९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सक्रिय बन्दै किशोरीहरु

नरहरिनाथ गाउँपालिकामा सचेतना जगाउदै किशोरीहरु

नरहरिनाथ गाउँपालिका–३ की १२ वर्षिय किशोरी सन्तुष्टी बुढा अहिले सिओसि सदस्य छिन्। उनी सिओसि कक्षामा सहभागी भएर विभिन्न कुरा सिकेको बताउँछिन्। उनले अहिले गाउँका अरु किशोरी हरुलाई पनि सिओसिमा आवद्ध हुन सुझाव दिन्छिन्। उनले गर्दा गाउँमा धेरै किशोर, किशोरी बालविवाह, छाउपडि प्रथा, छुवाछुत, लैङ्गकहिंसा गनुहुन्न भने सोचमा छन्।

विवाह गर्न हुन्न भन्ने होइन,‘किशोरी बुढाले भनिन्, ‘उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यो माग सम्बोधनका लागि गाउँमा हामीहरू जुटेका छौं ।’ ‘बालविवाह, छुई प्रथा जस्ता हानिकारक अभ्यास रोक्न हामी सक्रिय छौं,’ बुढाले भनिन्, ‘परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ भन्ने चेतना दिलाउन चाहन्छौं । बालविवाह रोकिरहेका छौं, महिनावारी भएका महिलालाई घरको सुरक्षित कोठामा बस्न भनिरहेका छौं।’

यी किशोरी दिउँसो विद्यालय शिक्षा आर्जन गर्ने र बिहान,बेलुका समाजको विकृतिहरूको सूक्ष्म अध्ययन गरिरहेका छन्। पहिले सामाजिक विषयमा सवाल उठाउँदा नपत्याउने भद्रभलादमी उनीहरूको कामप्रति साथ दिन थालेका छन्।

गाउँमा देखिएका बेथिति रोक्न किशोरी सक्रिय भएपछि स्थानीयहरू पनि उनीहरूप्रति निकै भरोसा राख्न थालेका छन्। उनीहरू गाउँमा भइरहने बालविवाह, छाउपडी प्रथा, बहुविवाह,जारी प्रथा, मदिरा सेवन तथा बेचबिखनदेखि लागूऔषध दुर्व्यसनी जस्ता क्रियाकलाप रोक्न एकजुट भएर अघि बढ्न थालेका छन् ।  

अर्की किशोरी मन्जु उपध्ययाले अन्धविश्वासले थिलथिलो बनेको समाजलाई सुधार्न लागेको बताइन्। ‘सानै उमेरमा विवाह गर्दा पुरुषले अर्की श्रीमती लिएर भाग्ने, एक महिलाले अर्को महिलालाई दमन गर्ने, छाउपडी हुँदा गोठमै सुताउनेदेखि पोषिलो खानेकुरा नदिने जस्ता काम अहिले पनि भइराखेका छन्,’ उनले भनिन्, ‘यी समस्या निर्मूल गर्न काँधमा काँध र हातमा हात मिलाएर अघि बढेका छौं ।’

छुई हुँदा गोठमा बस्दा महिलाहरू स्वास्थ्य समस्यामा परेका छन्। ‘हरेक हिसाबले हाम्रो समाज र समाजमा बस्ने दिदीबहिनी सुरक्षित हुन् भन्ने हाम्रो चिन्ता हो,’ उनले भनिन्, ‘मुख्यतः छुई भएको समयमा घरमा बसाल्दा देवता लाग्छ भन्ने भ्रम चिर्नुछ । हामी परिवर्तन भएर अरूलाई देखाउनुछ ।’  

२० वर्षपछि आफ्नो खुट्टामा उभिएर बुबाआमा पाल्ने हिम्मत राख्ने किशोरीहरू समाजमा छन्। ‘कम उमेरमा विवाह गर्दा परिवारको माया पाइँदैन,’ सहजकर्ता बसन्ती बुढाले भनिन्, ‘हामी आफू पनि बिग्रँदैनौं । अरूलाई पनि बिग्रन दिँदैनौं । छुई भएको समयमा घरमा बस्दा केही नहुने चेतना गाउँ समाजमा दिने गरेका छौं। बोल्न नजान्ने किशोर किशोरीलाई बोल्न सिकाएका छौं । छोरा छोरी बिचको विभेद कमगर्न,जातीय विभेद कमगर्न सचेतना जगाएका छौं।’

किशोरीहरू यसका लागि पटक पटक विद्यालयमा रहेका विद्यार्थीहरुसंग संवाद गर्छन्। उनीहरूले घरमा गएर बाजेबज्यै,बाआमा र समाजका अगुवालाई हानिकारक सामाजिक विकितीका विषयमा छलफल चलाउँदै आएका छ। उनीहरू सिओसी कक्षा सञ्चालन गरेर बालविवाह, बहुविवाह, छाउपडी प्रथा, हिंसाजन्य घटनाका बारेमा अध्ययनसमेत गर्छन्।  

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव  अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको साझेदारीमा बालविवाह,छिटो विवाह,जवरजस्ती विवाह न्युनिकरण परीयोजना र नेतृत्व र निर्णय परियोजना अन्तर्गत नरहरिनाथ गाउँपालिकाको २,३,८,र ९ मा आर्थिक वर्ष २०७९-०८० को प्रगती समिक्षा समेत प्रस्तुत गरीएको छ । यो कार्यक्रमले नरहरिनाथ गाउँपालिकाका १६०० जना किशोर किशोरीहरुको चेतनामा बद्धि भएको परियोनजाले जनाएको छ ।  

सामाजिक कुरीतिका विषयमा कक्षा सञ्चालन गरेका छन्। उनीहरूले कानुनी सजायबारे पनि सचेत गराउँदै आएका छन्। किशोरीहरुले चलाएको उक्त अभियान प्रभावकारी भएको रमा मा.वि विद्यालयका शिक्षक तपेन्द्र महताराले  बताए ।  उनले भने ‘विगतका वर्षको अनुभवमा सिओसिले मोडल शिक्षा,स्वास्थ्यमा धेरै सहयोग छ । सामाजिक विकृति रोक्न, बालबालिकामा लगानी गर्न वडा सरकार र पालिकाले विभिन्न कार्यक्रम गर्नुपर्छ ।’

प्रकाशित: ३१ जेष्ठ २०८० ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App