एक महिना अघि मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा रहेको नवीन डिस्ट्रिव्यटर्सबाट एलइडी टिभी (टेलिभिजन) चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नवीन डिस्ट्रिव्यटर्सको गोदामबाट २१ थान टिभी चोरी गरेको आरोपमा बुढीगंगा–४ कै २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका २ जनासहित फरार भएका थप १ जना मिलेर गत चैत २८ गते गोदामको झ्याल फुटाएर ३९ इन्चको २१ थान एलइडी टिभी चोरी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
बुधबार राति पक्राउ परेका उनीहरुबाट चोरी भएको मध्यै १५ थान टिभी बरामद भएको बताउँदै डिएसपी दाहालले भने, ‘चोरी गरिएका १ थान टिभी आफ्नै घर नजिकै माटोले छोपेर लुकाई राखेको, ६ थान घरमै लुकाएर राखेको र ८ थान विराटनगर, बुढीगंगा तथा सुनसरीका विभिन्न स्थानमा सस्तो मूल्यमा बिक्री गरेको स्थानबाट टिभी बरामद गरिएको हो।’
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले गोदाम फुटाएर एकै रात २१ वटा टिभी चोरी गरिएकोमध्ये १५ वटा बरामद गरी सकेकाे र अन्य ६ थान फेला नपरेको र खोजी कार्य जारी रहेको बताए।
घटनामा संलग्न फरार एक जनाको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरुबाट अरू टिभी र फरार भएका व्यक्तिबारे चाँडै थाहा हुने एसपी पोखरेलले बताए।
चोरी भएको टिभीको अनुमानित बजार मूल्य साढे ९ लाख बराबर रहेको छ। पक्राउ परेका विरुद्ध चोरी मुद्दामा अदालतबाट बिहीबार म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०८० १३:२२ बिहीबार





