७ वैशाख २०८१ शुक्रबार
समाज

कामका लागि भिजिट भिसामा विदेश जाँदा उच्च जोखिम

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ। मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ। विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ।

चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ। माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको ब्युरोले जनाएको छ।

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, गएर के काममा गर्नुपर्ने हो भन्ने विषयमा थाहा नभएको पाइएको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषा सम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ। बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको ब्युरोको भनाइ छ। खासगरी अवैध तरिकाले घरेलु कामदारका रूपमा भिजिट भिसामा विभिन्न देशमा जान लागेकालाई यसरी फर्काउने गरिएको छ।

सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ। तर मानव तस्करले सेटिङमा नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो खाडी मुलुकमा पठाउने गरेका छन्।

 तस्करहरूले विमानस्थल अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर भिजिट भिसामा नेपालीलाई काम गर्ने गरी खाडी मुलुक पठाउने गरेको पाइएको छ। तस्करले सेटिङमा भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ। भिजिट भिसामा खाडी पु¥याइएका नेपाली युवा कामका लागि लुकेर बस्ने गरेको ब्युरोका एसपी नरहरि रेग्मीले बताए।

भिजिट भिसामा विदेश जान लाग्दा विमानस्थलबाट फर्काइएकामध्ये काभ्रेकी मनमाया तामाङ पनि एक हुन्। पतिको कमाइ नहुँदा घरपरिवार धान्न भिजिट भिसामा कामका लागि कुवेत जान लागेको तर सफल हुन नसकेको उनी बताउँछिन्।

२८ वर्षीया मनमाया दुई सन्तानकी आमा हुन्। गिट्टी कुटेरै घरखर्च जुटाउँदै आएकी उनी राम्रो कमाइ हुने आशामा बिदेसिन लागेकी थिइन्। तर भिजिट भिसाको दुरुपयोग गरी उनलाई कामका लागि कुबेत पठाउन लागेको पाइएकाले ब्युरोले रोकेको हो।

एजेन्टकै सहयोगमा गाउँका थुप्रै दिदीबहिनी कुबेत पुगेको बताउने उनी आफूलाई विमानस्थलबाट फर्काइएकामा दुःखी छिन्। उनले भनिन्, ‘चैत २६ गते राति साढे १० बजे कुबेतको उडान थियो तर विमानस्थल प्रहरीबाट मेरा सबै कागजात खोसियो, जान दिइएन।’

नक्कली श्रम स्वीकृतिका कागजात भएकाले फर्काइएको जानकारी प्रहरीले गराएको उनले बताइन्। कुबेत जान लागे पनि के काम गर्ने भन्ने आफूलाई थाहा नभएको तामाङले बताइन्।

‘भाइले कुबेतको एयपोर्ट पुग्नेबित्तिकै कोही मान्छे लिन आउने र उसैले काममा लगाइदिने भनेको थियो,’ उनले भनिन्। छोराछोरीको उज्ज्वल भविष्यका लागि आफू विदेश जान राजी भएको उनको भनाइ छ।

विदेश जान एक पैसा पनि खर्च नलाग्ने, राहदानी बनाउनेदेखि गन्तव्य मुलुक नपुगुन्जेल एजेन्टले नै सबै व्यवस्था गरिदिने, काठमाडौंमा बस्नेखाने चिन्ता पनि लिनुनपर्ने भन्दै प्रलोभनमा पारिएकी मकवानपुरकी कुमारीमाया थिङ पनि चैत २६ गते राति साढे ११ बजे दुबई उड्न भन्दै विमानस्थल पुगिन्। एजेन्टले अरू चार महिलालाई पनि ट्याक्सीमा लगेर विमानस्थलमा छाडिदिएका थिए।

भित्र छिर्ने बेलामा प्रहरीले केरकार गर्‍यो, गन्तव्य मुलुक सोध्यो। एजेन्टसँग भएको कुराकानीकै आधारमा उनले एक महिनाका लागि दुबई भ्रमणमा जान लागेको बताइन्। ‘तर प्रहरीले घरायसी कामका लागि दुबई जान लागेको भन्दै कागजात र राहदानी नियन्त्रणमा लिएर मलाई घर फिर्ता पठायो,’ उनले भनिन्, ‘त्यो दिन अरू धेरै दिदीबहिनी पनि फर्काइए।’

बाध्यताले खाडी मुलुक जान लागे पनि नसकिएको उनले बताइन्। सानै उमेरमा विवाह गरेकी दुई सन्तानकी आमा उनले घरखर्च धान्न गाह्रो भएपछि बिदेसिन लागेको बताइन्। ‘पतिले कमाएको पैसा मदिरामै सिध्याउनुहुन्थ्यो, ममाथि कुटपिट पनि गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘यातना खप्न नसकेर छोराछोरी लिएर माइत गएँ।’ यसोउसो मिलाएर खाडी जान लाग्दा सफल हुन सकिनँ।’

उनले अब ज्यामी काम गरेर छोराछोरी पढाउने बताइन् । चिनेजानेकै व्यक्तिले आफूलाई भिजिट भिसामा त्यता पठाउन लागेको विमानस्थल पुगेपछि मात्र थाहा पाएको उनको भनाइ छ।

भिजिट भिसाको दुरूपयोग गर्दै एजेन्टले प्रतिबन्धित मुलुकमा घरेलु कामका लागि नेपालीलाई पठाउने क्रम जारी छ। यसरी भिजिट भिसामा कामका लागि विदेश जान लागेकालाई त्यसबाट निम्तिन सक्ने उच्च जोखिमबारे जानकारी गराएर ब्युरोले विमानस्थलबाट फर्काउने गरेको हो। ‘सरकारले तोकेको मापदण्डभित्र रहेर र प्रक्रिया पुर्‍याएर मात्र विदेश जान परामर्श दिने गरेका छौं,’ ब्युरोका एसपी रेग्मीले भने। खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी मान्छे खोजेर राहदानी बनाउनेदेखि उडाउनेसम्म गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

‘एजेन्टले आर्थिक अवस्था न्यून भएका मान्छे खोजेर पासपोर्ट बनाइदिने, गाउँबाट काठमाडौंसम्मको यातायात खर्च बेहोर्ने, होटल खर्च दिने, एयरलाइन्सको टिकट किनिदिने गरेको देखिएको छ,’ उनले भने, ‘भिजिट भिसामा दुबई हुँदै कुबेत, ओमन, जोर्डनलगायत खाडी मुलुकमा घरेलु कामदार पठाएको पाइएको छ।’

यसरी खाडी मुलुक पुर्‍याएपछि मात्र उनीहरूबाट एजेन्टले सबै खर्च असुल्ने गरेका छन्। सम्बन्धित देशमा बोलिने भाषा नजान्दा र सीप नहुँदा भिजिट भिसामा खाडी मुलुक जानेले यातना सहनुपर्ने, यौनशोषण खेप्नुपर्ने, शारीरिक तथा मानसिक दबाब भोग्नुपर्ने उनले बताए। ‘भिजिट भिसामा गएर दुःख पाएका धेरैले उद्धार गरिदिनुपर्‍यो भनेर सूचना गरेका छन्,’ रेग्मीले भने।

कानुनतः कुबेत, ओमन, साउदी, कतार, लेबनान लगायत मुलुकमा घरेलु कामदार लैजान पाइँदैन। तर पनि अनेक तरिकाले ती देशमा जाने-पठाउने क्रम रोकिएको छैन। गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने र सोबाट सिर्जित समस्या समाधानका उपाय सिफारिस गर्न कार्यदल बनाएको थियो। कार्यदलले प्रतिवेदनसहितको सुझाव दिएको छ। जसअनुसार खाडी मुलुकबाहिर कम्तीमा एकपटक र खाडी मुलुकका हकमा दुईपटक विदेश यात्राको अभिलेख भएका मात्र फेरि विदेश जान योग्य हुन्छन्।

त्यस्तै न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित व्यक्ति मात्र भिजिट भिसाका लागि योग्य हुन्छन्। विदेश जानका लागि न्यूनतम उच्च माध्यमिक तहको औपचारिक शिक्षा वा सोसरहको प्राविधिक–व्यावसायिक सीप दक्षता हासिल गरेका र गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो ज्ञान लिएको हुनुपर्छ।

यस्तै गन्तव्य मुलुकमा रहेको नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका, सरकारी कामको सिलसिलामा जाने कर्मचारी/व्यक्ति, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संघसंस्थाका प्रतिनिधि, व्यावसायिक कम्पनी/फर्मका सञ्चालक/व्यवसायी पनि भिजिट भिसाका लागि योग्य हुन्छन्।

एकाघरको नातेदारका साथमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा पनि भिजिट भिसामा जान पाइने प्रतिवेदनमा उल्लेख छ। विगतमा भिजिट भिसामा खाडी मुलुक जान चाहनेले १ हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा रोकटोक हुँदैनथ्यो। भिजिट भिसामा खाडी मुलुक गएका महिला कामदारमाथि हिंसा भएको उजुरी पर्न थालेपछि सरकारले भिजिट भिसामा त्यहाँ जान रोक लगाएको हो।

प्रकाशित: १ वैशाख २०८० २३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App