१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करिडोरमा धक्का मार्दै गाडी चलाउँदै

कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो। कर्णाली करिडोरको खुलालु पुलनजिकै गाडी चलाउँदा धक्का मानुपर्ने बाध्यता समेत रहेको छ।

कालिकोट र बाजुराको सिमाना लैफुसम्मको सडक सेनाले ट्र्याक खोल्दा बनाएका संरचनाहरू भत्किँदै गएका छन्। सडकको स्वरूप पनि कुरूप बन्दै गएको छ। वर्षाको पानी, बाढीपहिरो, धुलाम्मे सडक, खाल्डाखुल्डी जस्ता प्राकृतिक प्रकोपले सडक खुम्च्याउँदै गएको छ।

कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिनप्रतिदिन बिग्रिँदै गएको छ।

सेनाले निर्माण कार्य पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरेको तीन वर्ष बितिसक्दा पनि उक्त सडकको स्तरोन्नतिको काम नहुँदा यस राजमार्गको यात्रा असहज बन्दै गएको छ। कर्णालीको गेटवेका रूपमा चर्चित खुलालु पुलमै गाडी चढाउन मुस्किल छ।

कर्णाली करिडोरमा यात्रा गर्ने हरेक यात्रुहरू खुलालु पुल, आम्तडाको भीरलगायत दर्जनौं ठाउँमा गाडी नचढ्दा धक्का मार्दै गाडी गुडाउँदै यात्रा गर्न बाध्य छन्। गाडीचालक उमेश धितालका अनुसार कर्णाली करिडोरमा नागरिकले जोखिमपूर्ण यात्रा गरिरहेको बताए।

सेनाले निर्माण कार्य पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरेको तीन वर्ष बितिसक्दा पनि उक्त सडकको स्तरोन्नतिको काम नहुँदा यस राजमार्गको यात्रा असहज बन्दै गएको छ।

२०७१ साल चैत ९ गतेदेखि नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालिकोटबाट बाजुरासम्म सडकको ट्र्याक खोली गाडी गुडेको थियो। त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो। हुम्लाको ६ किलोमिटर चट्टानी भाग छारे भीरमा सेनाले अहिले पनि सडक खनिरहेको छ। अर्को असारमसान्तसम्म त्यो भीर पनि छिचोलेपछि राष्ट्रिय राजमार्गसँग नजोडिएको मुलुककै एक मात्र जिल्ला हुम्लामा पनि सरर गाडी गुड्नेछ।

जिल्लाको लालिघाट बजारदेखी बाजुराको हिमाली गाँउपालिकाको लेबडीसम्मको ७८ किलोमिटर सडकमा सार्वजनिक यातायात सञ्चालन भइसकेको छ। बाजुराको लेडीबाट हुम्लाको गल्फागाडसम्म सेनाको सामान ढुवानी गर्ने गाडी गुडिरहेका छन्। यो करिडोरको कुल लागत २ अर्ब ८४ करोड रहेको छ।

२०७१ साल चैत ९ गतेदेखि नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालिकोटबाट बाजुरासम्म सडकको ट्र्याक खोली गाडी गुडेको थियो।

यो वर्ष करिडोर निर्माणका लागि सरकारले १८ करोड ६३ लाख बजेट निकासा दिएको छ। गत आर्थिक वर्षसम्म १ अर्ब ५३ करोड बजेट खर्च भइसकेको छ। कर्णाली करिडोरमा पर्ने सान्नीगाड, फुगाड, कुवाडी खोला, गल्फागाडमा बेलिब्रिज निर्माण भइसकेको छ।

खुलालु खोलामा बेलिब्रिज निर्माण भइरहेको छ। कर्णाली करिडोर निर्माण पूरा भएको चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सिडक बन्नेछ।

यो वर्ष करिडोर निर्माणका लागि सरकारले १८ करोड ६३ लाख बजेट निकासा दिएको छ।

यसको कुल लम्बाइ ५ सय ३० किलोमिटर मात्र रहनेछ। यो सडकखण्ड निर्माण भएपछि बर्सेनि भारतबाट मानसरोवर आउने हजारौं पर्यटकका लागि निकै सहज छोटो दुरीको मार्ग हुनेछ।

प्रकाशित: ८ वैशाख २०८० ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App