१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पशु चौपायामा फैलियो ‘लम्पी स्किन’ रोग

डेढ लाख रुपैयाँ पर्ने लैना गाई भकाभक मर्दै

इलाम नगरपालिका–१०, गोदकका किसान भास्कर भारद्वाजले पालेको गाईमा देखिएको लम्पी स्किन रोगको लक्षण। तस्बिरः भीम÷नागरिक

इलाम नगरपालिका–१०, गोदकका नवीन गौतमको दिनहुँ १८ लिटर दूध दिइरहेको गाईलाई अचानक ज्वरो आयो। शरीरभरि फोका उठे, फोकामा पानी जम्यो। डेढ लाख रुपैयाँ मूल्य पर्ने लैनो गाई ४ दिनअघिमा मर्‍यो।

उनको गाईलाई डाक्टरले उपचार नगरेका होइनन्। घरायसी उपचारले पनि ‘२० को १९’ भएन। ‘दिनको १८ लिटर दूध दिइरहेको गाई उपचारै नपाएर मर्‍यो,’ नवीनले गुनासो गरे, ‘हामीजस्ता किसानलाई डेढ लाख रुपैयाँ नोक्सान हुनु सानो संकट होइन।’ २ साताअघि स्थानीय नरबहादुर पुर्कुटीको दिनहुँ ५ लिटर दूध दिइरहेको गाई पनि त्यही लक्षणले म¥यो। गाउँकै पूर्ण भट्टराईको गोठमा बाँधिएको एउटा बाच्छी मर्‍यो, माउ अहिले सिकिस्त छ।

यही गाउँकी दमन्ता कोइरालाको गोठमा दिनमा १२ लिटरको ढुंग्रो भरिरहेको लैनो गाई ११ दिनदेखि बिरामी छ। ‘डाक्टरले दुइटा सुई लगाइदिए तर खुवाउने औषधि चाहिँ छैन भन्छन्,’ कोइराला भन्छिन्, ‘अलि अत्थवा चाहिँ भयो तर अब के उपचार गरेर गाई बचाउने भन्ने डाक्टरलाई पनि थाहा छैन रे, ठूलो नोक्सान होलाजस्तो छ।’ रोगको लक्षण देखिएपछि गाई दुहुन नमिलेको उनले जनाइन्।

गोदककै वीरेन्द्र मिश्रको गोठमा अहिले ३ गाई सिकिस्त छन्। स्थानीय दीपक नेउपानेका २, सिर्जना रम्तेल र राजकुमार रम्तेलको गोठमा पनि लैना गाई भकाभक बिरामी परिरहेका छन्। स्थानीय भास्कर भारद्वाजको ९० हजार रुपैयाँ पर्ने गाईलाई त्यही लक्षण देखिएको छ। ‘औषधि केही छैन,’ भारद्वाज भन्छन्, ‘तीतेपाती र विभिन्न जडीबुुटी खोजेर गाई बचाउने उपाय खोज्दैछौं। डाक्टर त यसको औषधि नै पत्ता लागेको छैन भन्छन्।’

औषधोपचार हुन नसकेको रोगका कारण चौपाया मर्न थालेपछि जिल्लाका हजारौं किसान चिन्तामा छन्। केही समययता गाईवस्तुमा ‘लम्पी स्किन’ रोग फैलिएर दुहुना गाई भकाभक मरेपछि किसान अताल्लिएका हुन्। दिनहुँ २२ लिटरसम्म दूध दिने गाईसमेत यो रोगले मरिरहेका छन्। गाईलाई ज्वरो आउने, शरीरभर फोका उठ्ने, तिनै फोका पाकेर कीरा पर्ने, खुट्टा सुन्निनेजस्ता लक्षण गाईमा देखिएको किसानले बताएका छन्। यस्ता लक्षण देखिएको केही दिनमा घाँस खान छाडेर पसारिने र मर्नेगरेका छन्।

रोङ गाउँपालिका ५ का मिलन नेउपानेले पालेको गाईलाई केहीदिनअघि किन्न आएका मान्छेले १ लाख रुपैयाँ दिएर लैजाने प्रस्ताव गरे। तर, नेउपानेले त्यो दाममा दिन नसक्ने बताएपछि खरिदकर्ता फर्किए। त्यही गाईलाई ‘नचिनेको रोग’ लाग्यो। सिकिस्त हुँदा पनि उपचार भएन, गोठमै गाई म¥यो। ‘रोग लागेपछि कुनै उपचार हुन सकेन,’ उनले दुखेसो गरे, ‘जानेको उपचार गर्दा पनि बिसेक भएन, १ लाख दाम मोलिसकेको गाई हेर्दाहेर्दा गोठमै मर्‍यो।’  

यही गाउँका मनलाल कट्टेलको गोठमा पनि गाई बिरामी छ। स्थानीय राजेन्द्र आचार्यको ब्याउन लागेको धेरै मूल्यको गाई १५ दिनयता बसेको छैन। रोगको लक्षण सुरु भइसकेको छ। गाईका चारै खुट्टा पाकेर पिप निस्किन थालिसकेको छ। अर्का किसान राम भुजेल पनि गाई बिरामी भएपछि चिन्तामा छन्।

गोदक र रोङमात्र होइन, करिब तीन सातायता जिल्लाका १० वटै पालिकामा यो रोगको संक्रमण फैलिँदै छ। पशु प्राविधिकका अनुसार उपयुक्त औषधि र उपचार नहुँदा अहिले यो रोग बढ्ने क्रममा छ। सूर्याेदय नगरपालिकामा मात्रै हजारभन्दा बढी गाईमा यो रोगको संक्रमण देखिएको नगरको पशु विकास शाखाले जनाएको छ। ‘गाई बिरामी भएको मात्र होइन, धमाधम मरिरहेको खबर आउँदैछ,’ शाखाका विपीन साहले भने, ‘पशुमा रोग फैलिएपछि प्रदेश र संघीय सरकारलाई जानकारी गराएका छौं।’ पशु प्राविधिकको सल्लाहमा किसानलाई सम्भावित औषधि चाहिँ निःशुल्क वितरण गरेको मेयर रणबहादुर राईले जनाए।

इलाम नगरपालिका–१२ का होम प्रसाईंको माउगाई पनि यही रोगले म¥यो। नगरका सयौं गाई अहिले यसबाट संक्रमित भइसकेको नगरको पशु शाखाका रूपबहादुर लिम्बूले जानकारी दिए। ‘यही औषधि प्रयोग गर्दा रोग ठीक हुन्छ भन्ने अनुमान हुन सकेको छैन,’ उनी भन्छन्, ‘एन्टिबायोटिकले समेत काम गरिरहेको छैन।’ उनका अनुसार लक्षणअनुसारको उपचारमात्र गर्नुपरेको र त्यसले रोग ठीक हुन नसकेको हो।

झिँगाका कारण पनि गोठमा बाँधिएको एउटा गाईबाट अर्काेमा यो रोग सर्नेगरेको अनुमान पशु प्राविधिकको छ। इलामसमेत कार्यक्षेत्र रहेको झापास्थित भेटेरीनरी अस्पतालका पशुप्राविधिक शितल भट्टराईले रोगी पशुको नमुना प्रयोगशालामा पठाइएको बताए। उनले अहिले रोग नियन्त्रण हुन नसकेको र यसको खोप नभएको बताए। ‘हामीले खोपका लागि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘गर्मी मौसम भएकाले पशुलाई फोहोरबाट बचाउन पनि आवश्यक छ।’  

प्रकाशित: ३ वैशाख २०८० १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App