१५ चैत्र २०८० बिहीबार
समाज

लोप हुँदै इतिहास बोकेका रुख

इचंगुनारायणमा रहेको दुई सय वर्ष पुरानो नागेश्वरको रुख। यो रुख नालापानी युघका नायक बलभद्र कुँवरले लगाएका थिए। तस्बिरः वसन्त खड्का

काठमाडौं– काठमाडाैंको कालिमाटी चोकमा २०२२ सालसम्म एउटा ठूलो खरीको बोट थियो। त्यो रुखमा बनेको चौतारो स्थानीय तथा काठमाडौं आउनेजानेका लागि समेत भेटघाट तथा दुःख बिसाउने थलो बनेको थियो। 

वन विभाग तथा वनस्पति विभागसँग यस्ता ऐतिहासिक रुखबारे कुनै विवरण नै छैन। जानकारी नराख्नुको कारणबारे ती निकायसँग जिज्ञासा राख्दा वनस्पति विभागले यस्ता रुखको संरक्षण गर्ने निकाय वन विभाग भएको बतायो।

२०२२ मा सडक विस्तार गर्दा उक्त रुख काटिएपछि रुखको आडैमा घर भएका मधुकर महर्जनले चिनारीका लागि फलामको कृत्रिम रुख बनाएर घरको पहिलो तलामा राखेका थिए। अहिले पनि महर्जनका नाती पुस्ताले उक्त कृत्रिम रुखलाई चिनारीको रुपमा राखेका छन्। सो कृतिम रुखबारे जिज्ञासा राख्दा मधुकरका नाती सञ्जिव महर्जन भन्छन्, ‘पहिले खरिको बोट रहेको यो ऐतिहासिक ठाउँ उपत्यकावासीका लागि चर्चित स्थल थियो। अहिले पनि मानिस त्यो खरीको रुखबारे सोध्दै आउँछन्, त्यसैको चिनारीका लागि कृतिम रुख राख्नुपरेको हो।’ 

त्यस्तै, काठमाडाैंको इचंगुनारायणस्थित हाल नागार्जुन नगरपालिका–३ मा दुई सय वर्ष पुरानो नागेश्वर (मेसुवा फेरिया ) को रुख छ। धार्मिक तथा आयुर्वेदिक महत्त्वसमेत बोकेको उक्त रुख सन् १८७२ मा नालापानी युद्धका नायक बलभद्र कुँवरले रोपेको बताइन्छ। श्रीलंका, भारतलगायत मुलुकमा पाइने उक्त प्रजातिका रुख हाल लोप हुने अवस्थामा पुगेको छ। होमलगायत धार्मिक प्रयोजनमा उपयोग हुने उक्त रुख कुँवरको भग्नावशेष घरनजिकै सडक छेउमा संरक्षण पर्खाइमा छ। नालापानी युद्धका नायक कुँवरसँग साइनो जोडिएको यो रुखबारे सरकारी निकायलाई जानकारी नै छैन। रुख संरक्षण गर्ने आधिकारिक निकाय वन विभागले उक्त रुखबारे अनभिज्ञता प्रकट गर्दै नेपालमा एउटा/एउटा रुख संरक्षण गर्ने प्रचलन नरहेको प्रतिक्रिया दिएको छ। विभागका सूचना अधिकारी चन्द्रमान डंगोल विदेशमा ऐतिहासिक महत्त्व बोकेका रुख संरक्षण गर्ने प्रचलन रहे पनि नेपालमा त्यस्तो नरहेको बताउँछन्। स्थानीय तथा कुँवरका पनाती रामराजले ऐतिहासिक महत्व बोकेको उक्त रुख संरक्षणमा सरकारी निकायले कुनै चासो नदेखाएपछि आफैंले पहल गरिरहेको बताए।   

त्यस्तै, काठमाडाैंकै टेकुमा सहिद शुक्रराज शास्त्रीको इतिहाससँग जोडिएको झन्डै सय वर्ष पुरानो खरीको रुख  छ। तत्कालीन राणा शासकले प्रजातन्त्रको पक्षमा वकालत गरेको आरोपमा शास्त्रीलाई त्यही रुखमा झुन्ड्याएर मारेका थिए। ऐतिहासिक महत्त्व बोकेको यो रुखको पनि पर्याप्त संरक्षण हुन सकेको छैन । उक्त रुखमा शुक्रराजलाई झुन्ड्याइकै ७६ वर्ष पुगिसकेको छ। त्यो घटनाभन्दा पहिलेदेखि नै  अस्तिŒवमा रहेको उक्त रुखको सामान्य आयु सय वर्ष हाराहारीमा मात्र हुने डंगोलको भनाइ छ। सडक छेउमा रहेको उक्त रुख कुनै पनि बेला नासिने खतरा रहेको स्थानीय बताउँछन्।  
लेखक सौरभले आफ्नो पुस्तक ‘असहमति’ मा  प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८६३ मा पशुपतिमा विश्वरुपा मन्दिर बनाई त्यसको पश्चिमतर्फ काँडे सल्ला (अर्कारिया विडविली) को रुख रोपेको उल्लेख गरेका छन्।  मुख्यगरी चिलीमा पाइने यो रुख अहिले पनि पशुपति मृगस्थलीमा पाइन्छ। जंगबहादुरकै छोरा जगतजंगले सन् १८८० को दशकमा गोठाटार मनोहरास्थित दरबारमा लगाएको काँडे सल्ल्ला पनि हालसम्म अस्तित्त्वमै छ। तर त्यसबारे पनि सरकारी निकायले अनभिज्ञता प्रकट गरेको छ। 

नेपालको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार परिसरमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले रोपेको आँपको रुख अहिले पनि छ। उक्त रुख पनि संरक्षण पर्खाइमा छ। त्यस्तै चन्द्रसमशेरले नै लगाएको थलकमल (म्याग्नोलिया) का दुइटा रुख पनि सिंहदरबारभित्र छन् । फरक–फरक प्रजातिका थलकमलमध्ये सिंहदरबारभित्रका ती रुख कुन प्रजातिका हुन भन्नेबारे  अध्ययन हुन सकेको छैन। ती रुख पनि लोप हुने अवस्थामा छन्। 

नेपालबाट जापान गएका सुबेदार चन्द्रबहादुर थापाले फर्कंदा जिंको बाइलवा नामक रुखको विरुवा नेपाल ल्याएका थिए। झन्डै एक सय वर्ष पहिले ल्याइएको उक्त विरुवा सहिदगेट नजिकै रोपिएको वन विभागका सूचना अधिकारी डंगोलको भनाइ छ। उक्त रुखलाई  सडक विस्तारक्रममा सहिदगेटबाट उखेलेर गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा लगेर लगाइएको थियो। सो रुखको  संरक्षण कार्य भइरहेको वनस्पति विभागले जनाएको छ। मुख्य उद्गमस्थल चीन भएको यो रुख त्यहाँको राष्ट्रिय रुख  पनि हो। 

सन् १८३८ मा पुष्करजंग शाहले हालको नारायणहिटी दरबार संग्रहालय परिसरमा मसला (युकलिप्टस ग्य्रान्डिस) को रुख लगाएका थिए। उक्त रुख नयाँ नारायणहिटी दरबार निर्माण गर्दा सन् १९७० मा काटिएको थियो। सन्  १९९० पछि सडक विस्तार गर्दा टुँडिखेल तथा आसपासका कयाैं ऐतिहासिक रुख काटिएको इतिहासविद् बताउँछन्। केही बाँकी रहेका रुखसमेत लोप हुने अवस्थामा छन्। वन विभाग तथा वनस्पति विभागसँग यस्ता ऐतिहासिक रुखबारे कुनै विवरण नै छैन। जानकारी नराख्नुको कारणबारे ती निकायसँग जिज्ञासा राख्दा वनस्पति विभागले यस्ता रुखको संरक्षण गर्ने निकाय वन विभाग भएको बतायो। वन विभागले विरुवा रोप्ने काम आफ्नो भए पनि एक÷एक गरी संरक्षण गर्न नसकिने जनाएको छ।  

 

 

प्रकाशित: १८ फाल्गुन २०७३ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App