२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

गाउँपालिकाले हालै बनाएको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषयवस्तुहरू समेटेको हो। गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार हाम्रो पचालझरना नामक पुस्तक तयार गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।

जसमा हाम्रो पचालझरना, हाम्रो कला, संस्कार र संस्कृति, हाम्रो स्थानीय पेसा व्यवसाय, पर्यटन र आर्थिक क्रियाकलाप, हाम्रा रैथाने बालीहरू, जीवन उपयोगी सीपहरू, स्थानीय जडीबुटीहरू, विपद् व्यवस्थापन र हरित विद्यालय र अन्तिममा १० वर्षे जनयुद्ध भनेर आठ वटा खण्डहरू समावेश गरेको छ।

स्थानीय स्रोत, पर्यटन, धार्मिक तथा ऐतिहासिक सम्पदाहरू र जनयुद्धलाई समेत महत्त्व दिएर विस्तृत रुपमा समेटिएको उक्त पुस्तक कक्षा १ देखि ८ सम्मलाई पाठ्यक्रम बनाएर एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष बबिता बम, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिक, शिक्षा शाखा प्रमुख नमराज शाही लगायतको उपस्थितिमा पुस्तक सार्वजनिकसँगै विद्यालयलाई हस्तान्तरण गरिएको हो।

हालसम्म जिल्लाका ९ वटा पालिकामध्ये पचालझरना र महाँवै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेका छन्। अन्य ७ पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छैनन्।

पचालझरना गाउँपालिका शिक्षा शाखा प्रमुख नमराज शाहीले गाउँपालिकाको हावापानी, भूगोल, प्राकृतिक श्रोत साधन र स्थानीय नागरिकहरूको पेसा व्यवसायलाई टेवा पुग्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए।

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले सो पाठ्यक्रममा १० वर्षे जनयुद्धका विषयमा पनि पछिल्ला पुस्ताहरूलाई जानकारी दिन उपयोगी भएको हुनाले स्थानीय पाठ्यक्रममा नै समावेश गरिएको बताए।

उनले भने, ‘१० वर्षे जनयुद्धमा कालिकोटबाट मात्र ५ सय २६ जनाको बलिदानी छ। पचालझरना गाउँपालिकाबाटै झण्डै एक सय जना जतिको बलिदानी छ। त्यो जनयुद्धको बलिदानी र नयाँ पुस्तालाई त्यस विषयमा जानकारी दिन हामीले स्थानीय पाठ्यक्रममा १० वर्षे जनयुद्ध समेटेका हौँ।’

प्रकाशित: ३० वैशाख २०८० १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App