४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

शिलान्यास भएकाे दुई दशक बित्याे, बनेन शहिद उद्यान

इलाम– शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन।

विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन्। उद्यानका नाममा बर्सेनि करोडौँ बजेट छुट्याएपनि उद्यान निर्माणले गति लिन सकेको छैन्।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि काँग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा प्राण आहुति दिएकाको स्मृतिमा बन्ने भनिएको उद्यान शिलान्यास भएको २१ वर्ष बित्दासमेत अधुरै रहेपछि स्थानीयमा निराशा छाएको सुलुवुङका युवराज पौडेल बताउँछन्। “प्रजातन्त्रका लागि ज्यान दिने सहिदको सम्मान स्वरूप उद्यान बनाउने कुराले सयौँ गाउँले खुसी थिए,” स्थानीय प्रेमनाछिरिङ राईले भने,  “जुन गतिले उद्यान बन्नुपर्थ्यो त्यो भएन र २१ वर्ष पुग्दासमेत उद्यान नबन्दा स्थानीय नै अचम्मित छन् ।”

तत्कालीन सुरक्षा फौजबाट मारिने काँग्रेसका मुक्ति सेनाका सुलुबुा उदयबहादुर साउदेन, माइपखोरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राईलगायत सहिदको सम्मान र स्मृतिमा बनाउने भनिएको उद्यान अधुरै रहेको छ । सशस्त्र सङ्घर्षमा मारिएका सात जनाको स्मृतिमा नेपाली काँग्रेसले आफ्नो अगुवाइमा बनाउने भनिएको उद्यान बजेट अभावले निर्माण थाल्न नसकिएको जनाइएको छ ।

पूर्व जिविस सभापति हरि खनालका अनुसार, सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण गर्न लागिएको उद्यान वरिपरी फूलबारी, बगैँचा, चौतारी र बीचमा सहिदस्तम्भ राख्ने योजना थियो।

शिलान्यासपछि धेरैले बिर्सिएको उद्यान बनाउने योजनालाई मूर्तरूप दिन काँग्रेसले २०६६ देखि फेरि प्रयास थालेको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको द्वन्द्वोत्तर पुनर्निर्माण कार्यक्रमअन्तर्गत आव २०६७/०६८ मा विनियोजन गरिएको रु सात लाख त्यहाँ खर्च भइसकेको छ । त्यसपछि विनियोजित रु दुई लाख ५० हजार रूपैयाँ भने फ्रिज भएको छ। मन्त्रालयबाट आएको बजेटले उद्यान वरिपरि काँडेतार लगाउने काम भएको छ।

एकैपल्ट धेरै बजेट नआउने र कनिकाझैँ थोरैथोरै छुट्टिने समस्याले निर्माणको कामले गति लिन नसकेको स्थानीय शान्ति समितिका पूर्वसंयोजक होम दुलालको भनाइ छ। जसले गर्दा, पहिले बनेका पूर्वाधार र संरचना समेत भत्किने, नासिने अवस्थामा छन्। देउराली बजारकै कतिपय वासिन्दाले ‘त्यहाँ सहिद उद्यान बन्दै थियो’ भन्ने बिर्सेको देखिन्छ। २०१८ सालमा ज्यान गुमाएका सहिदको स्मृतिमा उद्यान बनाउने भनिए पनि बजेट अभावकै कारण पूरा हुन नसकेको दुलाल बताउँछन्। 

सशस्त्र सङ्घर्षका क्रममा काँग्रेसको मुक्ति सेनामा हिँडेको र मुक्ति सेनालाई सघाएको आरोपमा सुरक्षा फौजले सात जनाको हत्या गरेको थियो। रासस

प्रकाशित: २९ माघ २०७३ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App