१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुई जिल्लामा मात्र तीन दमकल

रौतहट र सर्लाही गरी मधेश प्रदेशका दुई जिल्लामा जम्माजम्मी तीन ओटा दमकल संचालनमा रहेका छन्। रौतहटमा दुई र सर्लाहीमा एक गरी दुई जिल्लामा तीन ओटा दमकल मात्र संचालनमा रहँदा आगलागीको घटना हुँदा निकै समस्या हुने गरेको देखिएको छ।

रौतहट सदरमुकाम गौर र चन्द्रपुर नगरपालिकामा एक/एक ओटा दमकल रहेको छ। यसै गरी सर्लाहीका दुई नगरपालिका मिलेर एउटा दमकल संचालन गरिरहेका छन्। सर्लाहीका बागमती र हरिवन नगरपालिका मिलेर एउटा दमकल संचालन गरिरहेको छ। दुवै नगरपालिका पूर्व–पश्चिम राजमार्गमा जिल्लाको उत्तरी भेगमा रहेकाले मध्य तथा दक्षिणी सर्लाहीमा एउटै पनि दमकल नहुँदा आगलागीको समयमा निकै समस्या भएको देखिएको छ। सर्लाही सदरमुकाम मलंगवामा भएको दमकल बिग्रेर त्यत्तिकै थन्किएको छ।

केही दिन पहिले सर्लाही सदरमुकाम मलंगवामा एक घरमा भएको आगलागीमा दमकल समयमा नपुग्दा स्थानीयवासी प्रहरीमाथि आक्रोश पोखेका थिए। केही सार्वजनिक कार्यालयमा तोडफोड गर्नुका साथै प्रहरीको गाडीमाथि पनि आक्रमण गरेका थिए।

स्थानीय सरकारले अनेक बहानामा खर्च गरिरहेको तर दमकल किन्न कुनै पनि पालिका तयार भइनरहेको देखिनु आफैँमा सोचनीय विषय भएको सर्लाही सलेमपुरका कपिलदेव झाको भनाइ छ। यसै गरी सर्लाही रामनगरका पूर्व वडाध्यक्ष दिनेश मिश्रले सर्लाही जिल्लाको दक्षिणी भागमा आगलागीको कुनै घटना हुँदा दमकल पुग्दा नपुग्दै घर स्वाहा हुने गरेको बताउँछन्। बीस पालिका भएको सर्लाहीमा एउटा मात्र दमकल हुनुले आफैँमा गम्भीर विषय भएको मिश्रको भनाइ छ।

चालू आर्थिक वर्षमा सर्लाहीमा एक दर्जनभन्दा आगलागीको घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदी बताउँछन्। सर्लाहीमा आगलागीको घटनाबाट चालू आर्थिक वर्षमा कुनै मानवीय क्षति नभए पनि लाखौँको सम्पत्ति सकिएको छ। स्थानीय तहमा आगो निभाउने दमकल नहुँदा विपद्को समयमा आगलागी नियन्त्रण गर्न निकै कठिनाइ भइरहेको एसपी सुवेदीको भनाइ छ।

अठार स्थानीय तह रहेको रौतहटमा भएका दुई दमकलमध्ये एक जिल्लाको उत्तरी भाग र अर्को दक्षिणी भागमा रहेका छन्। मध्य रौतहटमा एउटै पनि दमकल नहुँदा आगलागीको समयमा दमकल आइपुग्दा नपुग्दै निकै धेरै क्षति हुने गरेको छ। केही दिन पहिले माधवनारायण नगरपालिकाको मानपुरमा भएको आगलागीको घटनामा करिब दुई दर्जन घर जलेर करोडौँको क्षति भएको थियो।

अधिकांश स्थानीय तहको वडाध्यक्ष, वडा सचिव तथा पालिका कार्यालयमा कार्यरत सबै शाखाका प्रमुखका साथै सुब्बास्तरका कर्मचारीले सरकारी मोटरसाइकल चढिरहेका छन्। यसै गरी पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले चारचक्के गाडी चढिरहेका छन्। रौतहट र सर्लाही गरी हरेक महिना इन्धन र मरम्मत सम्भारमा लाखौँ रुपैयाँ खर्च भइरहेको छ तर सर्वसाधारणको ज्यान र धनलाई आगलागीबाट सुरक्षा गर्ने दमकल नहुनु निकै दुःखद भएको नागरिक समाज रौतहटका सचिव विजयकान्त झाको भनाइ छ।

चालू आर्थिक वर्षमा रौतहटमा भएका विभिन्न आगलागीका घटनामा १४५ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढा मगरले चालू आर्थिक वर्षमा आगलागीको घटनामा परी ६ जनाले ज्यान गुमाएको तथ्याङ्क रहेको बताएका छन्।

हरेक पालिकामा एउटा दमकल हुनुपर्ने र दमकल नहुँदासम्म केही पालिका मिलेर पनि दमकल किन्नुपर्ने र सबैले मिलेर संचालन गर्नुपर्ने सुझाव रौतहटमा आउन थालेको छ। 

प्रकाशित: १२ वैशाख २०८० १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App