६ चैत्र २०८० मंगलबार
समाज

पाँच नेपाली युवा मलेसियामा अलपत्र

दलाल (एजेन्ट) का कारण वैदेशिक रोजगारीमा बिभिन्न देशलाई गन्तव्य बनाउने नेपाली युवाहरु विदेशमा अलपत्र पर्ने श्रृङ्खला जारी छ। झण्डै ६ महिनायता खोटाङका २ सहित बिभिन्न ठाउँका ५ नेपाली युवा मलेसियामा अलपत्र पर्नुले यो कुरा प्रमाणित हुन्छ।

वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिक १७ गते (सन् २०२२ नोभेम्बर ३) मा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यान पावर कम्पनीका एजेन्टहरुको लापरबाहीका कारण अलपत्र पर्नुपरेको आफ्नतहरुको  गुनासो छ। आफन्तजनका अनुसार एजेन्टको बदमासीका कारण खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका सोम मगर र केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका सुजन खड्कासहित ५ नेपाली युवा मलेसियामा अलपत्र पर्नु परेको छ।  

उनीहरुसँगै भोजपुरको षडानन्द नगरपालिका ८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका १ बहेरीका सनम दराई पनि मलेसियमा विजोग अवस्थमा पुगेका छन्। काठमाडौँको गौशलास्थित उत्सव म्यान पावर कम्पनीमार्फत मलेसिया उडेका उनीहरुलाई ‘फ्रि भिषा’ र ‘फ्रि टिकट’को प्रलोभन देखाउँदै उनीहरुलाई मासिक १ हजार ५ सय रिङ्गेट (मेसियन मुद्रा) अर्थात नेपाली ४५ हजार आधाभूत तलब पाउने प्रलोभन दिइएको थियो।  

यस्तो प्रलोभन पाएका उनीहरुले एजेन्टलाई प्रतिव्यक्ति २ लाख ६० हजारका दरले फरकफरक एजेन्टलाई फरकफरक परिमाणको रकम बुझाएर मलेसिया पुगेको पनि आफन्तको भनाई छ। तर, मलेसिया पुगेपछि म्यान पावर कम्पनीले खानबस्नसमेत नपुग्ने पारिश्रमिक दिएपछि सम्झौता अनुसार गर्न माग गर्दा आफुहरुलाई बन्द कोठामा राखेर मानसिक र शारीरिक यातनासमेत दिने गरेको गुनासो आफन्तले गरेका छन्।  

मलेसियाको मेना कलेक्सन एसडिएन बिएचडि कम्पनीमा सरसफाईको काम गर्न श्रम सम्झौता गरेका उनीहरुले हालसम्म खाना र खाजा खर्चबापत १ सय ५० रिङ्गेट अर्थात नेपाली ४ हजार ५ सय रुपैँया मात्र पाएको बताएका छन्। पीडितमध्येका सोम मगरले मलेसिया जान निरज दाहाल नामक एजेन्टलाई २ लाख ६० हजार बुझाएको बताएका छन्। त्यस्तै सुजनले अर्का एजेन्ट ध्रुब दङ्गाललाई २ लाख ४० हजार बुझाएका थिए भने सुमन र प्रकाशले हेम अधिकारी भन्ने एजेन्टलाई २ लाख ६० हजारका दरले बुझाएको बताएका छन्। त्यसैगरी सोनामले भवानी तिम्सिना नाम गरेका एजेन्टलाई २ लाख ५० हजार बुझाएको बताएका छन्।  

दैनिक ८ घण्टा, हप्ताको ६ दिन काम गर्नुपर्ने सम्झौता भएकोमा अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएकाले त्यत्तिकै कोठामा थुनिएर बस्नुपरेको मगरले आफन्तलाई भिडियो कलमार्फत बताएका छन्। उनका अनु्सार मलेसिया पुगेपछि सुरुमा १८ दिन काम गरेको तर, त्यसपछि ५ महिना बितिसक्दासम्म सम्झौतामा उल्लेख भएको कम्पनीले भेटसम्म दिएको छैन। मलेसिया उडाउने नेपालस्थित कम्पनीका मान्छेलाई फोन गर्दा अनेक बहाना बनाएर टार्ने ंगरेको बरु धामधम्की दिने गरेको उनीहरुको दुःखेसो छ।  

मलेसिया पुगेको २ महिनापछि उत्सव म्यान पावरका निर्देशक भीष्म श्रेष्ठ आएर काम नपाए पनि २ महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर फर्केका थिए। तर, त्यो पनि नपाएको उनीहरुले बताएका छन्। रातदिन एउटै कोठामा थुनिएर बसिरहेकै बेला पुगेका श्रेष्ठले भोलिपल्टबाटै काम लगाउने बताए पनि हालसम्म उनीहरुले न काम पाएका छन् न दाम। सम्झौता बमोजिम काम नभएपछि तुरुन्त नेपाल फर्काउन आग्रह गर्दा उल्टै म्यान पावर कम्पनीका मान्छेले धम्क्याउने गरेको गुनासो उनीहरुको छ। साहुको ऋण काढेर कमाउन विदेश गएका युवनहरु बन्दी भएर बस्नुपर्दा लगानी डुब्नुका साथै भविष्यसमेत अन्धकार भएकाले चिन्तित छन्।  

आफन्तहरुसँग उनीहरुले जसरी भए पनि नेपाल फर्काउन आग्रह गरेको भन्दै भन्दै उनीहले नेपाल आएपछि सम्झौता बमोजिमको ५ महिनाको तलब र धरौटीबापत दिएको रकमको साँवा÷ब्याजसमेत म्यान पावर कम्पनीसँग क्षतिपूर्ति माग्ने उनीहरुको योजना छ। आकर्षक कमाई हुने नाममा सोझा साझा युवाहरुलाई प्रलोभनमा पारेर भविष्यमाथि नै खेलबाड गर्नेहरुलाई नछाड्ने पनि उनीहरुले बताएका छन्।  

सोम मगरबाट पैसा लिएका दाहाल उनकै गाउँले भएको खुलेको छ। उनले आफु एजेन्ट नभएर गाउँलेको नाताले विदेश पठाउन सहयोग मात्र गरेको बताएका छन्। उनले आफुले चिनेको साथीको कम्पनीमा पु¥याएर सहयोग मात्र गरेको भन्दै उनले कम्पनी नराम्रो परेको हुनसक्ने बताए। उनले मलेसियामा दुःख पाएको खवर सुनेर आफु पनि दुःखी भएको भन्दै सक्दो सहयोग गर्न तयार रहेको बताए।  

कम्पनीका निर्देशक श्रेष्ठले सम्झौता अवधिभर काम नपाए पनि तलब दिलाउने जिम्मा आफुले लिने बताए। श्रेष्ठले उनीहरुलाई काममा लगाउदा काम गर्न नगएको भन्ने खवर आएको र पटकपटक काममा पठाएको जानकारी आएको भन्दै दादागिरीको शैलीमा  बसेको जानकारी आएको बताए। श्रेष्ठले कम्पनीले काम नदिए २ वर्षसम्म मासिक नेपाली ४५ हजारका दरले उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यसका लागि उनीहरुलाई परिवारको बैंक खाता नं। मागिसकेको र सकेसम्म छिट्टै अहिलेसम्म (५ महिना)को रकम खातामा जम्मा गरिदिने पनि बताए।  

श्रेष्ठका अनुसार उनीहरुले भनेजस्तो खान÷बस्नको समस्या पनि नरहेको भन्दै अप्रिल १ देखि नै काममा पठाउने कम्पनीले निक्र्यौल गरिसकेको बताए। तर, उनीहरु जुनसुकै हालतमा भए पनि नेपाल फर्कने बताइरहेकाले समस्या भईरहेको पनि श्रेष्ठले बताए।

प्रकाशित: १८ चैत्र २०७९ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App