२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कमिसनको चक्करमा कालिकोटमा खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ।

कर्णाली लगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमै चामल पाउनबाट वञ्चित भएका छन्। चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालिकोटमा खाद्यान्नका चरम अभाव भएको हो।

नेपालगन्ज र बर्दियाबाट समयमै चामल नआउँदा कालिकोटमा खाद्यान्न अभाव भएको छ। सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुनुले कालिकोटको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको हो।

गएको वर्षभन्दा पछिल्लो वर्ष चामल दोब्बरले बिक्री हुने गरेको कार्यालय प्रमुख कमलराज पाण्डे बताउँछन्। यो वर्ष मात्र जिल्लाभर ९ हजार क्विन्टल चामल बिक्री भएको छ। यो वर्षका लागि १२ हजार क्विन्टल माग गरिएकामा अहिले गोदाममा ३ सय मध्यम खाले अरुवा चामल मात्र छ।

गोदाम खाली भइसकेको छ भने चामल नेपालगन्जमा पनि छैन। दसैँसम्म पुग्ने गरी ३ हजार ५ सय क्विन्टल चामल माग गरिएको प्रमुख पाण्डेले बताएका छन्।

'यदि चामल माग गरेअनुसारको आएन भने अभाव हुने निश्चित छ,' उनले भने, 'जिल्लाको पादमघाट, खल्ला र थिर्पुका खाद्य डिपो समेत रित्तै छन्। जिल्लामै चामल छैन, डिपोमा कसरी हुनु? गाउँका डिपोका लागि ठेकेदारको लापरबाहीका कारण पनि समय नपुग्ने गरेको हो।'

प्रकाशित: १२ जेष्ठ २०८० १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App