१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिचान पक्षधर आन्दोलन: २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी

फाइल तस्बिर।

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।

पहिचान पक्षधर आन्दोलनकारी र स्थानीय प्रशासनबीच मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको वार्तामा शान्तिपूर्ण आन्दोलन गर्ने विषयमा पहिचान पक्षधरले प्रतिबद्धता जनाएपछि पक्राउ परेका २६ जना आन्दोलनकारीलाई छाड्ने तयारी गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले शान्तिपूर्ण आन्दोलन गर्ने, शान्ति सुरक्षालाई खलल पुर्‍याउने गतिविधि नगर्ने र जेठ १७ गतेदेखि गर्ने भनिएको अमहड्ताल फिर्ता लिने सहमति भएपछि पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्‍याएर छाड्ने तयारी भइरहेको जानकारी दिए। आन्दोलनका क्रममा उसृङखल गतिविधि गरी तोडफोड एवं आक्रमणमा संलग्न भएको आरोपमा २६ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरिएको थियो।

मंगलबार दिउँसो प्रशासन कार्यालयमा पहिचान पक्षधरका नेता, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलगायतको उपस्थितिमा भएको छलफल र वार्ताबाट अब उप्रान्त आन्दोलनका क्रममा कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्धलगायतका शान्ति सुव्यवस्थामा असर पुर्‍याउने कार्यहरु नगरी कानुन सम्मत शान्तिपूर्ण कार्यक्रम गर्ने र प्रशासनले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छाडेपछि आम हड्तालको कार्यक्रम फिर्ता लिने निर्णयमा दुवै पक्ष सहमत भएका हुन्।

कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको प्रदेशको नाम हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। झापा र सुनसरीका ६–६, इलामका ५, मोरङका ४ र पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर एवं उदयपुरका १–१ जना पक्राउ परेका छन्।

प्रकाशित: १६ जेष्ठ २०८० १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App