पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा यहि जेठ १७ गतेदेखि २० गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो संस्करण हुन लागेको हो।
दोश्रो संस्करणसम्म भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण तीन वर्षदेखि रोकिएको महोत्सव यस वर्ष 'पर्यटनका लागि सबै मौषम' भन्ने मूल नाराका साथ हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ। महोत्सवको तयारी तिव्र पारिएको र हालसम्म ८० प्रतिशत तयारी सकिएको महोत्सव संयोजक ललित गुरुङले जानकारी दिए।
महोत्सवको अवसरमा आयोजित अन्नपूर्ण म्याराथन प्रमुख आकर्षणको रुपमा रहने जनाइएको छ। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिन अन्नपूर्ण आरोहण दिवसको अवसरमा पारेर महिला/पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक गुरुङले बताए। अन्नपूर्ण आधारशिविरबाट शुरु हुने म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुने छ।
अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनामा हुने प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले जानकारी दिए।
महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्यूजिकल चेयरलगायतका खेलकुद गतिविधिहरुपनि हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय व्यवस्थापक विक्रम गुरुङले जानकारी दिए । भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
महोत्सवको अन्य आकर्षणहरुमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राईडिङ गर्दै पर्यटकीय गाउँ घान्द्रुकको अवलोकन, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम हुने गुरुङले बताए ।
महोत्सवले पर्यटनमा छाएको मन्दीको संकट मोचन गर्ने अपेक्षा गरिएको स्थानिय समाजसेवी किसम गुरुङले बताए । 'कोभिड र अहिले छाएको मन्दीले पर्यटन व्यवसाय आक्रान्त छ । यो महोत्सवले पर्यटनमा देखिएको संकट मोचन गर्ने विश्वास हाम्रो छ’–उनले भने ।
प्रकाशित: ४ जेष्ठ २०८० ११:५० बिहीबार