२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

वीरगन्ज प्रतिबन्धित लागु औषधको ‘ट्रान्जिट पोइन्ट’

वीरगन्ज प्रतिबन्धित लागु औषधको ट्रान्जिट हब बन्दै गएको छ। भारतबाट पछिल्लो समय विशेष गरी नेपालमा प्रतिबन्ध लागु औषध भित्रिन थालेको पाइएको छ।

प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा मात्रै एक लाखको हाराहारीमा प्रतिबन्धित लागु औषध फेनारगन, नुर्फिन, डाइजापेम र कोरेक्स बरामद भएको डरलाग्दो तथ्यांक छ।

यही वैशाख १२ गते पर्सा प्रहरीले वीरगन्ज १६ बस्ने बब्लु पाठकलाई ४ हजार २ सय एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गर्‍यो।

नियमित जाँच गर्ने क्रममा बीरगन्जबाट प्रहरी पाठकलाई भारतबाट आउँदै गरेको ना १ ज २०३७ नम्बरको सुमोसहित पक्राउ गरेको थियो। सुमोसहित पक्राउ परेका पाठकलाई प्रहरीले लागु औषध सम्बन्धीको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

चैत्र १७ गते वीरगन्जबाटै हेटौडा १ बस्ने संजीव केशरी प्रतिबन्धित लागु औषधसहित पक्राउ परे। भारत विहार रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा पर्सा प्रहरीले उनलाई ६ सय पीस नाइट्राभेटसहित नियन्त्रणमा लियो।

प्रहरीले पाठकलाई ना ३२ प ९४०३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। पाठकविरुद्ध लागु औषध सम्बन्धीको कसुरमा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरी भनाई छ।

सोही दिन प्रहरीले चितवन ४ भरतपुर निवासी विशाल श्रेष्ठलाई पनि प्रतिबन्धित लागु औषधसहित पक्राउ गर्‍यो। प्रहरीले उनलाई १४१ पीस फेनारगन, नुर्फिन र डाइजापेमसहित नियन्त्रणमा लियो।  

कति बरामद, कति पक्राउ?

प्रतिबन्धित लागु औषधसहित वीरगन्जबाट पाठक, केशरी र श्रेष्ठ मात्रै पक्राउ परेका छैनन्। यो संख्या लामै छ।

पछिल्लो तीन वर्षमा प्रतिबन्धित लागु औषधसहित वीरगन्जबाट सवा सात सय भन्दा बढी पक्राउ परेको प्रहरी तथ्यांक छ।

आर्थिक वर्ष ०७७/०७८ देखि चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३७ जना पक्राउ परेको प्रहरी अभिलेख छ। आव ०७८/०७९ मा ९५, ०७९ /०८० मा ३१८ र चालू आवमा ३२४ जना पक्राउ परेका प्रहरी रेकर्ड छ।

यही अवधिमा पर्सा प्रहरीमा ५४४ वटा प्रतिबन्धित लागु औषधको मुद्दा दर्ता रहेको प्रहरी तथ्यांक छ।

भारतबाट सिधै वीरगन्ज नाका भएर प्रतिबन्धित लागु औषध भित्रिने गरेको प्रहरी तथ्यांकले देखाइरहेको छ। आव ०७७/०७८ देखि ०७९/०८० सम्ममा ९६ हजार ९५ वटा प्रतिबन्धित लागु औषध फेनारगन, डाइजापाम, नुर्फिन, कोरेक्स बरामद भएको छ, जुन डर लाग्दो तथ्यांक हो।

कहाँ कहाँ पुग्दैछ ?

वीरगन्ज नाकाबाट प्रतिबन्धित लागु औषध देशका अधिकांश ठाउँमा गइरहेको प्रहरी तथ्यांकबाट खुलेको छ।

पक्राउ परेकाहरुको तथ्यांक हेर्ने हो भने देशको राजधानी सहित पर्सा, बारा, मकवानपुर, चितवन, पोखरासहितका ठाउँमा गइरहेको पाइएको छ।

लागु औषध कारोबारको पछिल्लो समय वीरगन्जको मात्रै नभएर देशकै जटिल समस्या बन्दै गएको पर्सा प्रहरीको भनाई छ।

पर्सा प्रहरी प्रमुख (एसपी) कोमल शाह भन्छन्, ‘प्रतिबन्धित लागु औषध रोकथामका लागि प्रहरीले हरेक रणनीति अपनाइरहेको छ तर खुल्ला सीमाका कारण यसको नियन्त्रणमा कठिनाइ आइरहेको छ। तर यो भन्नुको अर्थ प्रहरी यसमा चुकिरहेको भन्ने होइन।’

लागु औषध रोकथामका लागि प्रहरी प्रधान कार्यालयको पनि विशेष नीति छ रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पर्सा प्रहरी पनि त्यो नीतिलाई पूर्णरुपमा लागु गरेर अघि बढ्दैछ, यो मुद्दामा प्रहरी चुक्दैचुक्दैन।’

तर पूर्व प्रहरी अधिकारीहरु भने प्रहरीको निष्क्रियताले लागु औषधको कारोबार बढिरहेको तर्क गर्छन्। नाम नराख्ने सर्तमा पर्सामा काम गरिसकेका एक पूर्व एसपी भन्छन्, ‘प्रहरीको निष्क्रियताले यो समस्या बढ्छ, अलिकति आफ्नो सक्रियता बढाइदियो भने यस्ता कारोबारहरु आफै घटन थाल्छ।’

प्रकाशित: २८ वैशाख २०८० ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App