१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुधारिँदै सरकारी स्कुल, विद्यार्थी चाप थामिनसक्नु

अजित तिवारी/विनोद सुवेदी 

विराटनगर-२०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उत्तीर्ण भए। ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत। ८७ जना विद्यार्थीमध्ये २७ जनाले ए प्लस, ४५ जनाले ए र १५ जनाले बी प्लस ग्रेड ल्याए। यो सरकारी विद्यालयको नतिजा हो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।

                विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयले एसएलसीमा ‘जिब्रो’ नै टोक्ने गरी नतिजा ल्याउन थालेपछि यहाँका अन्य सरकारी विद्यालयले पनि त्यसको ‘रहस्य’ पत्ता लगाए र आफ्नो स्कुलको नतिजा पनि आश्चर्यजनक ढंगले बढाए । के छ त त्यस्तो रहस्य ? जुन ओरालो लागिरहेका विराटनगरका सरकारी स्कुलका लागि ‘सञ्जीवनी बुटी’ को काम ग¥यो ।

अंग्रेजी माध्यममा पढाइ, शिक्षक र व्यवस्थापन समितिको टिमवर्क र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ अवलम्बन गरेपछि सरकारी विद्यालयले पनि अब्बल नतिजा ल्याउन सक्छन् भन्ने प्रमाण विराटनगरका स्कुलले देखाइदिएका छन् ।

                पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार अंग्रेजी माध्यममा अध्यापन, निजी स्रोतबाट शिक्षक थप, पढाइको गुणस्तर सुधार, भौतिक र शैक्षिक पूर्वाधारमा सुधार गरेपछि त्यसको प्रभाव एसएलसी नतिजामा देखियो । बर्सेनि विद्यार्थीको चाप कम हुनु र परीक्षामा समेत खस्कँदो नतिजा आएपछि प्रधानाध्यापक भट्टराईलाई चिन्तित तुल्यायो । अभिभावकले पनि पढाइको स्तर खस्केकोमा गुनासो गरिरहे । भट्टराईले ‘एकपटक हेरांै न’ भन्दै अंग्रेजी माध्यमबाट अध्यापन गराउने सोच बनाए र अभिभावकलाई सुनाए । अभिभावकले सहयोग गर्ने वचन दिए ।

                प्रधानाध्यपाक भट्टराईले विराटनगरका बोर्डिङ स्कुलमा पढाउने शिक्षकलाई निजी स्रोतमा पोखरिया स्कुलमा नियुक्त गरे । विद्यार्थीलाई पोसाक र पढ्ने वातावरण बनाइयो । ‘यही कारण हो, विद्यालयको शिक्षाको सुधार आएको’, भट्टराईले नागरिकसँग भने, ‘राम्रो नजिता आएपछि विराटनगरका अरू स्कुलले पनि हाम्रै मोडेल पछ्याए ।’

                विराटनगरमा पोखरिया माविले २०६९ देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको थियो । अंग्रेजी माध्यमबाट पढेका विद्यार्थी २०७१ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी भए ।

 शिक्षक, अभिभावक र व्यवस्थापन समितिको टिमवर्कले प्रवेशिकाको नतिजा उत्कृष्ट भयो ।

अधिकांश सामुदायिक विद्यालयले पोखरिया माविकै सिको गरेपछि अहिले विराटनगरमा बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम बढेको छ । विद्यार्थीको चाप बढ्न थालेपछि सामुदायिक विद्यालयले भर्ना परीक्षा लिन थालेका छन् ।

हाल विराटनगरका तीनवटा विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् । सामुदायिक विद्यालयले विद्यार्थीका लागि गाडीको पनि व्यवस्था गरेका छन् ।

भर्नामा प्रवेश परीक्षा

                विराटनगरका बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न सक्ने रिजल्ट ल्याएपछि पोखरिया माविमा भर्ना हुन चाहने विद्यार्थीको ओइरो लाग्यो । विद्यार्थी आकर्षण बढेपछि विद्यालयले कोटा बढाउनुपरेको प्रधानाध्यापक भट्टराईले बताए । उनका अनुसार यस वर्ष सबै कक्षामा दुई सय ५० जना विद्यार्थी भर्ना लिने कोटा तोकिए पनि दोब्बर विद्यार्थीले आवेदन दिएपछि प्रवेश परीक्षाबाटै विद्यार्थी छनोट गरिएको छ ।

                विराटनगरकै सबभन्दा पुरानो सरकारी विद्यालय आदर्शले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउन थालेको छ । अंग्रेजी माध्यमकै कारण यस वर्ष एक सय ५० जनाको कोटाका लागि चार सय ८५ जनाले विद्यार्थीले प्रवेश परीक्षा दिए ।

                आदर्श विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या कोटाभन्दा बढी भएपछि विद्यालयले खुला प्रतिस्पर्धाबाट छनोट भएका विद्यार्थीलाई मात्रै भर्ना गर्दैछ । विभिन्न बोर्डिङ छाडेर आउन चाहने विद्यार्थीका कारण विद्यार्थीको चाप बढेको प्रधानाध्यापक दुर्गाप्रसाद चूडालले बताए । उनका अनुसार साना कक्षामा भन्दा माध्यमिक तहमा भर्ना हुन चाहनेको संख्या धेरै छ ।

                 चूडालले भने, ‘सरकारी विद्यालय नराम्रो भन्नेहरूलाई प्रवेश परीक्षामा उपस्थित विद्यार्थी संख्याले जबाफ दिइसकेको छ ।’

                चूडालका अनुसार विद्यालयले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीबाट वार्षिक १५ हजार, ६, ७, ८ मा १२ हजार र कक्षा ३ देखि ५ सम्म वार्षिक १० हजार रुपैया“ सहयोग लिने गरेको छ । यस्तै नर्सरीदेखि कक्षा ३ सम्म भने अंग्रेजी माध्यममा निःशुल्क पढाइ हुन्छ । सरकारले अंग्रेजी माध्यमका शिक्षक दरबन्दी कायम गरे अभिभावकबाट सहयोग नचाहिने चूडालले बताए ।

                विराटनगरस्थित सत्यनारायण माविमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढेको छ । २०७२ सालदेखि अंग्रेजी माध्यमबाट कक्षा सुरु गरेको विद्यालयमा एक सय ५० जनाको कोटामा तीन सय विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रधानाध्यापक धर्मानन्द खरेलले बताए ।

                ‘सरकारी विद्यालय जोगाउने भए शिक्षकले मेहनत गर्नेपर्छ’, उनले भने, ‘अभिभावकको मन जित्न अंग्रेजी माध्यम लागू गर्नेपर्छ ।’ इन्द्रपुरस्थित सुकुना मावि, पथरीस्थित पञ्चायत मावि, राधिका मावि, नगरग्राम मावि मा पनि अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

छात्रवृत्तिले पनि आकर्षण

                सामुदायिक विद्यालयका छात्रवृत्ति पाइने भएकाले पनि बोर्डिङ स्कुल छाडेर आउने विद्यार्थीको ता“ती लाग्न थालेको छ ।

                गत वर्ष एसएलसी पास गरेकामध्ये ५४ जनाले माहात्मा गान्धी छात्रवृत्ति पाएका थिए । उच्च शिक्षा अध्ययनका लागि दिइने  यो छात्रवृत्तिको रकम ७२ हजार रुपैया“ छ । पठनपाठन राम्रो र छात्रवृत्ति पाउने सम्भावना धेरै भएपछि बोर्डिङ छाडेर सामुदायिकमा भर्ना हुने प्रवृत्ति बढेको पोखरिया स्कुलका प्रधानाध्यापक भट्टराईले बताए ।

 

 

                 

 

प्रकाशित: ३० चैत्र २०७३ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App