coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिसोमा कष्टकर दैनिकी गुजार्दै भूकम्प पीडित (फोटोफिचर )

पाल्पा–महाविनाशकारी भूकम्प गएको बीस महिना बितिसक्दा पनि सहयोग नपाएपछि सहलकोटका भूकम्प पीडितको दैनिकी झनै कष्टकर बनेको छ। गाउँमा प्राय सबै घरका मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन थालेका छ। धेरैलाई निमोनिया, जण्डिस, दम, झाडापखाला तथा रुखाखोकीको समस्याले ग्रसित भएका छन्।

सहलकोट–९ सुकेकोटकी मीना राना दश दिनकी सुत्केरी हुन्। उनी चिसो भूँईमा टिनको छानामुनी टहरोमा सुत्कै आएकी छिन्। बच्चालाई जण्डिस देखा परेसँगै मन पीडा थपिएको उनले बताइन्। उनी भन्छिन्, ‘भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले आश्वासनमात्र दिन्छ। हामी गरिबमाथि प्रकृतिले अन्याय गर्यो। खानेसुत्ने एकै ठाउँ हो। घरमा भएका कुखुरा बाख्रासँगै सुत्नुपर्छ।’ उनले सुत्केरी भएर पनि पौष्टिक आहारका त के कुरा पूरा पेटभरी खाना समेत खान नपाएको गुनासो गरिन्।

सोही स्थानका गोबद्र्धन दमाई निमोनिया ग्रसित छन्। ‘खानेबस्ने ठेगान छैन। दिनभरी बारीमा कुटोकोदालो गर्ने हो। तर खान पुग्दैन। १९ जनाको परिवार छ । तीन तले घर भूकम्पले लडाई दियो । अहिले परिवार पनि तितरवितर भा’को छ,’ उनले भने, ‘परिवारको चिल्लीविचल्ली भएको छ। रासन किन्नलाई पैसा छैन । सुत्नलाई ओत छैन । रुघाखोकीले सबैलाई छोएको छ।’

जिल्लामा सबैभन्दा बढी प्रभावित भएको स्थान हो–सुकेकोट। यहाँका भूकम्प पीडितहरुलाई सरकारले अहिलेसम्म टहरा निर्माणकालागि सरकारले १५ हजार र न्यानो कपडा खरीदकालागि १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। भूकम्प पीडित व्यवस्थापन संयोजक रहेका उमेरकुमार गाहाले तात्कालीन केही खाद्य सामाग्री र जम्मा २५ हजार रुपैयाँ बाहेक अन्य कुनै सहयोग नपाएको बताए। दुई बर्खा बितिसक्यो सरकारले के हेरेर बसेको छ?,’ उनले प्रश्न गर्दै भने। मानिसहरुमा स्वास्थ्य समस्या देखा परेपनि औषधि उपचार गर्न जान पैसा नभएको उनले बताए।

२०७२ वैशाष १२ गते गएको भूकम्पमा यहाँका १० घरहरु भत्किएका थिए भने अन्य घरहरु चर्किएको मात्र थियो । वैशाष २९ गते गएको भूकम्पका कारण गाउँका–९ मा मात्र ५६ घरहरु सखाप भए। गाउँका दुई वटा कुडुले घर भने बाँकी छन्। १९९० सालमा गएको भूकम्पमा समेत जिल्लामै सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको सुकेकोटमा न्यानो कपडा र स्वास्थ्य अवस्था जटील समस्या बन्दै गइरहेको छ।

जापानिज समाजसेवी काजुमासा काकीमी (ओके बाजे) ले एक लाख रुपैयाँ प्रदान गरेका थिए। जुन रकमबाट सुकेकोटका स्थानीयले दाल, चामल, चाउचाउ, बिस्कुट, चिउरा खरिद गरे। गोर्खा वेल्फेयर सेन्टरले एक पूर्व सेनाको घर निर्माण गरिरहेको छ। सहलकोट गाविसमा जम्मा ५९ घरधूरीले रातो कार्ड प्राप्त गरेका छन्। जिल्ला दैवी प्रकोप उद्दार समितिमार्फत् अहिलेसम्म २५ हजार नगद सहयोग मात्र प्रदान भएको छ।

जिल्लामा भूकम्प पीडितको लगत संकलन व्यवस्थापन गर्न पुस ४ गते जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय स्थापना गरिएको छ। कार्यालयका प्रमुख अनिरुद्रप्रसाद उपाध्यायले जिल्लामा यही महिनाको अन्तिमदेखि लगत संकलनका कार्य सुरु गर्न लागेको बताए। उनी भन्छन्, ‘भूकम्पको सामाजिक, आर्थिक र भौतिक लगत संकलन गर्नका लागि ३२ वटा टोली जिल्लामा ४५ दिनसम्म खटिँदैछन् ।

इञ्जिनियरहरुले सामाजिक परिचालकहरुको सहयोगमा जिल्लाका ११ हजार ३ सय ४५ घरधूरीमा गएर लगत संकलन गर्नेछन्।’ टोलीका इञ्जिनियरहरुले घरको चौकिल्ला सहित विस्तृत विवरण अपलोप ट्याबबाट गर्नेछन् । उक्त तथ्याङ्क केन्द्रीय तथ्याङ्क विभागले एकिकृत गर्दैछ। टोलीले एक दिन ८ घरधूरीको सर्वेक्षण गर्ने उपाध्यायले बताए।

जिल्ला लगत संकलन व्यवस्थापन समितिका फोकल पर्सन दुर्गाबहादुर थापाले जिल्लामा पुनः नयाँ विस्तृत सर्वेक्षण हुन लागेको बताए। उनी भन्छन्, ‘पहिलेको तथ्याङ्कका आधारमा प्रभावित ठाउँका लिष्टमा जुनसुकै कार्ड पाएका वा नपाएकाहरुको तथ्याङ्क इञ्जिनियरहरुले संकलन गर्नेछन्।’ थापाले जिल्लाका १९ सय घरधूरी पूर्ण रुपमा क्षति भएको बताए । जिल्लामा केहीले १० हजार र १५ हजार रुपैयाँ बुझेको र केहीले बुझ्न नमानेको बताउँदै अब नयाँ प्रक्रिया अनुसार सरकारको निर्देशन अनुसारमात्र राहत वितरण प्रक्रिया सुरु हुने थापाको भनाइ छ ।

प्रकाशित: २५ पुस २०७३ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App