६ वैशाख २०८१ बिहीबार
समाज

भक्तपुरले देखाएको आशाको गोरेटो

बिस्का जात्राको समापनसँगै भक्तपुरको भैरव रथ यो वर्षलाई थन्किएको छ तर  सदाचारको टापुले समेत चिनिने भक्तपुर नगरपालिकामा विकासको रथ भने निरन्तर चलिरहेको छ। नगरपालिकाले सुरु गरेका विकासका नवीन अभ्यासहरूले लिच्छविकालीन प्राचीन सहर झनै जीवन्त देखिएको छ। केन्द्र र प्रदेशसँग मुलुकका  पालिकाहरू  अलमलिँदै गर्दा आत्मनिर्भर  भक्तपुर नगरपालिकाले विकासको फरक गोरेटो खनेको छ। जहाँ बिस्केटको रथसँगै समृद्धिका पाइलाहरू लम्किरहेका छन्।  सिङ्गो नगर खुला संग्रहालय बनेको छ।

नगर भव्य बन्नुमा यहाँको प्राचीन संस्कृति र कला मात्र होइन, जनप्रतिनिधिले ल्याएका विकासका नवीन अभ्यास उत्तिकै महत्वपूर्ण देखिन्छन्। आधुनिक शिक्षासँगै परम्परागत ज्ञानको जगेर्ना गरेर नगरले आफूलाई मुलुकका अन्य पालिकाभन्दा विशिष्ट बनाउन सफल भएको छ। प्रतिकूल अवस्थामा पनि कामले तीव्रता पाउनु यो नगरको मौलिकता हो।

भक्तपुरको पुरानो नगरलाई अष्ट मातृकाका आठ देवीले संरक्षण गर्दै आएको प्राचीन मान्यता छ। सम्पदा र संस्कृतिले भव्य यो सहरमा यति बेला भने १० वटा वडा रहेको नगरपालिकाले संरक्षण गरेको नवीन मान्यता भेटिन्छ। वडाका प्रमुखले सिङ्गो नगरको प्रतिनिधित्व गर्दै जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेका छन्। इमानदारीका साथ उनीहरूले गरेको कार्यले नगरपालिकाको  मूल लक्ष्यलाई झनै सघाउ पु¥याएको छ।

बहु आयामिक सोचका साथ अगाडि बढेको नगरपालिका नेतृत्वलाई फराकिलो सोच राख्ने सर्वसाधारणले उत्तिकै साथ दिएका छन्। २०७२ सालको भूकम्पको महाविपत्ति होस् यो कोरोनाको सङ्कटकाल नगर र नगरबासीले कहिल्यै हिम्मत हारेनन्। महाभूकम्प र कोरोनाको सङ्कटकालमा अन्य नगर ‘हब्बेकब्बे’ भएको अवस्थामा यो सहरले आफूलाई विभिन्न क्षेत्रमा ‘भव्य’ बनाउन सफल भयो।

भक्तपुर नगरपालिकाको यो सत्कर्ममा मेयर सुनिल प्रजापतिको नेतृत्व उत्तिकै महत्वपूर्ण छ। खासमा उनी आफै भने यो सबै कामलाई नगरबासीको सामूहिक साथको प्रतिफल मान्छन्। ‘हामी नगरबासीको साझा भावनालाई लिएर एक पाइला मात्र अगाडि बढेका हौं,’ नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने, ‘हेर्दाहेर्दै विकासको रथ धकेल्ने भिड तयार भयो।’ आफ्नै लागि काम गरेको भन्ने नगरबासीमा विश्वास पलाउनु नै हरेक सफलताको सूत्र भएको उनले सुनाए।

सफलताका लागि नयाँ काम होइन, फरक ढङ्गले काम गर्नुपर्छ भन्ने मान्यता यो नगरले बोकेको छ। त्यसैले अन्य नगरले चासो नदिएका ससाना कुरालाई समेत भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दा जनता थप खुसी भएका छन्।  

यहाँ रोगीका लागि अस्पताल बनाउने मात्र होइन, निरोगी रहनलाई सार्वजनिक ठाउँमा व्यायामशालासमेत व्यवस्था गरिएको छ। घरदैलो नर्सिङ सेवाअन्तर्गत नर्सहरूले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्छन्। बुढापाकाले वृद्ध भत्ता लिन बैंक धाउनु पर्दैन, बरु बैंक नै उनीहरूको आँगनमा आइपुग्छ।

‘अन्य नगरमा भत्ताका लागि ज्येष्ठ नागरिक बैङ्कको दैलो धाउनुपर्ने अवस्था छ,’  सुनिल प्रजापति भन्छन्,  ‘हाम्रो नगरले बैङ्कलाई नै घरदैलोमा ल्याउने काम गरेर नागरिकको मन जितेको छ।’ त्यस्तै यति मात्र होइन, यहाँका बुढाबुढी अस्पताल जानुभन्दा पहिल्यै नर्सहरू घरमै आइपुग्छन्। अन्य नगरले सङ्घीयताको अभ्यास गरेको ५ वर्ष जति भयो तर यो नगरले लामो समयदेखि स्थानीय तहको अधिकारको अधिकतम उपयोग गर्दै आएको छ। नगर विकासका लागि केन्द्रको मुख नताकेर आफ्नै आम्दानी खर्चंदै आएका कारण यो स्वतन्त्र नगरका रूपमा अगाडि बढेको हो।

नगरको आम्दानीको स्रोत भक्तपुर आउने पर्यटक हुन्। त्यही आम्दानीको भरपुर सदुपयोग भएको छ। कोभिडका बेलामा पर्यटक नआउँदासमेत यो नगरले जनश्रमदान तथा नगरको अन्य आम्दानीबाट विकास निर्माणको कार्यलाई जारी राख्यो। लकडाउनको समय अन्य नगरका कर्मचारी आराम गरिरहेको समयमा यो नगरले आफ्ना सबै कर्मचारीलाई फिल्डमा खटाएर नगरबासीको स्वास्थ्य अवस्थाबारे विशेष ख्याल राख्यो। कोभिडमा गरेको उल्लेखनीय कामका कारण बागमती प्रदेश सरकारबाट यो नगर सम्मानितसमेत बन्यो। ‘कोरोनाको समयमा जनताका लागि हाम्रो जरुरत झनै थियो,’ मेयर प्रजापति भन्छन्, ‘त्यसैले हामीले आफूले जोखिम मोलेर भए पनि जनतालाई  सुरक्षित बनाउन लागिरह्यौ।’

भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरे पनि शिक्षा, स्वास्थ्य, सम्पदा क्षेत्रमा मारेको फड्कोले त जो कोही पनि प्रभावित बन्ने गरेका छन्। प्राचीन सभ्यताले समृद्ध भक्तपुर नगरले बहुआयामिक विकाससँगै भव्य फड्को मारेको छ। कला संस्कृतिको प्राचीन सहरमा विकासको बिगुल फुक्न नगरपालिका सक्षम भएको छ।  

शिक्षा

भक्तपुर नगरपालिकाबाट दुई वटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्था सञ्चालनमा गरी  सुलभ मूल्यमा देशभरकै विद्यार्थीलाई  उच्च शिक्षा दिँदै आएको छ।  नगरले यसै वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट ‘ख्वप कलेज अफ ल’ सञ्चालन गर्ने अनुमति पाएको छ। यी शैक्षिक संस्थामा ७२ जिल्लाका करिब ७ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ।  

विद्यालय तथा कलेज स्थापना तथा सञ्चालनमा नगरले देखाएको बुद्धिमत्ताका कारण यहाँका गल्ली गल्लीमा इन्जिनियर रहेको चर्चा चल्ने गरेको छ। नगरले हरेक वर्ष चार सय ३२ इन्जिनियर उत्पादन गर्दै आएको छ। त्यस्तै नगरका चोक चोकमा स्नातक तथा स्नातकोत्तर अध्ययन गरेका छोरीहरू भेटिन थालेका छन्। ‘सर्वसाधारण जनताका छोराछोरीले कम शुल्कमा उच्च शिक्षा हासिल गरून् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शिक्षालयले नयाँ पुस्तालाई नयाँ चुनौती सामना गर्न सक्षम बनाउँदै गएको छ,’ मेयर प्रजापतिले भने, ‘शिक्षालाई उत्पादन श्रमसँग मिलाउन सहयोग गर्न तथा श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्न हामी सक्षम भएका छौं।’

उनले भने जस्तै दक्ष इन्जिनियर तथा आर्किटेक्ट तयार गर्ने उद्देश्यले २०५८ सालमा स्थापित ख्वप इन्जिनियरिङ कलेज नगरको सान हो। यो कलेजमा स्थापनाकालदेखि हालसम्म स्नातकदेखि स्नातकोत्तर तहमा देशभरिका विद्यार्थी अध्ययन गर्छन्। त्यस्तै २०६५ सालबाट सञ्चालनमा आएको ख्वप कलेज अफ इन्जिनियरिङमा मनाङ र धनकुटाबाहेक ७५ जिल्लाबाट आएका विद्यार्थीले ज्ञान हासिल गरे।  

नगरपालिकाले भर्ना भएका मध्येबाट उत्कृष्टलाई शतप्रतिशत छात्रवृत्ति दिने गरेको छ भने भक्तपुर नगरपालिका भित्रका गरिब तथा जेहेन्दारलाई पनि छात्रवृत्ति कार्यक्रममा समेट्दै आएको छ। त्यस्तै नगरले सञ्चालनमा ल्याएको ख्वप कलेजका कारण नगरमा स्नातक गर्ने चेलीको संख्या बढ्दै गएको छ। यहाँ स्नातक तहमा बिबिए, बिए, बिएस्सी, बिबिएम तथा स्नातकोत्तर तहमा एमएस्सी, एमबिएस र एमएको पढाइ हुने गरेको छ।

त्यस्तै नगरले ख्वप माध्यमिक विद्यालय तथा ख्वप बहुप्राविधिक अध्ययन संस्थानसमेत सञ्चालनमा ल्याएको छ। २०६१ सालबाट सुरु भएको ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा स्टाफ नर्स तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ।

यससँगै बालबालिकाका लागि खोलिएका शिशु स्याहार केन्द्रले एकल परिवारका  अभिभावकलाई धेरै सहयोग पुगेको छ। साना नानीहरूलाई नगरका विभिन्न वडामा रहेका स्याहार केन्द्रमा राखेर उनीहरू निर्धक्क काममा जान थालेका छन्। आफ्नो जिम्मेवारी र पेसालाई निरन्तरता दिन पाउँदा अभिभावक खुसी भएको शिशु स्याहार केन्द्रका शाखा अधिकृत दीपेन्द्र प्रजापतिले जानकारी दिए। नगरका ६ स्थानमा शिशु स्याहार केन्द्र सञ्चालनमा छन्।  

त्यस्तै जेहेन्दार विद्यार्थीको थप शिक्षाका लागि भक्तपुरभन्दा बाहिर जानुपरे पनि पनि नगरले छात्रवृत्ति दिने गरेको छ। जसका कारण विद्यावारिधि गर्ने तथा अन्य फरक विषयमा उच्च शिक्षा हासिल गर्नेका लागि अवसर सिर्जना भएको छ। 

स्वास्थ्य

नगरपालिकाले विभिन्न सङ्घर्ष गर्दै २०७९  साल जेठ २३ गते बाग्मती सरकारबाट १ सय शड्ढयाको अस्पतालको अनुमति पाएको छ। ख्वप अस्पतालबाट नौ महिनाको अवधिमा  भक्तपुरलगायत विभिन्न ६० जिल्लाका १ लाख ६१ हजार २ सय बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। नगरले अस्पताललाई  अझै उत्कृष्ट बनाउने योजनामा छ। यसका लागि सबै तयारी पूरा गरिरहेको जनाएको छ।

त्यस्तै नगरपालिकाले भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याएको छ। भक्तपुर नगरपालिका–९ तुमुचो डुगुरेमा सो केन्द्र स्थापना गरिएको छ। नेपालमा दिन प्रतिदिन दीर्घरोगी बिरामीको संख्या बढ्दै गइरहेकाले न्यूनीकरण गर्न पुनस्र्थापना केन्द्र स्थापना गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

नगरपालिकाले च्यामासिंह र ब्यासीमा रहेका जनस्वास्थ्य केन्द्रमार्फत नगरवासीलाई चौबीसै घण्टा सेवा दिँदै आएको छ। त्यस्तै नगरपालिकाले २०६२ सालमा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याएको छ। आयुर्वेदिक केन्द्रको सहकार्यमा नगरपालिकाले आयुर्वेदिक उपचार सेवा सञ्चालनमा ल्याएको छ।

रोगीलाई अस्पतालमा मात्र होइन, उनीहरूको उचित स्वास्थ्यका लागि घरदैलोमै नर्सिङ सेवा पनि उपलब्ध गराएको छ। २०७४ सालमा सुरु भएको यस सेवामा स्वास्थ्यसम्बन्धी पारिवारिक विवरण तयार गर्ने, अशक्त तथा वृद्धवृद्धाको हेरचार गर्ने, गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार स्वास्थ्य संस्थामा रेफर गरिन्छ। यसका लागि नगरका सबै वडामा एक एक जना नर्स र स्वास्थ्य स्वयम्सेविका परिचालित छन्।

अझ निरोगी बन्न तयार भएको व्यायामशालाले नगरको रौनक झनै बढाएको छ। २०७५ सालदेखि नगरका १ देखि १० वडाका विभिन्न स्थानमा राखिएका व्यायामशालामा केटाकेटीदेखि वृद्धवृद्धासम्मले कसरत गर्ने गरेका छन्। यसले नगरवासी झनै स्वस्थ रहने विश्वास नगरपालिकाले लिएको छ।

सम्पदा संस्कृति

२०७२ वैशाख १२ को भूकम्पले बिथोलिएको भक्तपुर नगर सम्पदा पुनर्निर्माणको तीव्रतासँगै आफ्नै लयमा फर्किंदै छ। भूकम्पको धुलो टकटकाएजस्तै सफा सुन्दर सांस्कृतिक नगरी यति बेला चिटिक्क देखिएको छ। भूकम्पले क्षति पु¥याएकामध्ये २६ वटा मन्दिर, ४२ पाटी, ८ द्योछे ‐देवघर) र  ४  प्रवेशद्वार पुनर्निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै ११ पोखरी, ७ इनार, ८ सत्तल, ७ ढुंगेधाराको जीर्णोद्धार तथा पुनर्निर्माण कार्य सम्पन्न भएसँगै नगर थप सुन्दर देखिएको छ।

यहाँको कामको तीव्रता कति छ भन्ने बुझ्नलाई यस आर्थिक वर्षको सुरुको ६ महिनाको काम हेरे पनि आँकलन लाउन सकिन्छ। यस अवधिमा ३ मन्दिर, ५ पाटी, १ द्योछे, १ पोखरी गरी ११ सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको छ। त्यस्तै यही अवधिमा २१ वटा सम्पदाहरू जीर्णाेद्धार तथा पुनर्निर्माणको क्रममा रहेको नगरपालिकाले जनाएको छ।  

इतिहासका जानकार र संस्कृतिविद्को सल्लाहमा मौलिकता नगुम्ने गरी नगरलाई थप सुन्दर र आकर्षक बनाउन पाएकामा नगरवासी दङ्ग रहेको मेयर प्रजापति बताउँछन्। यस कार्यका लागि उनीहरूले विदेशीको सहयोगसमेत लिएनन्। विदेशीलाई खासमा यहाँको मौलिक शैलीबारे जानकारी नहुने अनि उनीहरूका सर्त मान्दा हामीले आफ्ना सम्पदाको मूल्यमा समेत सम्झौता गर्नुपर्ने भएकाले आफैं काम गर्ने प्रयास गरेको उनले बताए। भूकम्पपछि नेपाल र जर्मन सरकारबीच भएको एक करोड युरोको सम्झौतालाई नगरले आफ्नो हितमा नभएको भन्दै स्वीकार गरेन। ‘विदेशी सहयोगमा मागेर बनाइएका सम्पदाबाट खुसी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार पुनर्निर्माण भएका सम्पदाप्रति गर्व गर्छौं,’ मेयर सुनिल प्रजापति भन्छन्, ‘त्यसैले नेपाल र जर्मन सरकारबीच भएको एक करोड युरोको सम्झौतालाई नगरले आफ्नो हितमा नभएको भन्दै स्वीकार गर्न सकेन।’

नगरले सम्पदा संरक्षणमा नगरवासीको सहयोग लिएको छ। परम्परागत सिपको ज्ञान राख्ने ज्येष्ठ नागरिकलाई समेत उचित सम्मान दिएर नयाँ पिँढीको हातमा सिप हस्तान्तरण गर्ने कार्यमा नगरपालिकाले सफलता हासिल गरेको छ। आफ्नै जिल्लामा उत्पादन भएका डकर्मी र इन्जिनियरको सहयोगमा सम्पदाको उत्कृष्ट पुनर्निर्माण हुँदै छ। यहाँका सर्वसाधारणको सिपको लाभ छिमेकी जिल्लाले समेत पाएको छ। काठमाडौंको प्रसिद्ध रानीपोखरीको पुनर्निर्माणमा भक्तपुरे महिलाको उल्लेखनीय योगदार रह्यो।

भक्तपुर नगरपालिकाको आम्दानीको स्रोत नगर घुम्न आउने पर्यटकबाट उठाइएको शुल्क पनि हो। यसैबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा टेवा पु¥याउँदै आएको छ। लकडाउनका कारण पछिल्लो समय पर्यटक नआउँदा आम्दानीमा कमी आएको छ तर नगरबासीले सम्पदा संरक्षणमा उत्साह देखाएका कारण पुनर्निर्माण कार्य रोकिएको छैन। त्यस्तै भक्तपुर नगरले परम्परागत स्वरूप जोगाउन निजी घरको पुनर्निर्माण र नयाँ घर निर्माणमा नगरको मापदण्ड कडाइसाथ लागु गर्ने गरेको छ। नगरले विश्व सम्पदा तथा सांस्कृतिक क्षेत्रभित्र निजी आवास भवन बनाउँदा मोहडाको निर्माणमा ३५ प्रतिशत लागत खर्च अनुदानस्वरूप दिने गरेको छ। जसले नगरमा परम्परागत ढङ्गबाट घर निर्माण गर्ने अभियान नै चलेको छ।

नगर क्षेत्रका भित्री सडकमा पिच गर्न पहिलेदेखि नै रोक लगाइएको थियो। इँटा बिछ्याएका सडक फोहोर हुन थालेपछि अहिले ढुङ्गा बिछ्याउन थालिएको छ। यसले नगरको सौन्दर्यमा थप वृद्धि भएको छ।

त्यस्तै नगरपालिकाले कला संस्कृतिको क्षेत्रमा उल्लेख्य काम गरेको छ। पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नारा आत्मसात् गर्दै नगरपालिका यसको संरक्षणमा अगाडि बढेको छ। संस्कृति संरक्षणका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको छ। त्यस्तै स्थानीय पाठ्यक्रममा ‘ख्वपको पहिचान’ मा यहाँका बाजागाजा, नाचगान परम्परागत खेलहरूको जानकारी दिइएको छ। जसका कारण नयाँ पिँढीले हराउँदै गएको परम्पराबारे सिक्ने अवसर पाएका छन्।

नगरपालिकाले यहाँका चाडपर्व, मौलिक जीवनशैली, संस्कार, दाफा भजन, गुठी, परम्परागत बाजागाजा तथा नृत्यलगायत मूर्त अमूर्त कलाको संरक्षणमा विशेष ध्यान पुर्‍याएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले बताए। ‘कला, संस्कृति र सम्पदाको संरक्षणले भक्तपुर नेपालकै मौलिक सहरका रूपमा जीवित छ,’ उनी भन्छन्, ‘यहाँको मौलिक जीवनशैली र सम्पदाले देशी विदेशी सबैको मन लोभ्याउने गरेको छ।’

 त्यस्तै संस्कृति जगेर्नामा पछिल्लो समय युवा सहभागिता भने बढ्दो छ। कला संस्कृतिप्रति उनीहरूमा देखिएको मोहले भक्तपुरलाई भक्तपुर नै बनाइराख्न सघाउने निश्चित छ। जसले भक्तपुरको वैभव मात्र जोगाउँदैन, तिनै युवाको भविष्य पनि सुनौलो हुन्छ। जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास, रथको डोरी तान्न उत्साहपूर्वक सहभागी हुन युवाका रुचि आश लाग्दा छन्। मानौं, उनीहरू रथको डोरी मात्रै होइन, संस्कृति पनि सँगसँगै तानिरहेका छन्।

खेती किसानीका लागि समेत चर्चित यो सहरमा पछिल्लो समय बढ्दो सहरीकरणसँगै कृषि सङ्कटमा परेको छ। तर नगरपालिकाले सर्वसाधारणको आय आर्जनका लागि वैकल्पिक अवस्थाबारे सोचिसकेको छ। उसले युवाहरूलाई लक्षित गर्दै नगर घुम्न आउने पर्यटकलाई सहयोग हुने उद्देश्यले गाइड तालिम, चाइनिजलगायत विभिन्न भाषाको प्रशिक्षण दिएको छ। त्यस्तै काष्ठकला, बुटिक, फोटोग्राफी, प्लम्बिङ, विद्युतीय तालिम दिएर युवालाई सिपयुक्त बनाउन थालेको छ। जसले गर्दा परम्परागत निर्माण कार्यमा डकर्मी, सिकर्मीको समस्या भएन। त्यस्तै भाषा ज्ञानका कारण पथप्रदर्शनका लागि थप सजिलो भएको छ। पाक शिक्षाका तालिमका कारण होटेल रेस्टुरेन्ट व्यवसाय फस्टाएको छ। ‘समग्रमा यो सहर आफ्नै खुट्टामा उभिएको छ,’ नगरप्रमुख प्रजापति भन्छन्, ‘नगरबासीको सहयोगले नगर झनै मजबुत भएको छ।’

धार्मिक सद्भाव

भक्तपुरमा बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बीबीच सदियौंदेखि एकअर्काप्रति अगाध स्नेह छ। एकै ठाउँमा मिलेर बसेका मन्दिर र चैत्यले आपसी भाइचाराको सन्देश प्रवाह गरिरहेको भान हुन्छ। अन्य धार्मिक सम्प्रदायबीच पनि उत्तिकै मिलाप छ। नगरका एकै पाटीमा विभिन्न धर्मावलम्बी लस्करै बसेर बात मार्दै गरेको दृश्य यहाँ सामान्य लाग्छ। हरेक समुदायको जात्रा र पर्वमा नगरपालिकाले मन फुकाएर सहयोग गर्ने गरेको छ।

समग्रमा नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छ सर्वसाधारणको ढोकाबाट चियाइने जीवनशैली, यहाँ भएका विकासका नवीन कार्यहरू। यस अर्थमा भक्तपुरभित्रको भक्तपुर झनै जीवन्त छ। यो जीवन्तताको यात्रा दशकौँ पुरानो हो तर पछिल्लो समय यसले तीव्रता पाएको छ।  

नगरको  समग्र विकासमा थुप्रैको योगदान रहेको छ। भक्तपुर नगरपालिकाले यतिबेला यसको नेतृत्व गरेको छ। यसका सफल सारथि नगरका मेयर सुनिल प्रजापति बनेका छन्। नगरको काम हेर्न मुलुकका विभिन्न पालिकाबाट मेयर उपमेयर तथा अन्य आगन्तुक आउने गरेको प्रजापति सुनाउँछन्। उनीहरूले यहाँको विकास मोडलबारे खुबै चासो राख्ने गरेको उनको बुझाइ छ। ‘भक्तपुरजस्तो सानो नगरले पनि राष्ट्रियस्तरका काम गर्न सक्षम भएको छ,’ नगरका मेयर सुनिल प्रजापति भन्छन्, ‘इमानदारी र लगनशिलताका साथ अगाडि बढ्ने हो भने मुलुकका अन्य पालिकाहरूले पनि आफ्नो  क्षेत्रका जनताको हितका लागि उल्लेख्य काम गर्न सक्छन्।’ 

एउटा सानो नगरले शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सक्षम भएको छ तर सरकारले किन यस्ता गोरेटोलाई राजमार्ग बनाउन ढिलाइ गर्छ ?  धेरैले प्रश्न गर्ने गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App