coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा गरियो उद्धार तथा प्रतिकार्यकाे नमूना अभ्यास

पहिरो र आगलागीले जोखिम ठानिएको ताप्लेजुङमा यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मले सुरक्षा फौजको संयुक्त सहभागिता बिपद् जोखिम प्रतिकार्य अभ्यास गरेको छ। पहिरो र आगलागीलाई बिपद्का मुख्य आधार बनाएर शनिवार बिहान गुल्मको प्रांगणमा यस्तो नमूना अभ्यास गरिएको हो। 

सुरक्षा फौजको संयुक्त बिपद् प्रतिकार्य अभ्यासका क्रममा खोंचमा फसेका मानिसहरुको उद्धारका लागि गरिने कार्यको समेत नमूना अभ्यास गरिएको भीमकाली गुल्मका निमित्त गुल्मपति सहसेनानी गणेशबहादुर पराजुलीले जानकारी दिए । ताप्लेजुङ पहिरोका दृष्टीले जोखिमपूर्ण क्षेत्रमा पर्छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिका अनुसार मनसुन समयमा ताप्लेजुङका अधिकाँस क्षेत्रमा पहिरोको जोखिम छ । आगलागीजन्य घटनाका दृष्टीले समेत ताप्लेजुङ जोखिमपूर्ण मानिन गर्छ । आगलागीको जोखिम समय फागुन–जेठ सम्मको अवधि मानिएपनि यहाँ जुनसुकै समयमा पनि आगलागी हुने गरेको जिल्ला बिपद् व्यवस्थापन समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ ।‘पानी पर्ने समय असार–साउनमा समेत आगलागीका घटना भएका उदाहरण छन्’जिल्ला बिपद् व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले भने ।

पहाडी र हिमाली क्षेत्र भएका कारण यहाँ बारबार मानिसहरु पहरा र ढुङ्गाको खोँचमा समेत पर्ने गरेका छन्। घाँस दाउराका क्रममा समेत मानिसहरु चिप्लिएर पहरा र ढुङ्गाको खोंचमा पुग्ने गरेका कारण त्यो बेला गरिने उद्धार समेतलाई प्राथमिकतामा राखेर बिपद् नमूना अभ्यास गरिएको गुल्मले जनाएको छ। फुङलिङ नगरप्रमुख अमिर मादेनले यहाँ जुनसुकै समयमा बिपद्को जोखिम हुने भएकोले बिपद् जोखिम प्रतिकार्यमा खटिने टोली तयार रहने गरी गरिएको नमूना अभ्यास लाभदायक भएको प्रतिक्रिया दिए।

जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले यस्तो नमूना अभ्यासले प्रतिकार्यका लागि खटिने टोलीलाई आफ्नो कौशलता पुर्नताजगी बनाईराख्न तथा अन्य सरोकारवालालाई आफ्नो भूमिकाबारे जिम्मेवार बनाईराख्न सहयोग गर्ने बताईन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिएसपी)राजन लिम्बू मनसुनजन्य समय सुरु भईसकेको अवस्थामा सम्भावित जोखिम बारे बुझ्नु र बुझाउनु यो अभ्यासमुलक अनुशिक्षणको पहिलो ध्येय रहेको बताउँछन्। 

‘संयुक्त अभ्यासले बिपद् प्रतिकार्यका लागि संयुक्त परिचालनको आधार समेत बनाएको र बिपद् भईहाले त्यसबिरुद्ध खटिने जनशक्ति तयार हालतमा राख्नुपर्ने सन्देशप्रेरित गरेको छ’सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी बिनोद थापाले भने । नमूना अभ्यासका क्रममा रेडक्रसकर्मीहरुले उद्धार र त्यसपछिको प्राथमिक उपचारको भूमिका निर्वाह गरेका थिए भने ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सकले दोस्रो उपचार प्रकृयाको जिम्मेवारी लिएका थिए । कार्यक्रममाझ लिटलबुद्ध ईङ्लिस बोर्डिङ् स्कुलका राष्ट्रिय सेवा दल(एनसिसि)को तालिमप्राप्त बिद्यार्थीले ग्याँस सिलिण्डरबाट हुने आगलागीको जोखिम र जोखिम नियन्त्रणका उपायका बारेमा आफ्नो कला प्रस्तुत गरेका थिए ।‘दैनिक प्रयोगमा आउने ग्याँस सिलिण्डरबाट हुने आगलागीको जोखिम नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी बिद्यार्थीका माध्यमबाट अभिभावक सम्म पुगोस् भन्ने ध्येयले नमूना अभ्यास गरिएको लिटलबुद्धका प्रिन्सिपल युवराज गिरीले भने। 

प्रकाशित: २० जेष्ठ २०८० ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App