coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजमार्गको मुख्य नाकामा सिसी क्यामरा

कर्णाली राजमार्ग छिर्ने मुख्य नाकामा सिसी क्यामरा जडान गरिएको छ। सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्गसहित बडिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो।  

बराहताल गाउँपालिका र अस्थायी ट्राफिक पोस्ट बडिचौरको आयोजनाका सिसी क्यामरा जडान कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले उद्घाटन गरेका हुन्। बराहताल गाउँपालिकाले शान्तिसुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बडिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो। राजमार्ग र बजार क्षेत्रमा ८ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ। शान्ति सुरक्षाका लागि सिसि क्यामरा मेरुदण्डका रूपमा रहने बराहताल गाउँपालिका–५ का वडाध्यक्ष धिमराज जुल्मी मगरले बताए।  

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरिएको बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले बताइन्। बजार क्षेत्रका हरेक चोक र स्थानहरूमा सिसी क्यामरा राख्दा घटनाहरू कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटनाहरू न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) ढकालले बताए। ‘सिसी क्यामरा सुरक्षा व्यवस्थापनको आधुनिक र प्रभावकारी उपरकरण हो,’ डिआइजी ढकालले भने, गाउँपालिकाको सह्रानीय कामले शान्तिसुरक्षा अमन चयन गराउन सहयोग हुनेछ।’ राजमार्ग तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरीडकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ। पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए।

प्रकाशित: २ जेष्ठ २०८० ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App