८ वैशाख २०८१ शनिबार
समाज

ठूला व्यवसायीको ठूलो लापरवाहीः ललितपुरमा बस्तीनै खलबलिने गरी अपार्टमेन्ट निर्माण

निर्माण संरचनाको नक्सापास पनि छैन, इआइए पनि छैन

ललितपुरको बखुन्डोलमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले साविकको समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माण गरिरहेको छ। 

यो निर्माणले त्यस क्षेत्र वरपरका सर्वसाधारण त्रसित छन्। किनकि कतिपय स्थानीयका घर आँगन भा“सिएका छन्। कतिपयको भाँसिने क्रममा छन्। स्थानीयहरू निर्माण कार्यमा गरिएको लापरबाहीले यस्तो  अवस्था आएको तर निर्माण गरिरहेका व्यक्ति वा समूहलाई सरकारलेनै सुरक्षा दिइरहेको गुनासो गरिरहेका छन्। ठुला पहुँच भएका व्यवसायी र सांसदहरू यस कार्यमा लागेकाले सरोकारवाला निकाय पनि मुखदर्शक भएको स्थानीयको गुनासो छ। 

निर्माणाधीन अपार्टमेन्ट नजिकै रहेको ग्रीनविच होटलका सञ्चालक शशांक आचार्य यतिबेला आर्थिक र मानसिक दोहोरो तनावमा छन्। साविक समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माणका क्रममा जमिन भासिएपछि उनी निराश छन्।

चैत २४ गते राती जमिन भासिँदा नजिकै रहेको उनको होटलमा समेत गम्भीर असर पुगेपछि उनको होटल पनि ‘रेडजोन मा परेको छ। 

‘सामान्य मान्छेले यति लापरबाही ढङ्गले निर्माण कार्य भएको भए अहिलेसम्म पक्राउ परिसक्थे’, कुनै पनि बेला होटल भत्कन सक्ने भन्दै सामान हटाउँदै गरेका आचार्यले भने, ‘यति गम्भीर घटना हुँदा पनि राज्यले सोचेजस्तो तदारुकता देखाउन सकेको छैन।’

घना बस्ती र हरियाली रहेको ठाउँमा यति फराकिलो र गहिरो खाल्डो लापरबाही ढङ्गले खनिनु लापरबाहीपूर्ण रहेको उनले बताए। करिब १८ रोपनी जग्गामा झन्डै ३२ फिट गहिरो जग खन्ने कार्य एक महिनाअघि सुरु भएको थियो। उक्त स्थानमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले यो अपार्टमेन्ट बनाउन लागेको हो।

तस्बिरमा व्यवसायीहरु विनोदकुमार चौधरी र रविभक्त श्रेष्ठ। 

उक्त निर्माण कार्यका कारण नजिकका केही संरचना मात्र नभएर बखुन्डोल हाइटको सिङ्गो ‘कम्युनिटी’नै जोखिममा परेको अचार्यले सुनाए। ‘जुनसुकै बेला जोकोहीको घर भासिन सक्छ’,उनले भने, ‘यति ठुलो जोखिमयुक्त काम हुँदा त्यसको निराकरणमा तीव्रता देखिएन।’

निर्माणस्थलसँगै घर भएका रञ्जन विष्ट त्योभन्दा बढी तनावमा छन्। अपार्टमेन्ट निर्माणका क्रममा जमिन भासिएर उनको पुर्ख्यौली घर भत्कनुका साथै काकाको छोराको बन्दै गरेको नयाँ घर भासिएको छ।

स्थानीयले निर्माण अगाडि नबढाउन बारम्बार भन्दै आए पनि निर्माण पक्षले बेवास्ता गरेको उनको भनाइ छ। ‘सुरुमा त हामीलाई सेफ्टीका लागि खाल्डो बनाउन लागिएको भन्दै झुक्काइयो’,उनले भने, ‘जमिन चर्कन थालेपछि काम अगाडि नबढाउन आग्रह गर्दा पनि उनीहरूले मानेनन्।’ मध्य रातमा घर भत्कँदा मानवीय क्षति नभए पनि यो दुर्भाग्यपूर्ण रहेको उनले बताए।

उस्तै चिन्ता व्यक्त गर्छन् नजिकैका प्रदीप न्यौपाने पनि। खाल्डोबाट करिब ५० मिटरको दूरीमा आफ्नो घर भए पनि छिमेकीको घर चर्केपछि उनी तनावमा छन्। ‘मेरो घरमा ८४ वर्षीय आमा डिप्रेसनको बिरामी हुनुहुन्छ’,न्यौपानले भने, ‘हामी थप समस्यामा परेका छौँ।’

आमालाई घटनाबारे जानकारी नगराए पनि कुनै पनि बेला भाग्नुपर्ने अवस्था रहेको उनले सुनाए। ‘यति गम्भीर लापरबाही हुँदा पनि यसको समाधानमा युद्धस्तरमा काम भएको छैन’,उनले भने, ‘अझै पनि मिलाउने र सामसुम पार्ने प्रयास भइरहेको देखिन्छ।’

यता ललितपुर महानगरपालिकाले नक्सापास नगरी स्वीकृतबिनै अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल) लाई हदैसम्मको कानुनी कारबाही गर्ने जनाएको छ। बखुन्डोलस्थित साविक समिट होटल रहेको स्थानमा अपार्टमेन्ट निर्माणका क्रममा उत्पन्न समस्या सम्बोधन गर्न आइतबार बसेको सर्वपक्षीय बैंठकले निर्माण पक्षलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको हो। यो अपार्टमेन्ट महानगरपालिकाबाट नक्सापास नगरी निर्माण गरिएको समेत पाइएको छ।

त्यस्तै अपार्टमेन्टको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत नगरिएको फेला परेको छ। निर्माण पक्ष आर्थिक र राजनीतिक दुवैमा शक्तिशाली भएका कारण राज्यले कारबाहीमा ढिलाइ गरेको आरोप लागेको छ, तर ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले व्यवस्थापन पक्ष दोषी देखिएकाले कानुनबमोजिम कारबाही अगाडि बढाउने बताए। ‘नक्सापास नगरी काम सुरु गरिएकाले यसको व्यवस्थापन पक्ष सीधै दोषी छ’, मेयर महर्जनले भने, ‘कानुन सबैलाई लाग्छ, शक्तिशाली मान्छेलाई कानुन नलाग्ने भन्ने हुँदैन।’

त्यस्तै समिट अपार्टमेन्ट निर्माणका क्रममा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार बाह्र बुँदे सहमति भए पनि स्थानीय सन्तुष्ट छैनन्। ‘तत्कालीन मात्र हैन, यसले दीर्घकालसम्म असर पार्ने छ’,रञ्जन विष्ट भन्छन्, ‘त्यसैले हामी अहिले आर्थिक र मानसिक दुवै रूपमा तनावमा छौँ।’ निर्माण पक्ष शक्तिशाली भएका कारण आफूहरू ढुक्क हुन नसकेको उनी बताउँछन्।

कुनै भवन संरचनाको निर्माण पूर्व नक्सा पास गराउनुपर्छ। नक्सा पासको कार्यविधिअनुसार, सँधियारको मन्जुरी पनि महत्त्वपूर्ण हुन्छ, तर निर्माण पक्षले स्थानीयको स्वीकृतिप्रति बेवास्ता गरेको छ। यसअगाडि नक्साल भगवती मान्दिरनजिकै पनि भवन निर्माण गर्दा सडक भासिएको थियो। विगतका गल्तीबाट सिक्नेभन्दा दोहोराउने प्रवृत्ति झनै खतरनाक रहेको स्थानीयले सुनाए। ‘धनीको महल बन्दा गरिबको घर भासिने स्थिति अन्त्य हुनुपर्छ’, स्थानीय निरज पाण्डेय भन्छन्, ‘राज्यले यस विषयमा चाँडोभन्दा चाँडो कडा कदम चाल्ने आशा लिएका छौँ।’

प्रकाशित: २८ चैत्र २०७९ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App