coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लोकमार्ग कालोपत्रे नभएपछि बागलुङका स्थानीय आन्दोलित

लामो समयदेखि ठेकेदारको लाहपरवाहीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड सडक अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन्।

निर्माण कम्पनीको लाहपरवाहीले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका काठखोला गाउँपालिका—५ र ६ का स्थानीय आन्दोलित भएका हुन्। उनीहरुले लोकमार्ग कालोपत्रेको माग गर्दै ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन्।  

पटक–पटक म्याद थप गर्दा समेत मध्य पहाडी लोकमार्गको बागलुङ बजारदेखि बिहुँसम्मको २५ किलो मिटर कालोपत्रे नभएपछि स्थानीयहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका स्थानीयले निर्माण कम्पनीको कार्यालयमा ताला लगाएका हुन्। आन्दोलित स्थानीयले पटक पटक म्याद थपेर काम नगर्ने निर्माण कम्पनीको ठेक्क रद्द गर्न माग गर्दै निर्माण कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्। आफूहरुको माग पूरा नभएसम्मका लागि ताला नखोल्ने नागरिक आन्दोलनका अभियन्ता भरत सापकोटाले बताए।

‘हामीले विगतमा सडक कालोपत्र चाँडो गर्न घचघचाउँदै आएका थियौं, तर हामीसंग पटक पटक सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरिएको छ,’ उनले भने, ‘अब यो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्छ र यो सडक निर्माणको काम चाँडो गर्नुपर्छ भन्ने हाम्रो माग हो। माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’ आईतबार दिउँसो ११ बजेदेखि सुरु भएको आम नागरिकहरुको आन्दोलनले दिउँसो साढे १२ बजे कार्यालयमा ताला लगाएको हो। उनीहरुले करिब डेढ घण्टा सडक अवरुद्ध समेत पारेका थिए।

लोकमार्गको रुपमा काम थालिएपछि नयाँ ट्रयाक खोलिएका ठाउँहरुमा सडक कालोपत्रे भईसकेर पनि पुनः मर्मत गर्ने बेला भैसक्दा पनि अक्षेत बिहुँ खण्डमा काम नभएको र बर्खामा हिलो र हिउँदमा धूलोले स्थानीयलाई निकै सास्ती दिइरहेको भन्दै स्थानीय राजनीतिकर्मी, शिक्षक, विद्यार्थी र आम समुदायले सडक अवरुद्ध गर्दैै आन्दोलन तीब्र बनाएका छन् । सडक कालोपत्र नहुँदा विद्यालय जाने बालबालिकाले निकै सास्ती खेप्नु परेको विद्यार्थी प्रकाश कँडेल बताउँछन्। ‘या सडक कालोपत्रे नहुँदा सबैभन्दा धेरै सास्ती हामी विद्यार्थीले खेप्नुपरेको छ,’ कँडेल भन्छन्,‘हामी विद्यालय आउँदा जाँदा आउने सवारी साधनले उडाउने धूलोले गर्दा स्वास्थ्यमा समेत समस्या आउने गरेको छ।’

बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आन्दोलनको नेतृत्व गरिरहेको छ। निर्णायक आन्दोलनमा अगाडि बढेकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेल बताउँछन्। २१ गतेदेखि २५ गतेसम्म सरकारी नम्बर प्लेटका सबै सवारी साधनहरु आवतजावतमा रोक लगाईने, २६ गतेदेखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग पूर्णतः बन्द गर्ने आन्दोलनको कार्यक्रम रहेको उनले जानकारी दिए।  

‘यो हाम्रो निर्णायक आन्दोलन हो,’ उनले भने, ‘विगतमा पनि हामीले विगतमा पनि पटक आन्दोलन गरेर समयमै काम सक्ने बाचा गरेर आन्दोलन टुंग्याएको थियौं। अब समस्याको समाधान गर्ने ग्यारेन्टी नभएसम्म आन्दोलन रोकिन्न।’ जिल्ला प्रशासन कार्यालय मंगलबार बेलुका वार्ताका लागि बोलाएको उनले बताए। हामीलाई वार्ताका लागि गाउँपालिका आउन भनिएको छ, हामीले आन्दोलन भएकै ठाउँमा आउन भनेका छौं,’ उनले भने। सबै सरोकारपक्षलाई आन्दोलनबारे जानकारी गराएको र माग पूरा नभए सडक पूर्ण रुपमा बन्द गरिने उनले बताए।  

मध्यपहाडी लोकमार्गको माथिल्लो बिहुँ खण्डका निर्माणका लागि २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्नेगरी जिम्मा लिएको थियो। निर्माण कम्पनीको तर्फबाट सूर्य कन्ट्रक्सनले सुरुमा काम थालेकोमा पछि पेटी ठेकेदार रामकाजी श्रेष्ठको श्रेष्ठ निर्माण सेवालाई काम गर्न दिएको थियो। उनले पटक पटकका आन्दोलनमा उपस्थीत भएर काम सक्ने बाचा गरे पनि काम अगाडि बढेको छैन। निर्माण कम्पनीले हरेक असार मसान्तमा केही काम गरेजस्तो गर्ने र भुक्तानी लिएपछि वेपत्ता हुने गरेका छन्। मध्यपहाडी लोकमार्गले काम गरेको रकम समेत नदिएका कारण काम परा गर्न नसकेको श्रेष्ठले स्थानीयसंग बताउने गरेका छन्। 

लोकमार्गको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ—घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए। लोकमार्ग निर्माण आयोजना कार्यालय पर्वतले भने पटक—पटक म्याद थप्दा पनि काम पूरा नभएका कारण अब ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ।

‘हामीले धेरै पटक म्याद थपेर काम सक्न भन्यौं,’मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख कल्पना अधिकारीले भनिन्, ‘अब हामी ठेक्का रद्द गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तर्फ लागेका छौं। माथिल्लो खण्डको सूचना जारी भैसकेको छ । तल्ला खण्डको पनि भोली पर्सीमा सूचना प्रकाशित हुन्छ।’

पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदुरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ। लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ। लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी बागलुङ खण्डमा नै  १ सय ३४ किलोमिटर पर्छ।

प्रकाशित: २२ जेष्ठ २०८० १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App