१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

आगलागीबाट क्षतिग्रस्त अवस्थामा रहेको पसल। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ।शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्बर पालले आगलागीबाट डेढ करोड बढी क्षति भएको जानकारी दिए। क्षतिको विवरण संकलन भएको छैन, तरपनि डेढ करोड बढीको क्षति भएको हाम्रो अनुमान छ,’ उनले भने।  

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ। आगलागी भएको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पालले बताए । पसल सञ्चालक माधव पोखरेलका अनुसार राती करिव पौने १२ बजेतिर एक्कासी आगलागी भएको थियो।  

समयमा दमकल नआउँदा बढी क्षति भएको उनको गुनासो छ। ‘दमकल समयमा आईपुगेको भए धेरै क्षति हुने थिएन, आगलागी भएको ४० मिनेटपछि मात्र दमकल आईपुग्यो,’ उनले भने।आगलागीबाट पसलमा रहेको फर्निचर, फर्निसिङका सामान, दराज, सोफा, पिफम, टेबुल, कुर्सी लगायत पूर्ण रुपमा जलेर नष्ट भएको पोखरेलले जानकारी दिए।  

घटनाका प्रत्यक्षदर्शी समेत रहेका स्थानीय कृष्णप्रसाद सुवेदीले दमकल समयमा नआउँदा धेरै क्षति भएको बताए । ‘आगलागी भएको देख्ने बित्तिकै दमकललाई बोलायौं, तर नेपालगन्ज उपमहानगरपालिकाको दमकल डेढ÷दुई किलोमिटर टाढा रहेको घटनास्थलमा पनि ४० मिनेटपछि मात्रै आयो,’ उनले भने।आगलागीमा परेर पसलमा काम गर्ने २८ वर्षिय अन्जन थापा घाइते भएका छन् । उनको अनुहार र खुट्टामा आगोले पोलेको प्रहरीले जनाएको छ।  

घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । समयमा दमकल नआउँदा क्षति धेरै भएको भन्दै नेपालगन्जका ब्यवसायीले आक्रोश पोखेका छन्। आगलागीको नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले निरीक्षण गरेका छन्।  

प्रकाशित: १३ जेष्ठ २०८० १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App