२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुत्केरी कोसेली कार्यक्रमले विपन्न परिवारलाई राहत

सुत्केरी कोसेली दिँदै खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिशु नाथ। तस्बिर: नागरिक

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ।  

पालिकाले सुत्केरी अवस्थामा पोषिलो खाने कुरासँग जोडेर ल्याएको कार्यक्रमले विपन्न तथा गरिब परिवारका लागि ठूलो राहत पुगेको हो।

गाउँपालिका उपाध्यक्ष विशु नाथले दुर्गम तथा विपन्न गाउँ बस्तीका परिवारका लागि कार्यक्रमले ठूलो सहयोग पुगेको बताएकी छिन्।

नाथले भनिन्,'पालिकालाई थप खर्च बढेको अवस्था छ। सस्तो प्रचारका लागि पनि गरियो भन्ने विरोध पनि आएको हो, तर सुत्केरी आमाको अवस्था हेर्दा हामीले दिन सहयोग पनि निकै कम हो।'

कार्यक्रममार्फत सुत्केरीलाई अण्डा, खाद्यन्न, ध्यू, चिनी, तरकारी सहीतको सामान पालिकाले कोसेली मार्फत दिने गरेको छ। पालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम नै बनाएर वार्षिक बजेट विनियोजन गर्ने गरेको छ।  पालिकाका प्रत्येक वडामा नै पुगेर उपाध्यक्ष स्वयमले कोसेली दिने गरिएको छ। सुत्केरी आमासँग भेटपनि हुने, पोषीलो खाने कुरा खानका लागि सहयोग पनि हुने भएकोले कार्यक्रम दुबै तिरबाट सकारात्मक सन्देश जाने गरेको देखिन्छ।

आमा र बच्चामा देखिने कुपोषण दर घटाउनु पनि कार्यक्रमको अर्को उदेश्य राखिएको छ। बाजुराका सबैजसो पालिकामा कोसेली कार्यक्रम सञ्चालन गरिएको छ।

पालिकामा जन्मिने कुनै पनि बालबालिकाहरु कुपोषणको सिकार बन्नु नपरोस र आमाको स्वास्थ्यमा समेत समस्या नहोस् भन्ने मान्यता सहित सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बिशु नाथले बताइन्। 

गाउँपालिकाले कार्यक्रमकै लागि गत आर्थिक वर्ष २०७९/०८० मा पाँच लाख रुपैयाँ विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जैशीले बताए।

गाउँपालिकाले सुरु गरेको कोसेली कार्यक्रमले एक वर्षमा १८५ जना सुत्केरी महिला लाभान्वित भएका छन्। पहिलो वर्ष प्रत्येक महिलालाई तेल, अण्डा नेलकटर सावुन लगायतका झण्डै एक जना महिलालाई दुई हजार भन्दाबढीको पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने गरिएको छ।

पालिका अध्यक्ष दिलबहादुर रावतले दुर्गम गाउँका अधिकाशं महिलालाई गर्भवती भएको समयमा पेटमा राम्रो पोषिलो खाने कुरा नपाएर कयौँ बालबालिकाहरु कुपोषिणको सिकार बन्दै जानु पर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरेको बताए।

यता बुढीगंगा नगरपालिकाको नगर उपप्रमुख माया कुँवरले पनि सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै गएको बताएकी छिन्।  नगरपालिकाले यो वर्षबाट स्वास्थ्य संस्थाबाटै सहयोग दिने गरि कार्यविधी बनाएर कार्यान्वयन गर्ने तयारी गरिएको पनि उनले बताइन्।

बाजुरा पछिल्लो समय कुपोषण र गरिबीको उच्च चपेटामा परेको छ। कुपोषण मुक्त हुने गरि कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा पालिका देखिएका छन्। बुढीनन्दा, स्वामिकात्र्तिक खापर, जगन्नाथ, त्रिवेणी लगायतका पालिकामा पनि कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

प्रकाशित: २१ जेष्ठ २०८० ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App