१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गाईघाट बजार क्षेत्रका सडकहरु कालोपत्रे हुँदै

पिसजोन जाने सडकको सवबेस लेईङको काम हुँदै। तस्बिर: महेश्वर

गाईघाट बजारका शाखा सडकहरु चालु वर्षभित्रै कालोपत्रे गरिने भएको छ। 

राष्ट्रिय महत्त्वको मदन भण्डारी लोक मार्गसँग जोडिएका त्रियुगा नगरपालिका ११ अन्तर्गत बजार क्षेत्रका विभिन्न शाखा सडकहरु आउँदो असारभित्र कालोपत्रे गर्ने गरी धमाधम काम सुरु भएको हाे। 

जस अनुसार पिजीचोक नजिकै असारी लाइनसँग जोडिएको पिसजोन बोर्डिङ जाने शाखा सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ। मदन भण्डारी सडकदेखि १ सय मिटर उत्तरतर्फ स्कुलसम्मको सडक वडा कार्यालयको स्वीकृत १० लाख रुपैयाँबाट कालोपत्रे गर्न लागिएको वडाध्यक्ष सुमन्त कोइरालाले बताए।

गत वर्ष नाला र ग्राभेल भएको सो सडकलाई यस वर्ष कालोपत्रे गर्ने गरी ४ दिनयता सुरु भएको कामको ‘सबबेस लेईङ’ काम भइरहेको छ। कोइरालाका अनुसार अब ‘बेस लेईङ’ सकेर केही दिनभित्रै कालोपत्रे गरिनेछ। यो सँगै वडाका अन्य विभिन्न शाखा तथा उपशाखा सडकहरु पनि स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम धमाधम भइरहेको कोइरालाले सुनाए।

उनका अनुसार आउँदो असारभित्र ११ नं. वडामा मात्र ४ वटा कालोपत्रे तथा ६ वटा सडकमा नाला र ग्राभेलसहित स्तरोन्नतिकाे काम गर्ने स्वीकृत योजना सञ्चालित छन्।

गाईघाट बजारको छाती चिरेर निर्माणाधीन मदन भणडरी लोक मार्गका कारण पछिल्लो २ वर्षयता लामो तथा छोटो रुटका बाक्लो सवारी आवागमन भइरहेको छ। झापा, इटहरी, विराटनगर, धरानदेखि चतारा, रामपुर, बसाहा, बेलटार हुँदै गाईघाट भएर निर्मित लोकमार्ग उच्चस्तरीय अस्फाल्ट प्रविधिको कालोपत्रे सडक भएकाले महेन्द्र लोक मार्गलाई छाडेर सवारीसाधन यो बाटो भएर हेटौँडा, काठमाडौँ, चितवन, पोखरा, लुम्बिनीलगायत सुदूर पश्चिमसम्म यातायात आउजाउ गर्ने गरेका छन्।

सडकसँग दुई दर्जन हाराहारी शाखा सडकहरु बजारभित्रै रहेका छन् तर, ती सबै कच्ची भएकाले सौन्दर्य र वातावरणीय दुवै हिसाबले अशोभनीय छन्। 

लोकमार्ग जोडिएका सडकहरु सबै कालोपत्रे गर्नुपर्ने जनदबाब अनुसार ११ नं. वडाका शाखा सडकहरूलाई चालु वर्षदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए।

मेयर बस्नेतका अनुसार मुख्य चोक पूर्वतर्फ असारी लाइनले छोएका आधा दर्जन शाखा सडकहरु चालु वर्षभित्रै स्तरोन्नतिसहित कालोपत्रे हुदैछन्। त्यस्तै गाईघाट–लाहान जोड्ने सगरमाथा लोकमार्ग अन्तर्गत बजारको पश्चिम र उत्तरतर्फका शाखा सडकहरु पनि विश्व बैङ्कको ऋण सहयोगमा यस वर्षदेखि स्तरोन्नतिसहित कालोपत्रेको काम हुनेछ। 

मेयर बस्नेतले बहु वर्षीय सो परियोजनाको काम नगरपालिकाले वर्ल्ड बैँकसँग सम्झौता गरेर काम थाल्ने अन्तिम चयारीमा पुगेको र अब छिट्टै काम सुरु बताए। 

प्रकाशित: १८ वैशाख २०८० १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App