तस्करी गरी भित्राइएको भारतीय १ सय ८१ बोरा युरिया मल प्लाइ उद्योगको हाताभित्र बरामद भएपछि अम्बे प्लाई उद्योगविरुद्ध चोरीपैठारीसम्बन्धी मुद्दा चलाइएको छ ।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाताभित्र कृष्णनगर भन्सार र सशस्त्र प्रहरीको छापा हानेर १ सय ८१ बोरा युरिया मल बरामद गरेको थियो । कृष्णनगर भन्सार कार्यालयका सुचना अधिकारी मन्केश कुमार कर्णले जय अम्बे प्लाई उद्योगविरुद्ध भन्सार ऐन २०८२ अनुसार मुद्दा चलाइएको बताए । सो घटनाको अनुसन्धानका लागि भन्सार अधिकृत पदमराज पन्तको नेतृत्वमा टोली गठन गरी घटनाबारे अनुसन्धान जारी राखिएको उनले बताए ।
गत मंसिर २९ गते सुराकीका आधारमा प्लाई उद्योगमा पुगको संयुक्त टोलीले प्लाई उद्योगमा लुकाई राखेको अवस्थामा सो मल बरामद गरेको थियो । सो मलका विषयमा भन्सारले प्लाई उद्योगलाई हाजिर हुन समेत निर्देशन दिएको थियो । सोही बमोजिम सो उद्योगका मालिक बिजय कनौडिया भन्सारमा हाजिर भएर आफ्नो बयान दिएको सुचना अधिकृत कर्णले बताए । सोही आधारमा भन्सारले कनौडियासँग १ लाख ८१ हजार धरौटी समेत माग गरेको थियो ।
कनौडियाले १ लाख ८१ हजार धरौटी बुझाएर बोलाएको बखत हाजिर हुने गरी लिखित गरेका थिए । सो मल तस्करहरुले बिभिन्न नाका हुँदै मल भित्राएर उद्योगलाई बेचेका थिए । चन्द्रौटादेखि कृष्णनगर सम्म रहेका ८ प्लाई उद्योगमा तस्करी गरी भित्राइएको युरिया मलको प्रयोग गर्ने गरिएको स्रोतको भनाइछ । तर सुरक्षा निकायले कहिलेकाही मात्र मल बरामद गर्ने गरेका छन । युरिया मललाई प्लाई उद्योगमा गमका रुपमा प्रयोग गरिन्छ ।
प्रकाशित: ९ माघ २०८२ १८:०६ शुक्रबार





