१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

आँखाको अन्तर्राष्ट्रिय भाका

अन्तर्राष्ट्रिय महत्त्वको १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) को इसा अन्तर्राष्ट्रिय पुरकार बहराइनका सुल्तानको हातबाट प्राप्त गरेपछि पनि डा.सन्दुक रुइतको दिनचर्या फेरिएको छैन। बरु उनका सपना अरू चुलिएका छन्। उही धपेडीबिच उनी देखिइरहेका छन्, थप सपनामा।

डा.रुइतले आँखा उपचार क्षेत्रमा पाएको सफलताकै हाराहारीमा अन्य क्षेत्र पनि पुगेका भए अहिले अन्तर्राष्ट्रिय जगतलाई देखाउन मिल्ने अरू धेरै काम हुने रहेछन्। उनले नागरिकसँग गत साता भने, ‘नेपालीले विदेशीसँग आँखामा आँखा मिलाएर कुरा गर्न सकिने विषय नै आँखा हो।’

इसा अवार्ड सामान्य नेपालीका निम्ति निकै ठुलो मञ्च हो। वास्तवमा बहराइनका सुल्तानले आफ्नो हातले पुरस्कार दिने भन्ने हुँदैन। डा. सन्दुकलाई आफ्नो छेउमा राखेर आफ्नै हातले पुरस्कार दिनुको अर्थ ठुलो छ। प्रत्येक दुई वर्षमा दिइने यो पुरस्कार कोरोना महामारीका कारण चार वर्षको अन्तरालमा दिइएको हो।

विश्वमञ्चमा त्यो पुरस्कार डा. रुइतलाई मानवीय आधारमा दिइएको हो। हो, यहीँनिर हाम्रो मुलुकले यस्ता क्षेत्रमा उपलब्धि हासिल गर्दा अन्तर्राष्ट्रिय उपलब्धि हुन्छ। अन्धोपन निवारणको क्षेत्रमा नेपालले गरेको यो अनुकरणीय उपलब्धिले आज संसारको ध्यान तानेको छ। विशेष गरी नेपालजस्तै स्थितिका मुलुकका निम्ति डा. सन्दुक र उनको टिमले विकास गरेको उपचार विधि सजिलै उपयोग हुने किसिमको छ।

त्यसैले सबैका आँखा यतिखेर सन्दुकले के गर्दै छन् भन्नेतिर तानिएका छन्। आफ्नो देशको अवस्थाबारे उनी जानकार छन्। त्यसमा उनी टिप्पणी गर्न चाहँदैनन्। आफ्नो मुलुकको अन्तर्राष्ट्रिय मञ्चमा विश्वसनीयता प्राप्त होस् भन्ने मात्र उनको धोको छ। नेपाली राहदानीलाई विश्वका कुनै पनि अध्यागमनले सहजै स्वीकार गर्न यस्तै काम फलदायी हुन्छन्।

‘हाम्रो हरेक क्षेत्रलाई अन्तर्राष्ट्रिय विश्वास चाहिन्छ,’ उनी भन्छन्। डा. रुइतको जस्तो कामले नेपालीतिर हेर्न संसारको ध्यान जान्छ। कैयौं चरणमा भएको छनोट प्रक्रियापछि उनलाई पुरस्कार प्राप्त भएको हो। अझ सुरुमा त उनको नाम नै थिएन। तर मूल्यांकनकर्ताले उनलाई समावेश गर्नुपर्ने आवश्यकता महसुस गरेका हुन्। अझ कोरोना महामारीका बेला काम गरेको विश्व स्वास्थ्य संगठनको डब्लुएचओ फाउन्डेसनसमेत प्रतिस्पर्धामा रहेको हो। अन्ततः यो डा. सन्दुकको पोल्टामा आइपुग्यो।

‘हामीले गरेको यो कामको सफलता रातारात प्राप्त भएको होइन,’ उनी भन्छन्, ‘दशकौंदेखि गरेको काम हो। केजी, एक, दुई हुँदै १० कक्षा उत्तीर्ण गरेजस्तो हो।’

यो सफलतासम्म आइपुग्न उनले धेरै पीडादायी क्षण पनि भोगेका छन्। हाम्रोजस्तो अल्प विकसित मुलुकले आँखा उपचारको सस्तो विधि अपनाउन सक्दैनौं भन्ने थियो। त्यसका निम्ति उनीमाथि देशभित्रै र विदेशमा समेत आलोचक थिए। तर ती सबलाई चिर्दै आजको स्थितिमा नेपाल आइपुगेको हो।

‘गर्व लाग्छ,’ उनी शान्त स्वरमा भन्छन्, ‘नेपाललाई आँखाको क्षेत्रमा विश्व मानचित्रमा देख्न सकिन्छ। यस क्षेत्रका कोभन्दा कोकम भन्ने व्यक्तिको पंक्तिमा व्यावसायिक ढंगले हामीले कुरा गर्न सक्ने अवस्था छ।’

आँखा उपचारको क्षेत्रमा नेपालले अरुलाई आफू निकै तल परेर हेर्नुपर्दैन। नेपालले आँखामा आँखा मिलाएर कुरा गर्न सक्ने अवस्था यिनै उपलब्धिले दिएको हो।

नेपालले मोतीबिन्दु उपचारका क्रममा लेन्स नराखी गरिने पुरानो पद्धतिको ठाउँमा नयाँ ढंगले काम गरेको हो। अघिल्लो विधिअनुसार शल्यक्रियापछि पनि मोटो चस्मा लगाउनुपथ्र्यो। डा। सन्दुकको काम देखेर उनलाई विश्वास गर्ने विदेशी विशेषज्ञहरूको उत्साहले उनलाई नेपालमै लेन्स उत्पादन गर्ने ठाउँमा पु¥याएको हो। सानो बजेट र थोरै जनशक्तिले सुरु भएको तिलगंगा आँखा अस्पताल एउटा भरपर्दो संस्थाका रुपमा देशविदेशमा चिनिएको छ।

आज आँखा उपचारका लागि देशविदेशबाट विशेषज्ञले तालिम लिनुपर्ने ठाउँ भइसकेको छ नेपाल। यसको श्रेय डा। सन्दुक र उनको टिमलाई जान्छ। सन् ८० को दशकबाट सुरु भएको यो यात्राले नेपाललाई विश्वमा चिनाउने अवस्था आइसकेको छ। आफ्ना उपलब्धिलाई संस्थागत गर्नसमेत सफल डा. सन्दुक अब यसलाई शैक्षिक संस्थामा बदल्न चाहन्छन्। यसो गरेको खण्डमा यी उपलब्धि भविष्यसम्म रहन्छन्। यसका साथै यस क्षेत्रमा अध्ययनका लागि विदेशीहरूले आउनुपर्ने अवस्थासमेत रहन्छ। 

डा. सन्दुकले नेपालका दुर्गम गाउँघर र भिरपहरा मात्र गरेका छैनन्, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो प्रविधि लगेर उपचार गरेका छन्। उत्तर कोरिया, चीनका साथै अफ्रिकी मुलुकमा समेत उनले सेवा दिएका छन्। वास्तवमा नेपाल अहिले यस्तो ठाउँमा आइपुगेको छ, जसले अन्य देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई ती देशमा आँखा उपचार सेवा र सहयोग दिने भनेर वाहवाही बटुल्न सक्छन्। अन्य देशसँग कुरा तिनका कुनै पनि क्षेत्रमा हामी यो सेवा दिन्छौं भन्ने हो भने त्यसले नेपाललाई नयाँ पहिचान मात्र दिँदैन कूटनीतिमा पनि नयाँपन आउँछ। नेपाल लिने मात्र होइन दिने देश हो भनेर पनि अगाडि बढ्न सकिन्छ।

त्यसका निम्ति आँखा उपचारसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने सपना यतिबेला डा. सन्दुकले पालिरहेका छन्। विभिन्न देशका चिकित्साकर्मीले यहाँ आएर तालिम लिइरहेका छन् भने त्यसैलाई शैक्षिक कार्यक्रमका रुपमा अगाडि बढाएर विश्वविद्यालय चलाउन सकिन्छ भन्ने विश्वास उनको छ।  

‘हामी यहाँ विश्वविद्यालय बनाएर सेवा दिन तयार छौं,’ उनले भने, ‘हामी अहिले सरकारसँग सहयोग माग्न सक्ने अवस्थामा पनि पुगेका छौं।’

नेपालले आफूलाई विश्वमञ्चमा उभ्याउन र शैक्षिक अध्ययन र तालिम लिन आउने देशका रुपमा स्थापित गर्नसक्ने अवस्था आइसकेको छ। ‘हाम्रो देश र नेतृत्वले यो स्थितिलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न सक्छ,’ उनी भन्छन्, ‘हाम्रो टिम सक्षम भइसकेको छ। खाली हामीलाई अवसर दिने हो भने हामीले नसक्ने केही छैन।’

अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा उपचारको क्षेत्रमा डा. सन्दुकको टिम सजिलै चिनिने भइसकेको छ। यस्तो अवसरलाई बुझ्ने र अन्य क्षेत्रमा पनि व्यवहार गर्ने बेला भइसकेको छ। संस्थाहरूको निर्माणले लोकतन्त्रलाई बलियो बनाउँछ। त्यसका निम्ति तिलगंगाजस्ता संस्थाको उपलब्धि आफैंमा अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि समेत काम लाग्ने भइसकेको छ।

‘हामीले गरेको यो काममा राज्यले स्वामित्व लिन सक्छ,’ डा। सन्दुक भन्छन्, ‘हामीसँग स्रोत मात्र नभएको हो, बौद्धिक सम्पत्तिका हिसाबले हामी सम्पन्न छौं।’

प्रकाशित: १२ वैशाख २०८० १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App