२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१८ वर्षदेखि सरकारको एउटै भाषण: हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने टुंगो अझै छैन्

संघीय सरकारका विगतका १८ वटा बजेट भाषण हेर्दा एउटा विषय कहिल्यै छुटेको हुँदैन। त्यो हो, हुम्लालाई एक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। हुम्लामा एक वर्षभित्र सडक पुर्‍याउने भनेर घोषणा गरिएको १८ वर्ष पूरा भइसकेको छ। अझै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन।

साेमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषणमा पनि हुम्लालाई एक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने घोषणा गरे। कर्णाली करिडोरको सुधारका लागि ९७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी पनि दिए। यो कर्णाली करिडोरका लागि पर्याप्त बजेट होइन।

हुम्ला सदरमुकाम सिमकोटसम्म सडक पुर्‍याउन अझै पाँच किलोमिटर सडक खन्न बाँकी छ। हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भूगोल अहिले सेनाले छिचोल्छ अझै निश्चित छैन। बजेट भाषणमा भने हरेक वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भन्ने शब्द छुट्दैन।

६ वर्षयता नेपालमा तीन तहका सरकार छन्। संघ मात्रै होइन, प्रदेश सरकारले पनि हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि स्थापनाकालदेखिनै पहल गरिरहेको छ। २०७४ चैतको अन्तिम साता कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक मुगुको रारा ताल किनारमा बस्यो। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। प्रधानमन्त्रीलाई रारामा बोलाएर गरिएको मन्त्रिपरिषद्को बैठकले कर्णाली करिडोरको नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ नामकरण गर्‍यो।

यसको एउटै उद्देश्य थियो, दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएको कर्णालीलाई उत्तरको छिमेकी चीनसँग जोडिनका लागि कर्णाली करिडोरलाई संघीय सरकारले राष्ट्रिय गौरवको योजना घोषणा गरोस् भन्ने थियो। त्यसयता तीन जना प्रधानमन्त्री देशले पाइसकेको छ।

७७ जिल्लामध्ये हुम्ला सदरमुकाम अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्दै करिब १८ वर्षदेखि बजेट र नीति तथा कार्यक्रममा सरकारले समेट्दै आएको छ। तर अझै हुम्लावासीको सडक सपना पूरा हुन सकेको छैन।

हुम्लासँगै सडक पु¥याउने भन्दै बजेटमा नाम राखिएका मुगु र डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन्। तर हुम्ला अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन।

सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको ९७ करोड रुपैयाँ कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला र हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्मको सडक स्तरोन्नतिका लागि हो। खुलालुदेखि सल्लीसल्लासम्मको सडक नेपाली सेनाले निर्माण गरेको हो।

प्रकाशित: १५ जेष्ठ २०८० १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App