रौतहटमा एकजना नक्कली परीक्षार्थी पक्राउ परेको छ। अर्काको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका नक्कली परीक्षार्थीलाई जिल्ला परीक्षा अनुगमन समितिले आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह रहेका छन्। पक्राउ परेका नक्कली परीक्षार्थी इन्जिनियर रहेको बताइएको छ। नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका साहलाई अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ। परीक्षार्थी प्रेमलाल साह कानुको ठेगाना देवाही गोनाही नगरपालिका ९ रहेको बताइएको छ।
परीक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह नक्कली परीक्षार्थी भएको बुझिएको छ। पक्राउ परेका नक्कली परीक्षार्थीको विषयमा भेरिफिकेशन भइरहेको तथा त्यस सम्बन्धमा गहन अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले पक्राउ परेका साहलाई नियन्त्रणमा राखिएको बताएका छन्।
प्रकाशित: १९ चैत्र २०७९ १३:१७ आइतबार




