१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराका तालबारे विज्ञको चिन्ता, ताल नरहे केही रहन्न

पोखरामा बुधबार सुरु भएको ताल संरक्षणबारे छलफल। तस्बिरः नागरिक

पोखरा र आसपासका क्षेत्रका तालको आकार वर्षेनी घटिरहेको भन्दै सर्वत्र चिन्ता छ। ताल जोगाउन नसके त्यसले मानवीय र प्राकृतिक सम्पदामा असर पार्ने, सिमसार क्षेत्र जोखिममा पर्ने सहित तालमा निर्भर जलचर, चराचुरुङ्गी लोप हुने तथा स्थानीयको आयस्रोतमा समेत असर पार्ने चिन्ता पनि उत्तिकै छ। तिनै ताल जोगाउने प्रयासबारे पोखरामा बुधबारदेखि तीन दिने बहस सुरु भएको छ।

गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राधिकरण, वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको पोखरा क्याम्पस लगायतको आयोजनमा भएको उक्त छलफलमा विज्ञहरूले पोखरा क्षेत्रका ताल दिनप्रतिदिन जोखिममा पर्दै गएको भन्दै चिन्ता जनाए। 

काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. रामदेवी तचामो साहले पोखराका ताललाई सबैभन्दा बढी जोखिम सिरान क्षेत्रबाट हुँदै गएको बताईन। उनले पोखराका ताल दिनप्रतिदिन अस्वस्थ बनेको पनि बताईन।

‘ताललाई जोखिम नै सिरान क्षेत्रबाट भएको छ। फेवाताललाई त सबैभन्दा बढी जोखिम सिरान क्षेत्रबाटै छ। किनकि सिरान क्षेत्रमा वर्षेनी पहिरो झर्दा त्यसले ताल पुरिने क्रम बढाएको छ,’ उनले भनिन, ‘तालको गुणस्तर खस्किएको छ। प्रदूषण, मिचाहा प्रजाति, मानव बस्ती लगायतबाट अहिले तालमाथि जोखिम थपिएको छ।’ 

तीव्र गतिमा ताल पुरिने क्रम रहेकोले त्यसलाई रोक्नका सिरान क्षेत्रमा तटबन्ध बाँध्नुपर्ने उनले बताईन।

 एकाध खोलामा तटबन्ध बाँधेर मात्र हुँदैन, सिरान क्षेत्रको पहिरोबाट उत्पन्न भएको ढुंगा, गिटी, बालुवा तलसम्म आउन नदिन तत्काल प्रयास नगरे तालको आयु अझै घट्नेछ,’ उनले भनिन, ‘ताल नरहे केही रहन्न।’

ताल संरक्षण तथा विकास प्राधिकरणका उपाध्यक्ष तथा कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासका पूर्वाधार बनाउँदा ताललाई असर पर्नेगरि गर्न नहुने बताए। ‘ताललाई साँच्चै जोगाउने हो भने सबै स्थानीय तहले विकास निर्माण गर्दा ध्यान दिनुपर्छ। विकासका पूर्वाधार तयार पार्दा ताललाई कुनै भार पार्न नहुने गरि सबैजसो स्थानीय तहसँग सहजीकरण गर्नुपर्छ,’ ओझाले भने, ‘ताल जोगाउन कुन काम गर्न हुने र कुन नहुने भनेर सोच्नुपर्छ।’ उनका अनुसार अहिले पोखरा क्षेत्रका तालहरु ढल, निकास र पुरिने समस्याले गर्दा जोखिममा छन्।  

कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको सिरान क्षेत्रमा अघिल्लो पटक बनाएका सिल्टेसन ड्याम भत्किएकोले अब फेरि ड्याम बाँध्ने योजना रहेको बताए।

‘हर्पन मात्र नभई चेकड्याम बनाएर फेवाको सबैजसो श्रोतबाट बगेर आएको र ढुंगा, गिटी, बालुवालाई रोक्नुपर्छ,’ मेयर आचार्यले भने, ‘ताल बचाउन सकियो भने ती तालमा विभिन्न गतिविधि गरेर भएपनि आयआर्जन बढाउन सकिन्छ।’ 

उनका अनुसार पोखराका ताललाई ‘वाटर स्पोर्टस हब’ बनाउने तयारी भएको बताए।  

उनले पोखराका ताल जोगाउने जिम्मा महानगरको मात्र नभएको बताए। उनका अनुसार फेवातालमा ढल मिसिन र प्रदूषित हुन नदिन भिन्दै ढल बनाएर फुस्रे खोलामा फोहर व्यवस्थापन गर्ने योजना बनाएको बताए। केही व्यक्तिको असहयोगका कारण फेवातालको माथिल्लो क्षेत्रमा ताललाई असर पर्नेगरि काम भएको बताए। ‘सार्वजनिक सम्पत्ति अधिक नै दोहन भएको छ। पोखरामा ताल मात्र नभई फिर्के खोला पनि अतिक्रमणमा परेका छन्,’ उनले भने।  

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेलैमा ताल संरक्षण नगर्ने हो भने भविष्यमा यसले पार्ने असर अझै थपिने बताए।

‘हाम्रा सम्पदा नोक्सान हुँदै जाने हो भने सहर बस्न लायक नहुने बन्न सक्छ,’ पाण्डेले भने, ‘प्राकृतिक सम्पदामा गरेको लगानी जनताले देख्नुपर्छ। प्राकृतिक सम्पदा संरक्षण गरेर ती सम्पदालाई बेच्न सकियो भने त्यसबाट आम्दानी हुन सक्छ।’ प्राकृतिक सम्पदा संरक्षणमा सरकार मात्र लागेर नहुने उनले बताए।  

वन क्याम्पसका प्रमुख प्रा. विनोदप्रसाद हेज्यूले पोखरा क्षेत्रका तालको संरक्षणमा पहल होस भनेर तीन दिने बहस कार्यक्रम राखेको बताए।

‘पोखराका ताल बचाउन सबैको पहल नहुने भने अवस्था डरलाग्दो हुनसक्छ, अहिले तालहरु दिनप्रतिदिन जोखिममा छन्,’ उनले भने।

बहस कार्यक्रमको संयोजन गरेका वन क्याम्पसका प्राध्यापक राजन सुवेदीका अनुसार तालका विविध पक्षलाई समेटेर विज्ञहरूले प्रस्तुति राख्नेछन्। तालको अवस्था, ताल संरक्षणमा भएका पहल, ताल जोखिममा पर्दा आइपर्ने अप्ठेरा, संचारमाध्यमले ताल संरक्षणमा खेलेको भूमिका लगायतबारे छलफल हुने उनले सुनाए । तीन दिने यो बहस कार्यक्रमको अवधिमा पोखराका तालहरूको स्थलगत भ्रमण गराएर अवस्थाबारे जानकारी दिने तयारी रहेको पनि उनले बताए।

प्रकाशित: २० वैशाख २०८० ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App