र उपलब्ध नहुने भएको र सरकारले औषधी सहजरुपमा उपलब्ध नगराउँदा रोग नियन्त्रण गर्न कठिन बनेको दुग्ध व्यवसायी अर्जुन भुसालले बताए। स्थानीय सरकारले प्रयास गरेपनि पर्याप्त नभएको उनको भनाइ छ।

प्रकाशित: ३२ जेष्ठ २०८० १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App