९ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

‘सफा सहर’ तर्फ रूपान्तरण हुँदै वीरगन्ज

फाइल तस्बिर।

वीरगन्ज महानगरले सडक पेटीमा जथाभाबी फोहोर गर्नेहरुविरुद्ध  कारबाही अभियान चलाएको छ।

जथाभाबी सडक पेटीमा फोहोर फ्याँक्दा सहर नै दुर्गन्धित भएको बताउँदै सडक पेटीमा फोहोर फ्याल्नेमाथि कारबाही सुरु गरिएको महानगरले जनाएको छ। सामान्य परिवारदेखि सांसदसम्मका होटललाई समेत कारबाही गरिएको महानगरले जनाएको छ।

वीरगन्ज बाइपासमा बस्ने बैजनाथ राउत पटेलले महानगरपालिकामा अढाई हजार जरिवाना तिरे। सडक पेटीमा जथाभाबी फोहोर फ्यालेबापत पटेलले यही बैशाख ४ मा महानगरपालिकाको राजश्व शाखमा २ हजार पाँच सय जरिवाना बुझाएका हुन्।

वैशाखमा मात्रै होइन चैत महिनामा पनि जथाभाबी सडक पेटीमा फोहोर फ्याल्ने विरुद्ध कारबाहीको ऐजेण्डा चलाइएको छ। चैत ३ गते सडक पेटीमा फोहोर फ्याल्ने रितेश गुप्ताबाट पनि महानगरले ५ सय जरिवाना असुल गर्‍यो। वीरगन्जकै घण्टाघर अगाडि फोहोर फ्यालेको देखेपछि महानगरले उनलाई ५ सयको जरिवाना पुर्जी काट्यो।

२९ चैतमा सीता अस्पताललाई पनि कारबाही भयो। नजिकैको सडकमा फोहोर गरेपछि महानगरले अहिलेसम्मको सबै भन्दा ठुलो राशीको कारबाही गरेको छ। सीता अस्पतालबाट महानगरले ५१ हजार जरिवाना असुल गरेको हो।

सर-सफाई अभियानविरुद्ध अटेरी गर्ने वीरगन्जका पटेल, गुप्ता र सीता अस्पताल मात्रै छैनन्। यो संख्या लामो छ। अर्थात् पछिल्ला ४ महिनामा ३८२ जनाले वीरगन्जमा जथाभाबी फोहोर फ्यालेको महानगरको रेकर्डमा उल्लेख छ। यसलाई मासिकरुपमा हेर्ने हो भने ९५ जना भन्दालाई हरेक महिना कारबाही भएको देखिन्छ।

महानगरले चलाएको अभियानबाट बिहीबार (आज) सम्ममा सडकपेटिमा फोहोर फाल्नेहरुबाट सवा ९ लाख भन्दा बढी राजश्व संकलन भएको छ।

१७ पुसबाट सडक पेटीमा जथाभाबी फोहोर फ्याल्ने विरुद्ध चलाइएको अभियानबाट अहिलेसम्म ९ लाख २५ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन भएको महानगरका सरसफाई व्यवस्थापन शाखा प्रमुख सरफुद्दिन मियाँले जनाए।

उनले भने, ‘यसमा घरबाट निस्केको फोहोर फ्याल्नेलाई मात्र नभई संस्था, अस्पताल, शिक्षण संस्था, होटललाई समेत कारबाही गरिएको छ, कसैलाई पनि छाडिएको छैन।’

जथाभाबी फोहोर फ्याल्ने परम्पराबाट निरुत्साहित पार्नका लागि वीरगन्जमा महानगरले यो अभियान चलाएको उनको तर्क छ। 

पूर्व सभासद् रुँग्टाका होटललाई समेत कारबाही गरी जथाभाबी सडकमा फोहोर फ्याल्ने कसैलाई पनि नछाडिएको महानगरले जनाएको छ। सामान्य परिवारदेखि लिएर सांसदलाई समेत कारबाहीको दायरामा ल्याइएको सर-सफाई व्यवस्थापन शाखा प्रमुख मियाँ बताउँछन्।

अभियानको असर

‘फोहोरको सहर’ को रुपमा पहिचान बनाएको वीरगन्ज महानगर पालिकामा भने पछिल्ला समय परिवर्तन आएको छ। सुरुसुरुमा जथाभाबी फोहोर फ्याल्नेहरु अहिले आफ्नो व्यवहारमा सुधार ल्याएका छन्। अर्थात् काठमाडौं जस्तै अहिले वीरगन्जमा पनि फोहोर बोक्ने गाडी आएपछि मात्रै त्यही गाडीमा फोहोर फ्यालिँदै छ।

शाखा प्रमुख मियाँ भन्छन्,‘यो भनेको धेरै परिवर्तन भएको हो ,किनकि मान्छेलाई अब डर भइसकेको छ। जुन कारणले यो परिवर्तन आउन सम्भव भएको हो।’

शाखा प्रमुख मियाँ जस्तै घण्टाघर निवासी साहेब साहको भनाई पनि उस्तै छ। महानगरको सरसफाई अभियान एकदमै सराहनीय रहेको साह बताउँछन्।

उनी भन्छन्,“पहिला पहिला व्यक्तिहरू छतमाथिबाटै फोहोर फ्याल्ने गर्थे, तर अहिले त्यो रोकिएको छ। जरिवानाको डरले सफाइकर्मीलाइ नै आएर फोहोर दिन थालेका छन्।’

लामखुट्टे पनि हराउँदै

सरसफाई अभियानले सहर सफा मात्र देखिएको छैन, लामखुट्टे पनि हराउन थालेका छन्। जथाभाबी फोहोर नभएपछि त्यसका प्रजातिमा कमी आएको पाइएको छ। कारण– जथाभाबी फोहोर नफ्याल्दा लामखुट्टेको उत्पादनमा पनि कमी भएको छ।

वीरगन्ज मुर्लीकी अनिता हमाल भन्छिन्, ‘पहिला पहिला लामखुट्टेका कारण बाहिर बस्न सकिदैन्थ्यो, तर अहिले अलि राहत भएको छ, मज्जाले बाहिर बस्न सकिन्छ।’ महानगरले पनि यो भनाइलाई सार्वजनिक रूपमै प्रचार गर्न थालेको पाइन्छ।

कसरी हुन्छ सरसफाई ?

वीरगन्जमा महानगरमा हरेक ठाउँबाट निस्केको फोहोर संकलन गर्न समय सीमा नै निर्धारण गरिएको छ। महानगरले फोहोर सङ्कलनका लागि तीन वटा समय छुटाएको छ।

अर्थात् फोहोर सङ्कलनका लागि महानगरले बिहान साढे ५ बज देखि १० बजेसम्म, दिउसो १ बजेदेखि ५ र बेलुका ७ देखि ९ बजेसम्म गरी ३ पटक फोहोर सङ्कलनका लागि समय तोकेको छ। यो समयमा महानगरको ट्र्याक्टर हरेक गल्ली गल्लीमा गएर फोहोर संकलन गर्छ। फोहोर सङ्कलनको सूचना बजाएर महानगरको ट्र्याक्टरले निर्धारित समयमा गएर फोहोर संकलन गरिरहेको महानगरले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८० १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App