coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेसीशहरमा हावाले हल्लिने २२ लाखको ‘डिस्प्ले बोर्ड’

लमजुङको सदरमुकाम बेसीशहर नजिकै रहेको मकैडाँडा टावर छेवैमा बेसीशहर नगरपालिकाले डिस्प्ले बोर्ड बनाएको छ। बोर्डमा अंग्रेजी भाषामा बेसीशहर नगरपालिका लेखिएको छ।

सामान्यतया यस्ता डिस्प्ले बोर्ड आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गराउन बनाइन्छ। अन्तर्राष्ट्रिय रूपमै थुप्रै देशहरुले आफ्नो ठाउँलाई चिनाउन र पर्यटक लोभ्याउन यस्ता साइन बोर्ड निर्माण गर्ने गरेका छन्। बेसीशहर नगरपालिकाले पनि सोही उद्देश्यका साथ डिस्प्ले बोर्ड बनाएको हो।

नेपालकै पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटार-मनकामना क्षेत्रमा पनि यस्ता आकर्षक डिस्प्ले बोर्डहरु देख्न सकिन्छ। जसले जो कोहीको पनि ध्यान सजिलै तान्छ। पर्यटकहरुको सोही आकर्षण र ध्यान तान्नका निमित्त बेसीशहर नगरपालिकाले पनि आफ्नो नगर क्षेत्र अन्तर्गत वडा नम्बर ६ मकै डाँडामा सोही सोचका साथ डिस्प्ले बोर्ड निर्माण गरेको हो।

तर विडम्बना नगरपालिकाले निर्माण गरेको डिस्प्ले बोर्ड आकर्षक देखिनु त पर को कुरा यसले झनै नगर क्षेत्र विरूप देखिएको छ। झट्ट हेर्दा उक्त डिस्प्ले बोर्ड छाँट नमिलेको जस्तो देखिन्छ। लगभग २२ लाखमा निर्माण सम्झौता गरी बनाइएको डिस्प्ले बोर्ड आकर्षक कम जोखिमपूर्ण धेरै देखिन्छ। निर्माण भएको केही समयमै भत्किन थालेपछि यसले थप खतरा बढाइदिएको छ। हावाकै कारण बोर्ड हल्लिने हुँदा अनुमानित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय त्रसित बन्न थालेका छन्। सोही डिस्प्ले बोर्डका कारण यतिखेर नगरपालिकाको सर्वत्र आलोचना भइरहेको छ।

नगरपालिकाले २०७७ साल चैत २५ गते डिस्प्ले बोर्ड निर्माण सम्बन्धी कार्यको बोलपत्र आव्हान गर्दै ई-बिडिङको सूचना प्रकाशित गरेको थियो। डिस्प्ले बोर्ड निर्माणका लागि नगरपालिकाले आ.व.०७८/०७९ को बजेटबाट ३३ लाख ८५ हजार तीन सय २२ रुपैयाँ विनियोजन गरेकाे थियो।

नगरपालिकाको बोलपत्र आव्हान पछि स्थानीय निर्माण कम्पनी श्रीकृष्ण निर्माण सेवा बेसीशहरले तोकिएको रकम भन्दा दश लाख कम अर्थात् २२ लाख ८० हजार ४५ रुपैयाँमा ५ महिनामा सक्ने गरी २०७८ असार ११ गते नगरपालिकासँग सम्झौता गर्‍यो।

उक्त निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि नगरपालिकाको बैठकले निर्माणको समय अवधि थप गरी वर्षदिन पछि मात्र निर्माण सम्पन्न पुरा भयो।

बेसीशहरका एक स्थानीयले नागरिक न्युजसँग कुरा गर्दै भने ‘सम्झौता भएको बजेट र निर्माण गरिएको डिस्प्ले बोर्डको अक्षर संख्या हेर्ने हो भने बेसीशहर नगरपालिका लेखिएको उक्त बोर्डको अक्षर संख्या २२ छ। र सम्झौता बजेट पनि २२ लाख, यसलाई सरल रूपमा हेर्दा एउटै अक्षर निर्माण गर्न एक लाख रुपैयाँ खर्च भएको देखिन्छ। र खर्च अनुसारको निर्माण भने नभएको जस्तो देखिन्छ।’

मकैडाँडा क्षेत्रकै अर्का एक स्थानीय नरेश रिमालले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘यसको व्यवस्था छिट्टै हुनुपर्छ यसलाई छिट्टै भनेर वर्ष दिन लगाउने काम नहोस् यस्तो भएको खण्डमा गाउँवासी लगायत मकै डाँडाका युवा मिलेर बोर्डलाई नै त्यहाँबाट हटाइने छ। तसर्थ छिटै सम्बन्धित निकायको ध्यानाकर्षण होस्।’

यस्तै अर्का एक स्थानीय भारत रानाले व्यंग्यात्मक रुपमा सामाजिक सञ्जाल मार्फत लेखेका छन् ‘जाबो २२ लाखमा त के आउँछ र आजभोलि ? बरु १२ लाख थपेर यसमै फिरफिरे जडान गरियोस्।’

उक्त बोर्डले प्राकृतिक सुन्दरता बिगारेको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै स्थानीयले नगरप्रमुख गुमानसिंह अर्याललाई ज्ञापन पत्र समेत बुझाएका छन्। मकै डाँडा युवा क्लबको नेतृत्वमा स्थानीयले नगरप्रमुख अर्याललाई ज्ञापन पत्र बुझाएका हुन्।

होर्डिङ निर्माण गर्नुको साटो उक्त स्थानसम्म जाने सडक सहज बनाउन र अन्य विकासका संरचनामा बजेट विनियोजन गर्न स्थानीयले नगरपालिकालाई  ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन्।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले भने निर्माण कम्पनीको लापरबाहीका कारण डिस्प्ले बोर्ड गतिलो बन्न नसकेको बताउँछन्।

‘हामीले डिस्प्ले बोर्ड बनाउन ३३ लाखको टेन्डर खोलेका थियौ। यहीको स्थानीय निर्माण कम्पनीले २२ लाख हाराहारीमा बनाउँछु भनेर कम टेन्डर हालेपछि सोही कम्पनी सँग सम्झौता भएको हो। कम्पनीले राम्रो सँग नबनाइदिँदा बोर्डको वल्डिङ नै हावाले दुई तीन ठाउँमा भाँचिएको छ। उहाँहरुलाई हामीले फेरि बोलाएर भाँचिएको ठाउँमा जडान गर्न लगाउँछौ।’

डिस्प्ले बोर्डलाई आकर्षित बनाउन उनले थप दश लाख थपेर बत्ती समेत जडान गर्ने र रङ रोगन गर्ने सुनाए।

यता निर्माण कम्पनीका संचालक श्री कृष्ण रिमालले भने नगरपालिकाको प्राविधिक टोलीले भने अनुरूप काम गर्दा डिस्प्ले बोर्ड यस्तो देखिन गएको सुनाउँछन्।

‘मलाई पनि यो डिस्प्ले बोर्ड आकर्षक लागेको छैन। नगरपालिकाको प्राविधिक टोलीले भने अनुसार नै हामीले काम गर्ने हो। आफ्नै हिसाबले बनाउने कुरा पनि भएन। हामीले कुरिनटारमा भएको जस्तो बोर्ड बनाउन सुझाव पनि दिएका थियौ। तर त्यो हुन सकेन।‘ उनले भने।

उनले उक्त डिस्प्ले बोर्ड बनाउँदा नगरपालिकाले टेन्डर आव्हान गरेको बजेट अर्थात् ३३ लाख नै खर्च भएको दाबी गरेका छन्। आफ्नो गाउँ/ठाउँ भएकाले निर्माण सम्झौता भएको बजेट भन्दा पनि बढी खर्च गरेको उनको भनाइ थियो।

‘हामीले यो बनाउँदा हाम्रो ३३ लाख नै खर्च भएको छ। नगरपालिकाले सुरुमा आव्हान गरेको बजेटमा हामीले घटाएर हाले पनि आह्वान गरेकै जति बजेटमा काम गरेका छौं‘  उनले भने।

१० मिटर अग्लो र झण्डै ६० मिटर लामो डिस्प्ले बोर्ड नगरपालिकाकै डिजाइन अनुसार तयार भएको नगरपालिकाका इन्जिनियर विशाल ढकालले बताए।

ढकालका अनुसार निर्माण कम्पनीसँगको सम्झौता अनुसार अन्तिम भुक्तानी भएको १३ महिनासम्म बोर्ड बिग्रिएमा वा त्रुटि भेटिएमा कम्पनीले नै बनाउने गरी सम्झौता भएको छ। उनले डिजाइनमा कमजोरी नभएको र वोल्डडिङ छुटेको कारण हल्लिन थालेको जिकिर गरे।

‘पहिला डाँडाकोबिचमै बनाउने भनेता पनि स्थानीयहरूको अवरोधका कारण त्यहाँ हुन सकेन। पछि डाँडाको टुप्पोमै बनाउने सम्झौता भएको हो। एक त हावा लाग्ने ठाउँ भएको हुँदा कुरिनटारको जस्तो बोर्ड बनाउन पनि सम्भव थिएन। अझ त्यो भन्दा पनि ठुलो र बलियो बनाउन ठुलै फलामको प्रयोग गरेर उक्त बोर्ड निर्माण गरिएको हो।’ उनले नागरिकसँग भने। 

उनले फलाम महँगो हुने भएकाले धेरै बजेट लागेको बताए। बोर्डमा कलरको कमी, पृष्ठ भूमिका कारण र बजेट पर्याप्त नहुँदा आकर्षण नदेखिएको उनको दाबी थियो।

‘अनियमितता भएको छैन। डाँडामा भएर केही समस्या आएको हो। अब त्यसैलाई कसरी बलियो बनाउने र व्यवस्थित गर्ने भनेर छलफल गर्नेछौँ।’ उनले भने।

सम्बन्धित निकायहरूले एक अर्का प्रति दोषारोपण गर्ने र प्राविधिक त्रुटि देखाएता पनि यस डिस्प्ले बोर्ड बनाउँदा नगरपालिकाको बजेट भने बालुवामा पानी हाले सरह भएको प्रष्ट देखिन्छ।

प्रकाशित: ४ जेष्ठ २०८० १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App