१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला हुलाक कार्यालय बाराका प्रमुख कुर्मी पक्राउ

बचतकर्ताको दुई करोड ७५ लाख रकम अपचलन गरेको आरोप

जिल्ला हुलाक कार्यालय कलैयाका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। बचतकर्ताको दुई करोड ७५ लाख रकम अपचलन गरेको आरोपमा कुर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हुलाक बचत बैंकबाट कुर्मीले दुई करोड ७५ लाख अपचलन गरेको कार्यको अनुसन्धान गर्न हुलाक विभागबाट पत्र नै आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए।

जिल्ला हुलाक कार्यालय कलैयाका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

२०७५ सालदेखि बचतकर्ताले खातामा जम्मा गर्न दिएको रकमलाई कुर्मीले बचतकर्तालाई रकमको रसिद दिने तर रकमलाई खातामा जम्मा गर्नुको साट्टो घरजग्गा किन्ने कार्यमा प्रयोग गरेर बचतकर्ताको रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको बोगटीले बताए।

हुलाक विभागको परिपत्रअनुसार बचतकर्ताको बचत रकम दुई करोड ७५ लाख रहेको छ भने त्यसको ब्याज जोड्दा चार करोडको हाराहारीमा पुग्ने बोगटीले बताए।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारा कलैयामा रकम जम्मा गरेका बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारीलाई महिना दिन पहिला गुहारेका थिए। हुलाक बचत बैंकले बचत रकम दिनमा आलटाल गरेको भन्दै बचत रकम फिर्ताका लागि पीडितले प्रजिअ नवराज सापकोटासमक्ष उजुरी नै दिएका थिए।

हुलाक विभागको परिपत्रअनुसार बचतकर्ताको बचत रकम दुई करोड ७५ लाख रहेको छ भने त्यसको ब्याज जोड्दा चार करोडको हाराहारीमा पुग्ने बोगटीले बताए।

हुलाक बचत बैंकमा ३८ लाख ५० हजारजति रकम जम्मा गरेका कलैया उपमहानगरपालिका १६ झिटकैयानिवासी रामएकबाल राय यादव, ५ लाख ८० हजार जम्मा गरेका विनोदप्रसाद कानु, १९ लाख ६० हजार जम्मा गरेका गणेश दास बानिया, ३८ लाख ५० हजार जम्मा गरेका प्रदिपकुमार गिरी, २१ लाख ५३ हजार रकम जम्मा गरेका मालतीदेवी चौधरी र ६ लाख २ हजार जम्मा गरेका मुक्तार शेखले हुलाक बैंकबाट फिर्ता रकम फिर्ताका लागि बाराका प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएका थिए।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारा कलैयामा रकम जम्मा गरेका २६ जनाले लगभग दुई करोड बचत रकम फिर्ताको माग गर्दै हुलाक बैंकविरुद्ध उजुरी आएपछि त्यसको छानबिन गर्न हुलाक विभागलगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा अनुसन्धानका क्रममा कुर्मी दोषी देखिएपछि उनी पक्राउ परेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारामा १४ सय बचतकर्ताले रकम जम्मा गरेका जिल्ला हुलाक कार्यालय बाराले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App