१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धनका लागी केचना–कञ्चनजंघाको स्थलगत अवलोकन

केचनादेखि विश्वको तेस्रो शिखर कञ्चनजंघा छेउसम्मको पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थलगत अवलोकन गरिएको छ।

टोलीमा इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ र सुनसरीका व्यवसायी र सरोकारवाला सहभागी भए। सुषुप्त पर्यटकीयस्थलको उजागर गर्ने र पहिचान भएका पर्यटकीय क्षेत्रको प्रचार गर्ने उद्देश्यले जेठ ७ मा केचनाबाट सुरु यात्रा ७ दिनपछि ताप्लेजुङ हुँदै पुनः इलाम आएर टुंगिएको छ।

केचनाबाट बाहुनडाँगी, अर्जुनधारा, पाथीभरा, कन्याम, अन्तु, फिक्कल, गुफापाताल, इलाम बजार, माइपोखरी, पानीटार, पाटेनागी, सिलौटी, लबे्रकुटी, फिदिम, जोरपोखरी, कालापानी, हिलिहाङ, च्याङ्थापु, चिवाभञ्ज्याङ, मेजरडाँडा, तिम्बुपोखरी, पाथीभरा र मिलुङलगायत पर्यटकीय क्षेत्रसम्म टोली पुगेको थियो।

आयोजक केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले यात्राले प्रदेशका विभिन्न जिल्लाका व्यवसायीबीच अन्तरक्रिया, अनुभव तथा अभ्यास आदानप्रदान भएको, सहकार्यको वातावरण बनेको र विभिन्न ठाउँका ‘टुर प्याकेज’ निर्माण गर्न सहयोग पुगेको बताए।

‘प्रत्येक पर्यटकीयस्थलको त्यहीं पुगेर जानकारी लिइएकाले व्यवसायी, पत्रकार, सरोकारवाला सबैलाई पर्यटन प्रवद्र्धनका क्रियाकलाप गर्न सहयोग मिलेको छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्र पुग्दैगर्दा स्थानीय सांस्कृतिक विशेषताबारे पनि जानकारी लिन पाइएको छ।’ उनले साविक मेची क्षेत्रका पर्यटकीयस्थलको प्रवद्र्धनमा मोरङ र सुनसरीका व्यवसायीले समेत समन्वय गर्नुपर्ने भएकाले उनीहरूलाई समेत यात्रामा सहभागी गराइएको बताए। ‘यो यात्राले स्थानीय सर्वसाधारणलाई पनि पर्यटनप्रति झक्झक्याएको छ,’ उनले भने, ‘पर्यटनलाई गति दिनसके यसले आर्थिक भरथेग गर्छ भन्ने चेतना सर्वसाधारणमा जागृत हुँदैछ।’

धौरालीले विश्वकै तेस्रो र देशकै दोस्रो शिखर कञ्चनजंघासमेत प्रचार अभावमा ओझेलमा रहेको जनाए। ‘झट्ट हेर्दा यो यात्रा साविक मेचीको भएपनि यसले प्रदेशभरकै पर्यटनमा सहयोगको आधार तयार पारेको छ,’ उनले भने, ‘विभिन्न ठाउँमा छलफल, अन्तरक्रिया र बैठकसमेत भएका छन्।’ उनले सिंगो प्रदेशकै पर्यटन प्रवद्र्धन गर्न सहकार्य र हातेमालोकै खाँचो रहेको पनि सुनाए। ‘३४ जना सहभागी टोलीले पहिचान भएका ४० र हुन बाँकी करिब २० पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ,’ धौरालीले सुनाए, ‘स्थानीय व्यवसायी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, प्रहरीलगायत टोलीमा सहभागी थिए। यात्राको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०८० ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App